छात्रावासबाट हराइन् चौध वर्षीय बालिका
तनहुँ, २० फागुन : बौद्धिक अपाङ्गता भएकी एक छात्रा विद्यालयको छात्रावासबाट हराएकी छन् ।
व्यासनगरपालिका–५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत बौद्धिक अपाङ्गता भएकी सलिना खातुन सो विद्यालयको छात्रावासबाट हराएकी हुन् । जिल्लाको भानुनगरपालिका–३ तुरतुरे घर भई हाल छात्रावासमा रही अध्ययन गर्दै आएकी १४ वर्षीय खातुन बिहीबार बिहानदेखि हराएकी छन् ।
बिहीबार बिहान अन्दाजी ४ बजेको समयमा कसैलाई पनि जानकारी नगराई छात्रावासबाट बाहिर निस्कर हिँडेको अनुमान गरिएको खातुन ४.५ फिट अग्लो रहेको बताइएको छ । आँखाको रङ कालो, कालो वर्ण, खैरो हाइनेक र नीलो सुरुवाल पोसाकमा उनी हराएकी विद्यालयकी शिक्षिका सीतादेवी कुँवरले जानकारी दिनुभयो । आफूहरुले बिहान ६ बजे मात्र उक्त कुराको जानकारी पाएसँगै खोजी कार्यलाई तीव्रता दिएको उहाँले बताउनुभयो ।
बिहानीपख ढोका खोलेको छात्रावासमा बस्ने सहयोगीले थाहा पाए पनि दिसापिसाब फेर्न निस्किएको होला भनी बेवास्ता गरिँदा बालिका हराउन गएको बताइएको छ । उक्त आवासमा हाल आठ छात्रा र सात छात्र गरी पन्ध्रजना छात्रछात्रा बसेर अध्ययन गर्दै आएका थिए । छोरी हराएकाले भेट्नु हुने महानुभावले नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन आमा दुखेला खातुनले सबैसँग आग्रह गर्नुभएको छ ।
छोरी हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा समेत बिहीबार नै खोजतलासका लागि जाहेरी दिई सकिएको उहाँले बताउनुभयो ।(रासस)