चिनियाँ विदेशमन्त्री आज आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं– दक्षिण एसियाली देशको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउँदै छन्। तीनदिनको औपचारिक भ्रमणका लागि उनी शुक्रबार काठमाडौं आउन लागेका हुन्।

उनी पाकिस्तान तथा अफगानिस्तानको भ्रमण गरेपछि बिहीबार भारतको नयाँ दिल्ली पुगेका थिए। भारत भ्रमणका क्रममा विदेशमन्त्री वाङले शुक्रबार दिल्लीमा रुस र भारतका विदेशमन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। 

यससँगै भारत र चीनबीचको सीमा विवादलगायत अन्य धेरै विषयमा वार्ता हुने पनि जनाइएको छ। करिब दुई वर्षअघि लद्दाख क्षेत्रमा सीमा विवाद सुरु भएपछि चिनियाँ नेताको यो पहिलो भारत भ्रमण हो।

विदेशमन्त्री वाङ शुक्रबार नै भारत हुँदै नेपाल आउन लागेका हुन्। परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा आउन लागेका विदेशमन्त्री वाङ आइतबारसम्म नेपाल रहनेछन्।

नेपाल भ्रमणका क्रममाविदेशमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ। उनले शनिबार परराष्ट्रमन्त्री खड्कासँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। 

विदेशमन्त्री वाङको नेपाल बसाइको क्रममा दुई देशबीच भएका पुराना सम्झौता कार्यान्वयनका लागि सहमति गर्ने तयारी रहेको मन्त्रालयले जनाएको छ।

नेपाल बसाइमा चिनियाँ विदेशमन्त्रीले प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

अमेरिकी सहयोग परियोजना एमसीसी सदनबाट अनुमोदन भएपछि र नेपालमा चीनको महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गतका परियोजनाहरु कार्यान्वयनमा आउन नसकेको अवस्थामा हुन लागेको चिनियाँ विदेशमन्त्री वाङको भ्रमणलाई महत्वका साथ हेरिएको छ।साभार: drishyatv.com