रवीन्द्रको रहरमा पहिरो
‘रवीन्द्र मिश्र’ ।
तपाईंले के सम्झिनु भयो?
विवेकशील साझा पार्टीका संयोजक, होइन त!
‘साझा पार्टी’ का संयोजक पनि सम्झिनुभयो होला। अझ बढी त हरेक बुधबार बेलुका नौ बजेपछि बिबिसी नेपाली सेवामा कडा आवाजमा सुनिने ‘नेपाल सन्दर्भबाट रवीन्द्र मिश्रको नमस्कार’ सम्झिनुभयो होला होइन! उनका खरा प्रश्न पनि धमिलो गरी सम्झिनुभयो होला।
हो, कुरा यसरी तपाईंले सम्झेका रवीन्द्र मिश्रकै हो।
बिबिसी नेपाली सेवाले रवीन्द्रलाई दिनुसम्म प्रसिद्धि दिएको थियो। बिबिसीमा दुई दशकभन्दा लामो सेवाकालमा उनी नेपाल र संसारभरका नेपालीमाझ प्रसिद्ध भए। उनले सधैँ आफ्नो प्रस्तुतिमा राजनीतिमा जनताको सेवा गर्ने पवित्र उद्देश्य हुनुपर्छ भन्ने कुरा प्राथमिकतामा राखे। उनले नेपालका सबैजसो राजनीतिक दलका शीर्ष नेताका नाडी छामे। उनले थाहा पाए कुन नेतामा कति दम छ!
राजनीति निश्चित मूल्यमान्यता, दर्शन र उद्देश्यले चल्छ र चल्नुपर्छ भन्ने अपेक्षा हुन्छ। बिबिसी नेपाली सेवाको खरो पत्रकारका रूपमा रवीन्द्रले यही मान्यताका आधारमा नेपाली नेताहरूलाई र्याखर्याख्ति पारे।
सबैभन्दा पुरानो लोकतन्त्र भएको शिक्षित र विकसित बेलायतमा जीवनको सबैभन्दा उर्बर, जिज्ञासु र ग्रहणशील समय बिताएका रवीन्द्रले आफ्नो देशका लागि पनि अवश्य केही आदर्श सपना देखेका थिए।
बेलायतमा टनी ब्लेर प्रधानमन्त्री निर्वाचित भएपछि सोधिएको एक प्रश्नको जवाफमा उनले भनेका थिए– मेरो सबैभन्दा ठूलो प्राथमिकता शिक्षामा हुनेछ।
हामीले शतप्रतिशत शिक्षित ठानेको बेलायतमा प्रधानमन्त्रीले शिक्षालाई प्राथमिकताको सूचीको एक नम्बर राखे। रवीन्द्र नेपालीको शिक्षा र चेतनाको स्तरका ’boutमा भारी जानकार थिए।
‘नयाँ शक्ति’ नामको दल लिएर आएका डा. बाबुराम भट्टराईलाई रवीन्द्रले एक दिन उही चिरपरिचित ‘नेपाल सन्दर्भ’ मा बकाए– छोरीले गोर्खामा बाख्रापालन सुरु गरेकी छन्, म त्यसकै आम्दानीले चल्छु।
त्यति बेला भट्टराईको नयाँ शक्तिले वार्षिक खर्चको फाँटबारी नबुझाएबापत निर्वाचन आयोगमा सय रुपियाँ हर्जना तिर्याे भन्ने खबर आएको थियो। आदर्शवान नेता मानिएका बाबुरामको अपारदर्शिताको एउटा नमूना थियो उक्त घटना।
नेपाली राजनीति र समाजमा आदर्शको परिकल्पना गर्ने मानिस धेरै छन्। उनीहरू एउटै राजनीतिक उद्देश्य, आस्था र आदर्शले दलका रूपमा जम्मा भएका मानिसहरूमा सर्वसम्मति वा लोकतन्त्रको स्वस्थ प्रतिस्पर्धा अपेक्षा गर्छन्।
यसो हुनु त सर्वथा असम्भव भइदियो अनि उनीहरू ठान्छन्– नेपालका अहिलेका नेताहरू र तिनको राजनीतिक चेतनाले समुन्नत समाज र समृद्धिको गुन्जायस छैन।
रवीन्द्र यस्तै ठान्ने मध्येका एक थिए जो सम्भवतः आफ्नो चेतना र जीवनको आदर्श राजनीतिको माध्यमबाट समाजमा स्थापित गर्न चाहन्थे।
प्रत्येक व्यक्ति आफ्नो कर्मक्षेत्रमा मानवीयता र आधुनिक राज्य व्यवस्थाले स्थापित गरेका मूल्यमान्यताका आधारमा इमान्दार भइदिए आदर्श समाज निर्माणको परिकल्पना यहीँबाट साकार हुन हुने थियो।
किसान किसानीमा, व्यापारी व्यापारमा, कर्मचारी नागरिकको सेवामा, शिक्षक शिक्षणमा, राजनीतिज्ञ राजनीतिमा, चित्सिक उपचारमा, इन्जिनियर आधुनिक डिजाइनमा र एवंरूपले सबै आफ्ना ठाउँमा सत्कर्ममा लागेको समाज समुन्नत हुँदो हो।
रवीन्द्र बिबिसी नेपाली सेवामा सम्भवतः यही परिकल्पनाअनुसार प्रस्तुत हुन्थे, सुनिन्थे र योगदान गर्थे। उनले ठाने होलान्– मेरो योगदानको दायरा फराकिलो बनाउनु पर्छ । यस निमित्त राजनीतिमा लाग्नु पर्छ।
मौजुदा राजनीतिक दलका कार्यशैलीमा रवीन्द्र असन्तुष्ट थिए। यिनबाट समाजको समुन्नति र देशको समृद्धि सम्भव छैन भन्ने ठान्थे। यही आधारमा उनले निकै आदर्शवादी कल्पनाका साथ करिब छ वर्षअघि ‘साझा पार्टी’ नाम राखेर राजनीतिक दल दर्ता गराए, सन्तुलनको प्रतीकका रूपमा चुनाव चिह्न ‘तराजु’ राखे।
रवीन्द्रले दल दर्ता गराउँदा भारतको नयाँ दिल्लीमा ठूला दललाई बढार्दै ‘आम आद्मी पार्टी’ उदाउँदै थियो। सम्भवतः रवीन्द्र यस घटनाबाट प्रभावित थिए र ‘वैकल्पिक राजनीति’ भन्ने नारा लगाउँदै नेपालको ‘आम आद्मी पार्टी’ हुने सपना देख्दै थिए।
राजनीति मानिसले कोठामा बसेर सोचेजस्तो, कल्पना गरेजस्तो, योजना बनाएजस्तो, कतै देखेजस्तो र पुस्तकमा पढेजस्तो सोझो बाटोमा हिँड्ने होइन।
गणेशमान सिंह नेताहरूलाई प्रश्न गर्थे– नेताले ‘लिड’ गर्ने हो कि ऊ ‘लेड’ हुने हो? अनि भन्थे– लिड गर्नेमात्रै नेता हुन्छ। उनले सधैँ लिड गरे। तब त राजनीतिमा ‘लौहपुरुष’ कहलिए। तिनै लौहपुरुष जीवनको उत्तराद्र्धमा आफ्नै पार्टी नेपाली कांग्रेसभित्र हैरान देखिएका थिए। अन्नतः उनले पार्टी नै परित्याग गरे।
रवीन्द्रलाई थाहा थियो– उच्च तहका टेक्नोक्र्याटहरू राजनीतिमा टिक्दैनन्। नेपालमै हेरे हुन्छ। फरक पृष्ठभूमिबाट राजनीतिमा हात हालेका केही प्रसिद्ध नाम छिमेकी भारतबाट पनि हेरे हुन्छ।युक्रेनका जेलेन्सकीलाई के मान्ने होला! सफल कि असफल!
जीवनको आदर्श राजनीतिमा प्रतिविम्बित भएको देख्नु आकाशको तरा खस्नु सरह हो। अपवाद त जहाँ पनि हुन्छ।
पत्रकारिताको प्रसिद्धिबाट रवीन्द्रले राजनीतिमा मार्न खोजेको छलाङमा बलियो गरी सहमत हुने एउटा ठाउँ थियो– यहाँ केही पनि हुँदैन भनेर बस्ने र कसैले केही पनि गर्न सक्दैन भन्ने रटान गरिराख्नेहरू माझ उनले आँट गरेका थिए। यस मानेका अपेक्षा गर्ने ठाउँ थियो।
रवीन्द्रलाई अपवाद हुने अवसर थियो।
परिणाम उल्टो भयो। बितेका करिब छ वर्षमा राजनीतिमा असफल हुनेको सूचीमा रवीन्द्र एक नम्बरमा छन्। यस अवधिमा उनले आफ्नो प्रसिद्धि धुलिसात बनाए। राजनीतिमा नेता होइन प्रशासकका रूपमा देखिए। रवीन्द्रको कडा प्रशासन र पत्रकारितामा उनको खरो मिजासको परिणाम स्वरूप ‘साझा पार्टी’ विवेकशील बन्न सकेन, साझा पनि रहेन; जुट, फुट, पलायन र कारबाहीको रङ्गगममन्च बन्यो।
अन्ततः पार्टी कार्यालयमा रवीद्रका विरुद्ध नारा जुलुस भयो। उनले आयोजना गरेको कार्यक्रम बिथोलियो।
रवीन्द्र मिश्र स्वभाव र धर्म–कर्मले पत्रकार थिए। उनले प्रसिद्ध हिन्दु धर्मग्रन्थ श्रीमद्भगवद्गीता अवश्य पढेको हुनुपर्छ।
श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात्
स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः (३/३५)
श्रेयान्स्वधर्मो विगुणः परधर्मात्स्वनुष्ठितात्
स्वभावनियतं कर्म कुर्वन्नाप्नोति किल्बिषम् (१८/४७)
आखिर रवीन्द्र मिश्रले बितेका छ वर्षमा के प्राप्त गरे! ‘लिड’ गरेर नेता हुन सकेनन्। ‘लेड’ हुने त उनको स्वभाव नै होइन। स्वधर्म (पत्रकारिता) गुमाए, परधर्म (राजनीति) उनका लागि भयावह भयो। हलसम्मको परिणाममा त उनको रहरमा भयानक पहिरो मात्रै गयो र गइरह्यो।
अब रवीन्द्र मिश्रले कसरी अघि बढाउलान् त आफ्नो राजनीतिक व्यक्तित्व !साभार: drishyatv.com