पर्खाइ

एकदिन अजिलाई झर्को लागेर फ्याट्ट भनिदिएकी थिई – बाबुचा तेरो अमा पोइल गई फर्केर आउँदिन अब ।त्यसबेला बाबुलाल केही नबुझेर ट्वाल्ल परेको थियो । केही वेर गमेपछि सोधेको थियो – पोइल भनेको के हो अजि ?

 

ध्रुव मधिकर्मी

 

शहीदका लाशमाथि पजेरो गुडाउने र बुट बजार्नेहरु अब बाँकी हुनेछैनन् । हामी त्यस्तालाई छानी छानी सजायँ दिन्छौं । अनि हामी पुराना सबै संरचनाहरु भत्काएर एउटा नयाँ संसारको निर्माण गर्छौं, अजि !

 

सबैले बाँच्न पाउने, सबैले सुख पाउने सबैले हाँस्न पाउने, एकसमानले बाँच्न पाउने संसारको निर्माण गर्दैछौं…., बाबुलालले जोसिएर भन्यो । ऊ एक प्रकारको आवेगमा आइसकेको थियो । धेरै दिनदेखि ऊ भित्र शब्दको विद्रोह गुम्फित भइरहेको थियो । ऊ भित्र परीक्षण गर्न बाँकी आगो छटपटाइरहेको थियो । भूमिगत कक्षामा आफूले सिकेका र सुनेका कति कुरा उसले मनभित्रै दबाएर राखेको थियो । उसले त्यस्को पूर्वाभ्यास गर्न पाएको थिएन । कहाँ कतिखेर त्यसलाई पोखूँ जस्तो भइरहेको थियो । त्यसलाई जहाँतहीँ पोख्ने कुरा पनि भएन ।

 

बल्ल आज अजिको सामुन्ने त्यसलाई व्यक्त गर्ने मौका मिल्यो । अजिलाई आफ्नो महान कार्यको कुरा भन्न पाएकोमा बाबुलाल भित्रैदेखि सन्तुष्ट भयो । उसलाई एकप्रकारले गौरववोध पनि भयो । धेरै दिनदेखि आफूले जानेबुझेको र आफ्नो महत्ता सिद्ध गर्ने महान उँचाइका कुरा कसैलाई भन्न नपाएको छटपटीले तनावग्रस्त मन बल्ल आज हलुङ्गो भएजस्तो लाग्यो । आज आफूभित्रको महान कुरा कम्तीमा अजिलाई भए पनि सुनाउन पाएकोमा मन तरङ्गित पनि भयो ।

 

कः बाउचा, तिमी कहीँं नजाने भए म भात पकाउन गएँ है भन्दै राममाया नातिको कोठाबाट निक्लेकी थिई । कोठाबाट निक्लनु अघि उसले नातिको कोठाका भित्ताहरु यसो नियाली । भित्ताहरुमा कहीँ ठाउँ खाली थिएन । दाह्रीजुङ्गा भएका, चिल्ला अनुहार भएका टाउके फोटाहरु र अरु के के हो लेखिएका कागजहरु लहरै टाँसिएका थिए । भुइँमा केही पुस्तक र पत्रिकाहरु छरपष्ट थिए ।

 

नाति घरमै भएकोले राममाया अलि चाँडै नै भात पकाउन बुइँगलमा आएकी थिई । ऊ भात पकाउन छुसी हाल्दै ढुंग्रोले आगो फुक्न थाली । यसै बेला तल कसैले बोलाएको सुनियो । कसैले तीन चार पटक बाबुलाल भनेर बोलाउँदा पनि नसुनेपछि उसैले भर्याङ्गनिर गएर भनी – बाउचा तल को आयो हेर त ।

 

अजि फेरि भात भान्छाको काममा ब्यस्त भई । नातिको कोठाबाट गनगन गरेको आवाज आइरह्यो । उसको साथी आएपछि यस्तै हो । ढोका लगाउँछ अनि के के हो के के नानाथरीका कुरा गरिरहेको हुन्छ । त्यो साथी फेरि कतिखेर जान्छ थाहै हुन्न । यता गाउँतिरको साथी पनि होइन । बोलीले त यता गाउँको होइन भन्ने थाहा हुन्छ । खै कतातिरको हो ? उमेरले साथी भन्न अलि सुहाउँदैन । आफ्नो नातिको साथी टोलभन्दा बाहिरको पनि रहेछ भन्ने कुराले वृद्ध राममायालाई केही गर्व पनि लाग्छ । पक्कै पनि नाति ठूलै काममा लागेको रहेछ भन्ने लाग्छ ।

 

आफ्नै सुरमा सोचिरहँदा चुल्होको आगो निभेर धुवाँ आउन थाल्यो । धुँवाले बुईँगल टन्न भरिएर सासै फेर्न गाहारो भएपछि पो होस आयो । चुल्होको आगो निभेर बुइँगलभरि धुँवा भरिन थालेको थियो । बाँसको छेस्कोले छुसीलाई यसो पन्छाएर आगो खोज्दै ढुङ्गोले बल गरीगरी फुक्न थाली । आगो बल्न थाल्यो । अनि धुँवा आउन बन्द भयो । तैपनि बुइँगलभरि धुँवाको कुइरीमण्डल मडारिरहेकै थियो ।

 

भात पाकेपछि तरकारी पकाउन कसौडी बसाली । फेरि आगो निभेकोले ढुंग्रो लिएर फुक्न थाली । यही बेला नातिले भर्याङ्गनिर आई यसो टाउको मात्र देखाएर भन्यो – अजि, म एकैछिन बाहिर गएर आउँछु है ?

नजा बाबु, खाना पाक्नै लाग्यो ।

यहीँ बाहिरसम्म हो तुरुन्त आउँछु म, नातिले उत्तर दियो ।

 

उसले नातिको अनुहार हेर्यो । नातिको अनुहार गम्भीर लाग्यो । कुनै ठूलो भारी बोकेको जस्तो । हुन त उसको नाति सानैदेखि गम्भीर खालको थियो । कमै मात्र हाँस्छ । कुरा खासै गर्दैन । आमाले छोडेर हिंडेदेखि त कमै हाँस्न थालेको थियो । विचरा बाउ नभएपछि आमाले समेत एक्लो पारेर गएकी थिई । बेलाबेलामा ऊ अजिसित सोध्थ्यो – अजि, अमा कहाँ गएकी थिई ?

 

एकदिन अजिलाई झर्को लागेर फ्याट्ट भनिदिएकी थिई – बाबुचा तेरो अमा पोइल गई फर्केर आउँदिन अब ।

 

त्यसबेला बाबुलाल केही नबुझेर ट्वाल्ल परेको थियो । केही वेर गमेपछि सोधेको थियो – पोइल भनेको के हो अजि ?

 

अनि फेरि सोधेको थियो – पोइल गएपछि फर्केर आउँदैन हो अजि ?

 

अजिलाई के भनूँ के भनूँ भयो । सानो बालकलाई पोइल गएको भन्ने के थाहा ! उसले त सबैको आमा हुने भएकाले आफ्नो पनि आमा खै भनेर सोध्यो ।

 

त्यसपछि बाबुलालले आमाको ’boutमा त्यति सोधखोज गरेन ।

 

आमाको मायाबाट वञ्चित त्यही सानो बालक अहिले कति ठूलठूला कुरो गर्न जानेछ । उमेरलाई नै नसुहाउने खालको बुद्धि पनि पलाइसकेछ उसमा । राममायाको लागि त खुशीको कुरा उसको त्यही नाति कमाउने पनि भएछ । पाटीले दिएको भन्दै अस्ति एक हजारको सिंगै नोट ल्याएर दिएको थियो ।

 

खाना पाक्नै लाग्यो बाबु , फेरि तिमी ढिला होला, अजिले शंका व्यक्त गरी ।

 

हैन, अजि खाना खान म छिट्टै आउँछु नि, ढोका नलाउनुस् है । , भनेर ऊ त्यही नौलो साथीसँग हतार हतार घरबाट निस्क्यो ।

 

छिट्टै आउँछु भनेर गएको नाति नआएपछि राममायालाई खाना खाउँ कि नखाऊँ भइरह्यो । बाहिर चुक घोप्ट्याए भन्दा बढी अँध्यारो भइसक्यो । बाटोमा मान्छेहरुको कुराकानी , हिँड्डुल गरेको पदचाप केही पनि सुनिन छोड्यो । झ्याल बाहिर रातको निस्तब्धता र चकमन्नता मात्र देखिन्छ । आकाश लमतन्न परेर निदाउन थालेको छ । कहीँ पर स्याल कराएको र यतै नजिकै कहिलेकाहीँ कुकुर रोएको जस्तो नमीठो आवाज भने बेलाबेलामा सुनिन्छ । राममाया बुइँगलमै बसेर नातिको प्रतीक्षा गरिरहेकी थिई । उसलाई नाति अहिले आउला कि एकछिन पछि आउला कि भइरह्यो । उसलाई छिनछिनमा तल ढोकामा केही आवाज आएको जस्तो भान पनि भइरह्यो । आज नातिलाई के भयो ! झन अहिल्यै आउँछु भनेर गएको मान्छे । अरु बेला त केही भनेर जाँदैनथ्यो । अनि त्यतिबिध्न आस पनि हुन्नथ्यो । बरु त्यस्तो बेलामा भने अकस्मात आइदिन्थ्यो । ढिलो भएको दिन भान्छामा गएर आफै खाना पस्केर खान्थ्यो । कतै केही पो अनिष्ट प¥यो कि ! आज छिट्टै आउँछु भनेर गएकोले अजिलाई चिन्ता पनि भयो । अचेल समयकाल ठीक छैन भन्ने सुन्छु । कतै गोली लागेर त कतै बम पडकाएर मान्छेहरु त कीराफट्यांग्रा मर्दैछन् भन्छन् । हिंड्दाहिंड्दै पनि मान्छेहरुलाई उठाएर कहाँ कहाँ लगेर गायब पार्छन् रे ।

 

रच्छे गर पर्भु मेरो नातिलाई केही नहोस् ! राममायाले मनमनै भगवानको नाउँ लिंदै प्रार्थना गरी ।