निरीह

त्यहाँ सामान्य भीड थियो । मैले चिया मगाएँ र उसको अनुहार हेर्न थालें । वर्ष दशबाह्रको, वर्ण गहुँगोरो, आँखा अलि चिम्से, निधारमा घाउको खत…… हर्के, शिवे, धने वा रामे या यस्तै नाउँको ….। मैलो कमिज र फाटेको कट्टु लगाएको केटो फलानो टाउँबाट हराएको छ, पाउनुहुने महानुभावले नजिकको प्रहरी थानामा बुझाइदिनु होला … । रेडियो तथा अखबारमा छापिने यस्तै यस्तै खालको हुलियाभित्रको थियो त्यो केटो ।

-ध्रुव मधिकर्मी
उसले आफ्नो नाउँ भनेन ।
र मैले पनि थप सोधिनँ । सोधें भने पनि डरले ऊ आफ्नो नाउँ लुकाउन सक्थ्यो । त्यसो त उसको अनुहार अबोध, निरीह र अज्ञानताले लफ्रक्क भिजेको थियो । केही सोधूँ जस्तो लाग्ने अनुहार । केही कोट्याऊँ जस्तो लाग्ने मुखमुद्रा । यद्यपि कुनै पनि प्रश्नविना उत्तर खोज्न सकिने खालको उत्तरपुस्तिका जस्तो थियो – त्यसको अनुहार । गाउँको केटो, काम नपाएर सहर झरेको लाहुरेको पूर्वरुप, एकजोर लुगा र दुई छाक गाँसका लागि घरबाट लुसुक्क भागेको एउटा विद्रोही जिन्दगी ।
कहाँबाट आयौ ?
ऊ बोलेन ।
भागेर आएको हो ?
हैन ।
ऊ अलि सतर्क झैं देखियो ।
किन आएको ?
जवाफ दिन उसले अलि अप्ठ्यारो मान्यो । मैले थप सोधिनँ र भनेँ – काम खोज्न आएको होला, होइन ?
हो ।
उसले अलि सुस्तरी जवाफ दियो ।
मैले उसलाई सुन्धाराको बसपार्कमा अलमलिरहेको देखेँ । पहिलो पहिलो सहर झरेको मान्छे झैं ऊ चकित, भयभीत तथा सशङ्कित देखिन्थ्यो । ठिङ्ग उभिएर कता जाऊँ र के गरुँ भन्ने मनस्थितिमा अन्योलग्रस्त एवं हताश झैं देखिन्थ्यो । म अखबारमा बालक हराएको सूचना हेर्दै आइरहेको थिएँ । तर यसमा त्यो केटोको हुलिया र हराएको सूचना कतै थिएन ।
मैले उसलाई नजिकैको होटल जहाँ म प्रायः चिया खान आउँथे, मा लगें । त्यहाँ सामान्य भीड थियो । मैले चिया मगाएँ र उसको अनुहार हेर्न थालें । वर्ष दशबाह्रको, वर्ण गहुँगोरो, आँखा अलि चिम्से, निधारमा घाउको खत…… हर्के, शिवे, धने वा रामे या यस्तै नाउँको ….। मैलो कमिज र फाटेको कट्टु लगाएको केटो फलानो टाउँबाट हराएको छ, पाउनुहुने महानुभावले नजिकको प्रहरी थानामा बुझाइदिनु होला … । रेडियो तथा अखबारमा छापिने यस्तै यस्तै खालको हुलियाभित्रको थियो त्यो केटो ।
चिया आयो । मैले उसलाई चिया खान भनेँ र आफूले पनि लिएँ । उसले डराईडराई चिया लियो र सुरुप् सुरुप् तान्न थाल्यो ।
चिया खाउञ्जेल मैले केही भनिनँ ।
अब के गर्छौ ? कोही चिनेका छौ ?
दाजु छ, बालाजुमा ।
के गर्छ ?
ठेलागाडा चलाउँछ ।
खोज्न सक्छौ ?
ऊ अलमलियो ।
गोजीमा कति पैसा छ ?
ऊ चुप लाग्यो ।
दाजु भेटेनौ भने के गर्छौ ?
उसले जवाफ दिएन । अहिले यस’bout उसले जवाफ पनि के देओस् ।
०
म उसलाई छोडेर हिँडें । यसबाहेक मेरो अब भूमिका पनि त छैन । म उसको लागि केही गर्न सक्तिनथेँ पनि । र मैले त्यस घटना र प्रसङ्गलाई चटक्क बिर्सेँ । त्यतिखेर थाहा भएन किन मभित्र त्यस केटोप्रति सहानुभूति पैदा भयो र मैले उसको ’boutमा केही सामान्य जानकारी लिन खोजेँ । खैर, जसरी एउटा समयमा मभित्र सामान्य सवेंदना जाग्यो उसैगरी सामान्य तवरले सो संवेदनाको अवसान पनि भयो ।
म पूर्ववत् आफ्नै समय र दिनचर्यामा लागेँ ।
०
एकदिन मैले उसलाई त्यही होटलमा गिलास माझिरहेको देखेँ । मैले सोचेँ – राम्रै भयो, काम त पाएछ । सहरमा जिन्दगी खोज्न आउनेले प्रश्रय पाउने भाग्यको एउटा रुप अर्थात् जीवनको एउटा टेको यही त हो । म अलि हतारमा थिएँ, त्यहाँ रोकिएर चिया खाने विचार त्यसैले छोडेँ ।
०
सहरमा आन्दोलनका छिटपुट घटनाहरु हुन थाले । कहिले जुलुस, कहिले आमसभा त कहिले बन्द कार्यक्रम । जनजीवन आँशिक रुपले असामान्य झैं देखिन थाल्यो । म पनि अगिपछि झैं ढिलोसम्म बाहिर बस्न छोडेर चाँडो घर फर्कने गर्न थालेँ । कार्यालयको काम सकिनासाथ प्रायः घरकै बाटो लाग्थेँ । कहिलेकाहीँ बाटोमा हिँडिरहेका दुईचार प्रहरीको सक्रियता देख्नासाथ मेरा खुट्टाहरु निष्क्रिय हुन थाल्थे । अनि म आफूलार्इृ छिटोछिटो घिसार्न थाल्थेँ – घर फर्कन । मनमा कतै भयको एउटा सानो पोको पनि थियो । यी प्रहरीहरु मैलाई खोजिरहेका हुन् कि भने लाग्थ्यो । सिभिल ड्रेसहरु कोही मैरै चियो त गरिरहेका छैनन् ? मनमा शंङ्काको सानो खोल्सो बगेको बग्यै हुन्थ्यो । कहिलेकाहीँ बाटोमा फेला परेको गणेशमान सिंहको वक्तव्य या यस्तै राजनैतिक विषयको पत्रिका खल्तीमा राखेर हिँड्न पनि धक लाग्थ्यो ।
त्यसदिन अलि चाँडो घर फर्कन लागिरहेको थिएँ । फाट्टफुट्ट पसलहरु बाहेक अधिकांश बन्द थिए । ठाउँ ठाउँमा प्रहरी दलहरु सतर्क देखिन्थे । बाटोमा मान्छेहरु पनि त्यति साह्रो देखिएनन् । बातावरण अलि सशङ्कित र आतङ्कित देखिन्थ्यो । यसैबेला अलि टाढाबाट बिशाल जुलस आइरहेको देखेर मन थाम्न सकिनँ । छेउमा उभिएर हेर्न थालेँ । मान्छेहरु उत्साही देखिन्थे । ती आकाशै छोउँला झैं गर्दै उफ्रदै नारा लगाइरहेका थिए । तिनका गगनभेदी आवाजले भित्र कतै केही जर्याकजुरुक् गर्न खोजिरहेको थियो ।
म जुलुसमा पुरै बग्न चाहिँ सकिनँ । तर स्वयंलाई थाम्न पनि नसकेर छेउछाउ भएर विस्तार हिँड्न चाहिँ थालेँ । वातावरण बडो अनौठो खालको थियो । एकातिर मान्छेहरुमा अभूतपूर्व साहस अर्कोतिर आशङ्का र कहालीलाग्दो स्थिति मानौँ एकसाथ तर छुट्टाछुट्टै अस्तित्व लिएर बगिरहेको देखिन्थ्यो ।
म पछाडि नै थिएँ । जुलुस बग्न छोड्यो । म अगाडि जाऊँ या नजाऊँ सोच्दै थिएँ । यस्तैमा विचित्र कोलाहल सुनियो । अनौठो स्वर तथा चित्कार गुँजियो । तितरवितर हुनेगरी मान्छेहरु बेतोडले माग्न थाले । मैले पर देखेँ कालो सालिकनिर गोलीका पर्राहरु छुट्दै थिए र मान्छेहरु आँधीबेहरीको रुख झैं भकाभक ढलिरहेका थिए । एकछिन त म चेतनाशून्य भएँ ।
म हेर्दै थिएँ । मान्छेहरु सालिक हल्लाउँदै थिए । ढुङ्गाले हान्दै थिए र गोली खाएर ढल्दै पनि थिए । यस्तैमा मैले एउटा परिचित अनुहारलाई गर्ल्याम्म ढलेको देखेँ । रगतका फाल्साहरु सडकभरि भलभल्ती बग्न थाले । म त्यसलाई देखेर स्तब्ध भएँ । त्यो अनुहार सायद त्यही केटोको थियो, जसलाई म प्रायः चिया पिउने होटलमा देख्थें, जसलाई पहिलो पटक काठमाण्डौ झर्दा मैले भेटेको थिएँ । तर जसको नाउँ आजसम्म मैले थाहा पाएको थिइनँ ।
०
आन्दोलन सफल भयो । देशमा प्रजातन्त्र आयो । जनजीवन पुनः सामान्य भयो ।
त्यस दिनदेखि त्यो केटो सहरमा कहीँ देखिएन । ऊ काम गर्ने होटलमा ऊ भन्दा पनि फुच्चे केटो आएर काम गरिसकेको थियो ।
०

