रवि लामिछानेसहित तीनविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता,पाँच वर्ष कैद र पचास हजार जरिवाना माग
चितवन, ८ भदौ । टेलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनविरुद्ध चितवन जिल्ला अदालत मुद्दा तर्दा भएको छ । पत्रकार शालिकराम पुडाशौनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा उनीहरुमाथि मुद्दा दर्ता भएको हो।
आइतबार दिउँसो अनुसन्धानबाट प्राप्त प्रमाणको आधारमा आत्महत्या दुरुत्साहन मुद्दामा कारबाहीको माग गर्दै मुद्दा दर्ता भएको बताइएको छ । प्रहरीले १० दिनसम्म गरेको अनुसन्धानको आधारमा तयार गरेको फाइल सरकारी वकिल कार्यालय चितवनमा बुझाएपछि आइतबार दिउँसो रवि लामिछाने, युवराज कँडेल र रुकु भनिने अस्मिता कार्की दोषी देखिएको भन्दै कारबाहीको मागसहित मुद्दा दर्ता भएको जनाएको छ ।
आइतबार दिउँसो ढिलागरी मुद्दा दर्ता भएकाले आजै मुद्दाको टुंगो लाग्ने सम्भावना भने कम देखिएको छ । अभियोगपत्र दर्ता भइसकेको छ । अब अदालतमा बयान हुन्छ । बयानपछि थुनछेक बहस हुन्छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका एसपी दीपक रेग्मीले आइबार पत्रकार सम्मेलन गरेर सम्पूर्ण अनुसन्धान गरेर फाइल बुझाएको हुन् । यो मुद्दाको चितवन प्रहरी र सीआईबीको टोलीले अनुसन्धान गरेको हो । सरकारी वकिल कार्यालयले मुद्धा दर्ता गरिसकेकाले अब अदालती प्रक्रियाबाट मुद्दाको टुंगो लाग्नेछ ।
थुनछेक बहसपछि अदालतले उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय गर्नेछ । गत वर्ष भाद्र १ गतेदेखी लागु भएको मुलुकी ऐनमा व्यवस्था भए अनुसार आत्महत्या दुरुत्साहनको मुद्धा प्रमाणित भएमा पाँच वर्षसम्म कैद हुने कानुनी प्रावधान छ । पत्रकार पुडासैनी साउन २० गते राति नारायणगढको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए ।