कुमुदका कविताहरु

कुमुद शर्मा 

बाल श्रम

माइक्रो बसमा खलासीरे वर्ष नौको छोरा

दस वर्षे चैं खाते भएछ लिई हिड्ने बोरा

वर्ष आठकी घर धन्दामा बस्ने शहरतिर

खान लाउन पाएकै छु – छैन भन्थी पीर

 

होटलमा बेहेरा रहेछ,  बाह्रको रे अर्को

यिनलेनै धान्या होलान् खर्च बर्च घरको

तेेह्रकोलाई प्रायःजसो जुलुसमा लान्छन्

भन्छ जान्न तर नेता आफैं आई तान्छन्

 

विमारी छन् बुढा यता अौषधिकोछ भर

त्यसैले छ बुढीलाई उता गर कि  या मर

हत्केलाभर ठेला तिन्को गनी साध्यै छैन

गालामा छन् मुजा कति भनी साध्य छैन

 

पढाउन पाए पो त भन्ने तिनको धोको

भयो सबै पानीमाथि उठेको झैँ फोको

दामासाहीले कसैगरि बलेको छ चुलो

त्यसमाथिको खर्च अझै अौषधी मुलो

 

बालश्रम भनी अब यीनको गाँस काट्ने

कित अब यिनले खाने अौषधिपो छाँट्ने

यात सधैं समृद्ध नेपाल भनीकन ढाँट्ने ?

कित सुखी नेपालीको नारा यिन्ले चाट्ने !

(बाल श्रम विरूद्ध दिवसको सन्दर्भमा)