कुमुदका कविताहरु

कवि :कुमुद शर्मा 

न्याय

चिसो हात हुनेहरू छामेर भन्छन् –
शरीर तातैछ;
तातो हात हुनेहरू भन्छन् –
सेलाईसक्यो !
कोही भन्छन् –
अब यस्को आत्मा छैन;
कोही भन्छन् –
यो हाम्रो हातमा छैन;
कोही भन्छन् –
यो हाम्रो साथमा  छैन;
कोही भन्छन् –
आराम यस्को गाथमा छैन;
कोही भन्छन्-
यो अब गयो,
फर्कदैन ;
कसैको अडकल-
शरीर पूरै बिषाक्त छ;
तेसैले यो अशक्त छ।
कसैको ठम्याई-
मसान लागेको हैन,
गानो जागेको छैन,
धुकधुकी भागेको छैन ।
थाहा होला-
नाडी छाम्नेलाई या,
जिभ्रो डाम्नेलाई या,
आँखा फार्नेलाई या,
भूत झार्नेलाई या,
बैतरणी तार्नेेलाई ।
जेहोस्  !
आत्मा जागेको देख्ने
सबैको रहर छ ।
आगे,
यसमा जो जे ठहर्छ !

राजनीति

राजनीति भनेको त पसल रहेछ
जति नाफाभो उति असल रहेछ
टुक्रे पसलबाट बेच्ने दिन गएछ
ठूलो पसलमापो धेरै नाफा रहेछ ।
                    २
मल जल बीउ भनेको ‘मनि’ रहेछ
तेसलाई गोडमेल गर्ने मसल रहेछ
भ्रष्टाचार उत्पादित फसल रहेछ
जुन चिज सबभन्दा असल रहेछ ।
                   3
राजनीति भनेको त सुरा रहेछ
मात्तिएर बोलेको कुुरा रहेछ
एकापसमा ठोक्किने चुरा रहेछ
पिठ पछाडि धस्ने छुरा रहेछ ।