रायडाँडामा फस्टाउँदै बाख्रापालन
गलकोट, १४ भदौ: दश वर्ष रोजगारीका सिलसिलामा भारत बसेर सन्तोषजनक कमाई नभएपछि घर आउनुभएका ४७ वर्षीय नवीन केसी अहिले गाउँमै व्यावसायिक बाख्रापालनबाट उत्साहित हुनुभएको छ ।
पाँच वर्ष पहिले चार वटा बाख्राबाट शुरु भएको बाख्रापालन व्यवसाय अहिले उहाँको मुख्य आम्दानीको स्रोत बनेको छ । भारतबाट निराश भएर फर्कनुभएका बागलुङ नगरपालिका–११ रायडाँडाका केसीले विदेशमा भन्दा स्वदेशमा नै मेहेनत गर्नुपर्ने निचोड निकालेर तीन वर्ष पहिला नवीन बाख्रा फार्म दर्ता गर्नुभयो । प्राविधिक जानकारी नहुँदा व्यवासय विस्तारका लागि लेकबाट ल्याएका ५२ बाख्रा हावा पानी नमिलेर मरे । ठूलो लगानी डुबाउनुप¥यो । ऋण धन गरेर पुनःबाख्रापालनमा फर्किनुभएका केसी अहिले जिल्लाकै सफल बाख्रापालकका रुपमा परिचित भइसक्नुभएको छ । “प्राविधिक ज्ञान नहुँदा ठूलो नोक्सानी बेहोर्नुप¥यो”, केसीले भन्नुभयो, “विदेश जानुभन्दा स्वदेशमा नै दुःख गर्ने निचोडका साथ निरन्तर बाख्रापालनमा होमिए, अहिले सन्तुष्ट छु ।”
केसीको फार्ममा अहिले १०५ बोका, पाठापाठीसहितका बाख्रा रहेका छन् । बाख्रापालनका लागि उत्कृष्ट रहेको रायडाँडा गाउँमा चरन क्षेत्र प्रशस्त भएकाले पछिल्लो समय बाख्रापालन फस्टाउन थालेको केसीले जानकारी दिनुभयो । केसीलाई श्रीमती रेणुकाले सघाउँदै आउनुभएको छ भने दुई जनालाई मासिक १० हजार तलब दिएर रोजगारी दिनुभएको छ । बाख्रापालनका लागि उत्कृष्ट स्थानका रुपमा रहेको रायडाँडामा फस्टाउदो बाख्रापालन देखेर अन्य युवासमेत यसतर्फ आकर्षित हुनथालेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताउनुभयो । गौतमका अनुसार प्रशस्त चरन क्षेत्र रहेको रायडाँडालाई बाख्रापालनमा अगाडि बढाउने नगरपालिकाको योजना रहेको छ ।
चरनको अभाव नभएको केसीले बताउनुभयो । “आफ्नो १०० रोपनी पाखोले नपुगेर थप १५० रोपनी वार्षिक रु एक लाख भाडामा लिएको छु”, केसीले भन्नुभयो । खरी क्रस २५ प्रतिशत बोयर जातका बाख्रा पाल्दै आउनुभएको केसीले दाना खुवाएर हुर्काएका भन्दा चरन क्षेत्रमा हुर्केका बोकाको मासु स्वादिष्ट हुने भन्दै घरमै बोका किन्नेको भीड लाग्ने गरेको बताउनुहुन्छ । बाख्रापालनमा हाल सम्म १२ लाख लगानी गर्नुभएका केसीले केही समय घाटासमेत व्यहोर्नुभयो । “अहिले ऋणको किस्ता तिर्ने भए, घाटा हुँदासमेत लगानी गरे”, उहाँले भन्नुभयो, “बल्ल अहिले राम्रो कमाइ हुन थालेको छ ।”
प्रशस्त चरन क्षेत्र भएका कारण बाख्रापालनमा धेरै खर्च नलाग्ने भन्दै नवीनले थोरै लगानीमा धेरै आम्दानी गर्न सकिने बताउनुहुन्छ । उहाँको खोरमा ५५ ब्याउने माउबाख्रा छन् । बिहानदेखि बेलुकासम्म सुत्केरी तथा बिरामी बाख्राबाहेक सबै पाखोमा चर्ने हुनाले हुर्काउन कम खर्च लागेको केसी बताउनुहुन्छ । आफ्नो फार्मलाई पशु अस्पताल तथा भेटेनेरीविज्ञ केन्द्र बागलुङ र गण्डकी प्रदेश सरकारबाट खोर व्यवस्थापनका लागि अनुदान स्वीकृत भएको केसीले जानकारी दिनुभयो ।(रासस)