कुमुदका कविताहरु

कुमुद शर्मा

एकता

जुट्नुचाहिँ राम्रो, जुटेर फेरि फुटेको नराम्रो
 ए ! कता? भनी ब्यङ्गको बाण छुटेको नराम्रो
 फेरिनि आफ्ना गुटका कुरा चुटेको नराम्रो
 गुटको टाँका बलियो गरि खुटेको नराम्रो
 आ-आफ्नै घर फर्कन फेरि उठेको नराम्रो
 फुटाउनलाई साधन श्रोत जुटेको नराम्रो
 कसैको मन चोइटिने गरि टुटेको नराम्रो
 गरेको वाचा बिर्सिएर फेरि सुतेको नराम्रो
 दिएको विश्वास गएर पछि थुतेको नराम्रो ।

लोकतन्त्र

लोकतन्त्र आयो तर नेतालाई मात्र
उब्रिएको खाने भए आसेपासे पात्र
चुहिएको अलिकति कार्यकर्तालाई
ती मध्येनि अलिबढि हर्ताकर्तालाई
तुहिएको जति हामी मतदातालाई
कुहिएको जतिसबै सोझालाटालाई ।

ईण्टरनेट

घुमिरहन्छस् घुमिरहन्छस्
प्राय: घुमी मात्र  रहन्छस्
कहिले दौडी भागेजस्तो
कहिले अल्छिलागे जस्तो
दर्शन प्राय: ढिलै दिन्छस्
कहिले भुमिगत भैदिन्छस्
तेरो पोल खोलिदिन्छु म
ईण्टरनेटको सङ्केत होस् तँ !

बाध्यता

एउटीले अर्डर दिइन् पिजा ल्याउनलाई
अर्कीको थ्यो मनसुवा बरगर खानलाई
आाफूले चैं चिया मागें घाँटी भिजाउन
काम्यो हात त्यसैकोनि विल तिर्नलाई ।

महँगि

महँगिले त आकाशै छोयो
आम्दानी बरा धर्धरी रोयो
गैंडाको त क्यै भाउ नै छैन
नभई हात्ती केही पनि हुन्न
उहिले खान्थ्यो हात्तीले साग
सागैले खानेभो अहिले हात्ती ।

राजनीति

कुराले जस्तै कामले पनि भैदिएपो महान
गर्दछन् खालि फूल र बुट्टा हावामा जडान
सधैं नै भरि सगरमाथि काल्पनिक उडान
बाँकी छ यौटै चढाउनलाई पुष्पक विमान ।