क्षितिजकी मायालु

 

काठमाडौं, माघ २ : नेपाली संगीतमा विभिन्न प्रभावहरुको प्रयोग गर्दैआएका गायक एवं संगीतकार क्षितिज गिरी नयाँ सिर्जना ‘मायालु’ सहित फेरि उपस्थित भएका छन्। दुइ वर्षअघि ‘सम्बन्ध’ एल्बममार्फत् विशेषतः ‘सेलो रक’ प्रस्तुत गरेका उनले यसपाला भने नेपाली गायनलाई ‘साल्सा’ र ‘फ्लेमिंगो’को मिश्रणमा तयार पारेका छन ्।

 

 

अघिल्लो पटक तामाङ सेलोलाई उनले पश्चिमा रकको स्वादमा ढालेका थिए भने यसपाला उनको सिर्जना स्पेनियाली प्रभावको साल्सा र म्याक्सिकाली फ्लेमिंगोको स्वाद मनपराउनेहरुका निम्ति परिचित हुनेगरि तयार पारिएको हो ।

‘नेपाली संगीत हाम्रो आफ्नै मौलिक पहिचानमा पनि महान छ,’ यसरी विभिन्न प्रयोग गर्नुको कारण खुलाउँदै क्षितिज भन्छन्, ‘तर, आधुनिक समयमा विश्व मञ्चसम्म हाम्रो नेपालीपन लैजानका निम्ति यसलाई फराकिलो दायरामा पनि ढाल्नुपर्ने देखेर यी प्रयोगहरु गर्दैआएको छु।’

यसले नेपाली भाषामा मात्र सीमित श्रोताहरुलाई पनि अन्तर्राष्ट्रिय प्रचलनमा रहेका संगीतकर्मसँग नजिक्याउने उनको धारणा छ।

सन् १९९६ मा प्रज्ञाप्रतिष्ठानमा आयोजित राष्ट्रिय पप संगीत प्रतियोगीतामा क्षितिज सम्मिलत ब्याण्डले तयार पारेको गीत ‘निलो आकाशमा’ले उत्कृष्ठ संगीत सिर्जनाको उपाधि जितेको थियो। त्यतिबेला गोपाल योञ्जन र न्ह्यु बज्राचार्यलगायत निर्णायक थिए ।

उक्त प्रतियोगीतालगत्तै क्षितिज उच्च शिक्षाका निम्ति विदेश गएका थिए र उतै स्थापित भए।
‘अष्ट्रेलियामा नियमित आयोजना भइरहने अन्तर्राष्ट्रियस्तरका सांगीतिक कार्यक्रमहरुले मेरो ज्ञानलाई अझ फराकिलो पारिदिएको छ,’ क्षितिज भन्छन्, ‘त्यसैगरि बेलाबेलामा आयोजना भइरहने नेपाली सांगीतिक कार्यक्रमहरुमा पनि उपस्थिती जनाउने गरेको छ ु।’

अष्ट्रेलियामा पाँच वर्षअघि आयोजित पहिलो ‘अष्ट्रेलियन नेपाली आइडल’मा उनलाई निर्णायकको जिम्मेवारी दिइएको थियो ।

हाल दोश्रो एल्बमको तयारीमा रहेका क्षितिज संगीतकार न्ह्यु बज्राचार्यको सामिप्यमा रहेर उनकै ‘डोरेमी स्टुडियो’मा अभ्यासरत छन् ।

‘मेरो नजरमा क्षितिज एउटा संभावना बोकेका कम्पोजर हुन्,’ संगीतकार बज्राचार्य भन्छन्, ‘एउटै गीतमा थुप्रै कर्डहरुको मिठासपूर्ण संयोजनमा उनको विशेषता देखिन्छ ।’

क्षितिजकै संगीतमा तयार हुँदैगरेको आगामी गीत ‘हिमाल पहाड तराइ’का निम्ति उनीसँगै न्ह्यु बज्राचार्यले समेत आफ्नो स्वर दिइसकेका छन् ।

प्रस्तुत गीतमा संगीत र स्वर क्षितिजको आफ्नै रहेको छ भने शब्द गिरीश गिरीको हो। त्यसैगरि गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन्। म्यूजिक भिडियो हरि हुमागाइँको छायांकनमा सन्तोष लामिछानेको निर्देशन हो। त्यसैगरि यसमा मुख्य पात्रका रुपमा शरद र शिवानीले अभिनय गरेका छन्।

 

गीतको लिंक–
https://www.youtube.com/watch?v=D8Y_X81hptE&list=RDMMD8Y_X81hptE&index=1