अमेरिकासँग अघाएका धरावासी

 

धरावासी अमेरिका गए । छँदाखाँदाको जागिर छाडेर अमेरिका हिँडेपछि उनको खुब आलोचना भयो । तर, यो पाँच वर्षअघिको कुरा हो ।

 

अहिले भने उनी नेपालमै छन् । अब कहिल्यै अमेरिका नजाने गरी आएका हुन् । उनीसँगै श्रीमती मञ्जु पनि फर्किएकी छिन् । उनीहरुले अमेरिकाको बैंक एकाउन्टसमेत बन्द गरेर फर्किएका छन् । अमेरिका छाडेर किन फर्किए धरावासी ?

 

यो प्रश्नको उत्तर पछि खोजौँला । पहिला उनी अमेरिका जानुको सन्दर्भ जोडौँ ।

 

 

धरावासी मदन पुरस्कार विजेता लेखक । ०६२ सालमा राधा उपन्यासका लागि मदन पुरस्कार पाएका थिए । लीलालेखनका अभियन्ता पनि हुन् । र निबन्धका ‘ट्रेन्ड सेटर’ । उनी नेपालमा कहाँ फुर्सद थिए र ? मान्छेहरु भेटघाटका लागि पुगिरहन्थे । कार्यक्रमहरुमा प्रमुख अतिथिका रुपमा निम्त्याइन्थे । सम्मान थापिरहन्थे । यो माया उनले लेखेरै कमाएका थिए ।

 

 

अचानक उनले अमेरिका जानकै लागि कृषि विकास बैंकबाट स्वैच्छिक अवकास लिए । हल्ल फैलियो । कतिपय साथीले नजान पनि सुझाए । तर, टेरेनन् । अमेरिका जानुमा उनी आफ्नै बाध्यता सुनाउँछन् ।
उनी श्रीमती सिताको मृत्युसम्म फर्कन्छन् । उनी पीडामा थिए । उनकै याद नमेटिने पीडा भएर बसेको थियो । साथीभाइ र छोराछोरीकै सल्लाहमा दोस्रो विहे गरे । केही समयपछि छोराछोरी नै अमेरिका गए । श्रीमतीले पनि जाने रहर गरिन् । तर, उनी जाने मुडमा थिएनन् ।

 

 

छोरीछोरीले ‘हामीलाई अभिभावक चाहिन्छ, तपाईं आइदिए हामीलाई धेरै सहज हुन्छ,’ भने । छोराछोरीलाई सहज हुन्छ भने ढिपी गरेर नेपाल नै किन बसिरहने ? खास कारण देखेनन् । अनि हानिए अमेरिका ।

 

 

यहाँबाट उड्दै उनले पाँच वर्षमा फर्किने अठोट गरेका थिए । पाँच वर्ष तीन दिनमा फेरि अमेरिका नजाने गरी नेपाल उत्रिए ।

 

 

उनले अमेरिकामा लेख्नेबाहेक अरु केही काम गरेनन् । चाहेको भए डलर कमाउन सक्थे । तर, अपाटमेन्टमा बसेर लेखिरहे । अमेरिका गएको पाँच महिनामा पहिलो कृति लेखिसके, ‘कागजको मान्छे’ यात्रा संस्मरण ।

 

 

अमेरिका बसुन्जेल उनी हरेक ६ महिनामा नेपाल आउँथे । आउँदा कुनै न कुनै कृतिको पाण्डुलिपि साथमा हुन्थ्यो । पहिलोपटक पाँच महिनापछि आउँदा हातमा त्यही यात्रा संस्मरण ‘कागजको मान्छे’ थियो । युरोप भ्रमणको यो संस्मरण अमेरिकामा लेखे । छाप्न नेपाल आउँदा भने उनलाई ऋण लाग्यो, एक हजार ५० डलर, प्लेन भाडा ।

 

 

दोस्रोपटक आउँदा पनि यात्रा संस्मरण नै बोकेर आए । तर, अमेरिकाको होइन, युरोपको यात्रा । उनी अमेरिकाका विभिन्न प्रान्त डुलेर आफ्नो कथामा बनेको फिल्म ‘झोला’ प्रदर्शन गरिरहेका थिए । त्यति नै बेला रुसबाट पनि फिल्म देखाउने निम्ता आयो । रुस भ्रमणपछि अमेरिका फर्किए र यात्रा संस्मरण लेखे ‘रेड स्क्वायर’ । अनि नेपाल आएर प्रकाशित गरे ।

 

 

झोला प्रदर्शनको बहानामा उनी अमेरिकाका धेरै राज्य पुगे । त्यहाँ संसारभरका मान्छे देखे । नेपाली मात्र होइन युरोपियन, जापानिज, कोरियन, चाइनिज, अफ्रिकनहरु पनि अमेरिका बस्न मरिहत्ते गरेको देखे । सबैको खोजी गर्न संभव थिएन । अमेरिका बसिरहेका नेपाली’bout बुझ्न थाले ।

 

 

कोही अध्ययन भिसामा गएका, कोही डिभी परेर गएका, कोही भिजिट भिसामा गएर उतै लुकेका, यस्ता धेरैसँग उनको भेट भयो । भिजिट भिसामा गएकाहरु नेपालमा द्वन्द्वका कारण असुरक्षित भएको देखाएर शरणार्थी बनेका छन् ।

 

 

वास्तवमा अमेरिका बसाइका दुख धेरै छन् । नेपालमा बसेर सोचजस्तो सहज छैन त्यहाँको जीवन । अमेरिका पुगेका तिनै नेपालीको दुख खोज्दाखोज्दै जन्मियो उपन्यास ‘ग्रेट फल्स’ ।

 

 

ग्रेट फल्समा जमिनको बाटो अर्थात तल्लो बाटो भएर अमेरिका पुग्नेहरुको पुरै कथा लेख्न संभव भएन । तल्लो बाटो अमेरिका पुगेका नेपालीको कथा धेरै दर्दनाक थियो । कतिपय अमेरिका नपुग्दै बीच बाटोमा नै परमधाम भएका थिए । अमेरिका पुगेकाहरु पनि ती दिन सम्झँदा धुरुधुरु रुन्थे । उनले ग्रेट फल्स लेखिसक्दा अर्को उपन्यास तल्लो बाटो पनि आधा लेखिसकेका थिए ।

 

 

गतवर्ष नेपाल आउँदा सँगै ‘तल्लो बाटो’ उपन्यास लिएर आए । यो नेपालबाट जमिनमार्ग हुँदै अमेरिका जानेहरुको कथा हो, जो ज्यानको बाजी थापेर १० महिनासम्म लगाएर अमेरिका छिर्छन् । अमेरिका छिर्न मेक्सिकोको पर्खाल नाघ्दै गर्दासम्म पनि ज्यान सुरक्षित हुँदैन ।

 

 

तल्लो बाटो लेख्ने क्रममा उनले यसरी अमेरिका पुगेका १० नेपालीसँग कुराकानी गरे । तर, कुरा गर्न सहज थिएन । उनी सम्झन्छन्, ‘बाटोमा भएका दुख उनीहरु भन्नै सक्दैन थिए । भन्दाभन्दै भक्कानिन्थे । डाको छाडेर रुन्थे । कतिपटक उनीहरुसँगै म पनि रोएँ । एक जनासँग कुरा गर्न हप्तौं पनि लाग्यो ।’ ती मान्छेहरु ३० देखि ४० लाख खर्च गरेर दुखको महासागर तर्दै अमेरिका पुगेका थिए ।

 

 

अमेरिका बसाइका क्रममा उनले उपन्यास र निबन्ध मात्र लेखेनन्, दर्शनमा पनि काम गरे । इन्द्रबहादुर राईले सुरु गरेर उनले पच्छ्याएको लीलालेखनलाई सैद्धान्तीकरण गरे । उनको लीलालेखन सम्बन्धि दर्शनको पुस्तक ‘लीलाबोध’ पनि नेपालमै विमोचन भयो । तर, हरेक विमोचनपछि उनी अमेरिका नै फर्किन्थे ।

 

 

अमेरिकामा उनको दैनिकी एकैप्रकारको हुन्थ्यो । छोराछोरी बिहानै उठेर काममा जान्थे । अहिले पनि अमेरिकामै छन् । श्रीमतीलाई पनि कामबाट फुर्सद थिएन । धरावासीको काम भने नातिनातिना स्कुल पठाउनु थियो । त्यसपछि दिनभरि फुर्सद । अनि कोठामा मधुर स्वरमा संगीत बजाएर लेख्न पढ्न थाल्थे ।
खानेकुरा फ्रिजमा हुन्थ्यो । भोक लाग्यो भने पनि कुनै समस्या थिएन । न त बनाउने झन्झट नै थियो । त्यसकारण लेखिरहन्थे, पढिरहन्थे । त्यसैले पाँच वर्षमा पाँच किताब तयार भयो ।

 

 

कहिलेकाहीँ भने नेपाल याद आउँथ्यो । अनि नेपाली गीत सुन्थे । नेपालका समाचार हेर्थे । युट्युब खोलेर फिल्म हेर्थे । मन बहलाउँथे । छुट्टीमा परिवारसँग घुम्न निस्कन्थे ।

 

 

अमेरिका बसुन्जेल उनलाई एउटा कुरा खड्किरह्यो । ‘अमेरिकामा मलाई कसैले चिन्दैन, म लेखक हुँ भन्ने कुरा अमेरिकाले स्विकार्दैन, त्यहाँ अंग्रेजी भाषाका एक से एक विश्वविख्यात लेखक छन्, ’emसँग त भेट गर्नसमेत गाह्रो रहेछ,’ उनी भन्छन् । हुन पनि जे छ नेपालमै त छ । त्यसैले नेपाल आइरहन्थे ।

 

 

उनले अमेरिकामा अर्को महत्वपूर्ण काम पनि गरेर फर्किएका छन्, नेपाली साहित्यको अन्तराष्ट्रियकरण । उनको उपन्यास राधा अंग्रजीमा अनुवाद भएर प्रकाशन भयो । त्यसो त पुस्तक प्रकाशनकै लागि उनले पाँच लाख रुपैयाँ खर्च गरे । तर, पहिलो तीन महिनामा नै उनले एक लाख १५ हजार रुपैयाँ रोयल्टी पाए । अमेरिकामा प्रकाशकले हरेक तीन महिनामा लेखकलाई रोयल्टी दिन्छन् ।

 

 

यी सबै कुरा इतिहास भइसेके । अहिले उनी अमेरिका छाडेर नेपाल आएका छन् । अब नेपालै बस्नेछन् । उनलाई नेपालमा गर्नुपर्ने त्यस्तो कुनै जरुरी काम छैन । बरु आफ्नै माटोमा बसेर लेख्न आएका हुन् । धरावासी लेखिरहेका छन् ।