प्रधानमन्त्री आफैंसँग असन्तुष्ट, सक्रिय नहुन नागरिक सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले घोषणा गरेको काम पूरा हुनु त कता हो कता शिलान्यास हुन नै दुई वर्ष लागेको भन्दै आफैंप्रति असन्तोष प्रकट गरेका छन् । उपचारको विश्राम सकेर सत्ताईस दिनपछि सार्वजनिक कार्यक्रममा सहभागी ओलीले अब निर्धारित समयमै काम सम्पन्न हुने दावी पनि गरे ।

 बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास गरेका ओलीले आफू प्रधानमन्त्री भएको दुई वर्षभित्र संसद भवन बनाईसक्ने उद्घोष गरेका थिए तर दुई वर्षमा उनैका हातले त्यो भवनको शिलान्यास मात्र हुनसकेको छ । आफ्नो बोली पूरा नभएपछि उनले आफैंसँग गुनासो पोखेका हुन् ।

 प्रधानमन्त्री ओलीले भने– ‘‘यसको तयारी अत्यन्तै ढिलो भयो । एउटा कहाँ बनाउने भन्ने कुरामा नै समय लाग्यो । त्यसअनुसार डिजाइन, लागतमा समेत समय लागेकोले ढिलो भएको छ तर यो भवनलाई समयभित्रै सकाउनुपर्छ ।’’

प्रधानमन्त्री ओलीले आफ्नो सरकारले देश बिकासको बाटामा अगाडि बढे पनि चाहेजस्तो गति लिन नसकेको स्वीकार गर्दै   सरकारले अझ बढी गतिको साथ काम गर्ने बताए ।

प्रधानमन्त्रीलाई थकाई मार्न सुझाव

यता प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा निस्कन थालेको देखेर एकजना नागरिकले उनलाई थकाई मार्न सुझाव दिएका छन् । 

वामपन्थी लेखक तथा पत्रकार नरेन्द्रजंग पिटरले प्रधानमन्त्री ओलीलाई आफ्ना विश्वासिला व्यक्तिलाई सत्ता हस्तान्तरण गर्न र आराम गर्न सल्लाह दिएका हुन् । पिटरले उनको फेसबूक वालमा प्रधानमन्त्रीलाई सल्लाह दिँदै बूँदागत रुपमा लेखेका छन्–

. प्रधानमन्त्रीजी ज्यादै बिमार हुनुहुन्छ अव तपाईं आराम गर्नुस्,धपेडी नगर्नुस् । आफ्ना विश्वासिलालाई शक्ति हस्तान्तरण गर्नुस्,उसले तपाईंको सपना पूरा गर्न सकोस् । 
असल राष्ट्रिय अभिभावक बन्नुस्,शक्तितृष्णा त्याग्नुस् । सरकारी नेकपाले सहजीकरण गरोस् । अब राष्ट्रको कार्यकारी नेतृत्व लिने अवस्थामा तपाईंको स्वास्थले साथ दिएन भन्ने    बुझ्नुस् ।
. दुइतिहाइको प्राविधिक दम्भ तोड्नुस् ।
. तपाईंका महामन्त्रीलाई बालुवाटार जमिन प्रकरणमा आरोप लाग्यो, उहाँलाई बिदा लिन प्रेरित गर्नुस्, ताकि प्रतिगमनकारीले यसका निउँमा ब्यवस्था र संविधानमाथि नै धावा बोल्न नपाओस् ।

. एनसेल र वाइडवडी,आयल निगम,अख्तियार पूर्व प्रमुख र चूडामणि केसको भूमिका र उनको अचल सम्पतीको विश्वसनीय कारवाहीको ब्यबस्था गर्नुस् । सिण्डिकेट भ्रष्टाचार जालो तोड्नुस् । आफ्नैलाई कारवाहीको घेरामा हाल्नुस् । ताकी इतिहास बचाउन तपाईं सक्ने अवस्थामा पुगेको लोकले महसुस गर्न पाओस् ।

. जुनसुकै बिचारको नागरिकको निर्वाध देश घुमफिरको सुनश्चित अधिकार रक्षा गर्नुस् । भिजिलान्ते र न्यूमेनक्लातुरा जन्माएर सत्ता सुरक्षित हुँदैन भन्ने इतिहास शिक्षा आत्मसात् गर्नुस् ।

. आज पनि आस्थाका बन्दी ५सय भन्दा धेरै छन्,अदालतको फैसला राज्यले मान्ने ब्यवस्था गर्नुस् ।

. अदालतको मर्यादा र विश्वास पुनरस्थापित गर्नुस् ।

. तपाईं र तपाईंको पार्टीका कारण ब्यवस्था र संविधानमाथि प्रश्न उठ्न पाउनु हुँदैन । त्यो राष्ट्रिय अपराध हुनेछ ।

. किन नांगो सत्य पनि बुझ्ने वा आलोचनात्मक चेत राख्ने तपाईंको पार्टी र कार्यकर्ता छैनन् ? सोच्नुस त …!