खुच्चिङ

 

नपिएरै मात लागि ढल्नेलाई खुच्चिङ
विना कारण भित्र भित्रै जल्नेलाई खुच्चिङ
चोरी गर्ने पासभए पढ्नेलाई खुच्चिङ
धोकापाई जातले माथा रगड्नेलाई खुच्चिङ

#

लाम मिच्ने छिटो भए लाम लाग्नेलाई खुच्चिङ
बेला धड्किसकेपछि जाग्नेलाई खुच्चिङ
सुनै, सुन केवल सुन ताक्नेलाई खुच्चिङ
धामीलाई कालो भाले भाक्नेलाई खुच्चिङ

#

सतहका भुरा माछाहरूलाई खुच्चिङ
तड्पिएका ठूला बाछा लाईपनि खुच्चिङ
जामभित्र अड्किकन बस्नेलाई खुच्चिङ
महँगीको डोरी पेटमा कस्नेलाई खुच्चिङ

#

कल्पनाको आकाशबाट झर्नेलाई खुच्चिङ
भाग्य दिन्छ तर कर्म नगर्नेलाई खुच्चिङ
फाटेजति फेेसन भए नफाटेकोलाई खुच्चिङ
सत्ताभित्र बसी स्वाद नचाटेकोलाई खुच्चिङ

#

रङ्गाएको दारी सेतो देखिनेलाई खुच्चिङ
बङ्ग्याएको कुरा सिधा लेखिनेलाई खुुच्चिङ
उमेर पूरै नढाक्दिने लालीलाई खुच्चिङ
बेमौसममा लगाएको बालीलाई खुच्चिङ

#

टन्न खाई जुँघा तिर लगाउनेलाई खुच्चिङ
इज्जत जति खोलातिर बगाउनेलाई खुच्चिङ
हिरा मोती छाडी ढुङ्गा टिप्नेलाई खुच्चिङ
कलङ्कले आफ्नै मुख लिप्नेलाई खुच्चिङ

#

आफ्नो कुरा आफूलेनै नबुझ्नेलाई खुच्चिङ
सहि कुरा कहिल्यै पनि नसुझ्नेलाई खुच्चिङ
अरूको कान भर्न कहिल्यै नडर्नेलाई खुुच्चिङ
गाली खाई कहिल्यै पेट नभर्नेलाई खुच्चिङ

#

देखावटी रुपमा हुने पुण्यलाई खुच्चिङ
बुद्धि मात्र बढी विवेक शून्यलाई खुच्चिङ
छिनछिनमा फेरिने रुप रङ्गलाई खुच्चिङ
अवरोहतिर जाने ढङ्गलाई खुच्चिङ

#

अरूलाई कहिल्यै चिप्लो नघस्नेलाई खुच्चिङ
संस्थापन पक्षभित्र नबस्नेलाई खुच्चिङ
बुई चढी हिड्नेलाई झरे पछि खुच्चिङ
कहिल्यै पूरा नहुुने आश मरेपछि खुच्चिङ

#

नलेखिएका अनगिन्ती कहानीलाई खुच्चिङ
पचाउन नसकेको बेइमानीलाई खुच्चिङ
खलनायकको मुक्काखाने नायकलाई खुच्चिङ

नालायकको कदर भए लायकलाई खुच्चिङ

#

बिकाउछ यहाँ सबै नकिन्नेलाई खुच्चिङ
देश काल परिस्थिति नचिन्नेलाई खुच्चिङ
झेल भए पनि सही, हार्नेलाई खुच्चिङ
माछो दिई भ्यागुतो हात पार्नेलाई खुच्चिङ

#

मच्छड जति भित्र जाने झुललाई खुुच्चिङ
दुई दिनमै ओइली जाने फूललाई खुच्चिङ
आकाशबाट झरिजाने तारालाई खुच्चिङ
माग पूरा नहुने जति नारालाई खुच्चिङ

#

केही दिनमै फेरिइजाने फेसनलाई खुच्चिङ
फेसनको नराम्रो त्यो इम्प्रेशनलाई खुच्चिङ
लोकतन्त्रको सदाबहार मन्त्रलाई खुच्चिङ
कैयौं राजा पाल्ने गणतन्त्रलाई खुच्चिङ ।