रोनाल्डोको निर्णायक गोलले युभेन्टस विजयी

काठमाडौं । क्रिष्टियानो रोनाल्डोको निर्णायक गोलमा युभेन्टस विजयी भएको छ । इटालियन सिरी ए फुटबलअन्तर्गत शनिबार राती भएको खेलमा वेरोनालाई २–१ गोलले पराजित गर्दै युभेन्टस विजयी भएको हो । 

युभेन्टसका लागि ३१ औँ मिनेटमा आरोन राम्सीले गोल गरेका छन् । गएरातीको खेलबाट इटालियन सिरीमा डेब्यु गरेका राम्सीले पहिलो खेलमै गोल गर्न सफल भए । यसअघि खेलको २० औँ मिनेटमा पिन्तो वेलोसोको गोलबाट वेरोनाले अग्रता लिएको थियो । राम्सीले गोल गर्दै नतिजालाई बराबरीमा ल्याए । 

खेलको ४९ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रोनाल्डोले नतिजा आफ्नो टिमको पक्षमा पारे। उनले जितका लागि निर्णायक गोल गरे । खेलमा वेरोनाका कुम्बुला दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिनु परेको थियो ।