प्रतिछायाँसित

 

मैले केही भन्न सकिनँ । प्रतिक्रिया शून्य भएँ । फगत सान्त्वनाका केही शब्दहरु समेत सँगाल्न सकिनँ । त्यसै बसिरहेँ निरपेक्षी भएर । त्यसले मलाई निलुँला झैं गरेर हेर्न थाल्यो – आक्रोशित भएर । पहिरो गएको पहाड जस्तो आँखाबाट यतिखेर आँसुका थोपा होइन क्रमशः पानीको वाफ उडिरहेछ ।

-ध्रुव मधिकर्मी

 

आँखामा आकाश उही पूर्व रुपकै छ । म खिन्न मनले त्यतातिर ताकिरहेछु । थाकेर बादलहरु मात्र क्षितिजमै मडारिरहेका छन् । ढस्समस्स बसेका पहाडहरु फुङ्ग उडेको अनुहार समान देखिन्छन् । निश्चल .. अवाक् । दिनमा पनि नमीठोसँग किर्थो कराइरहेछ । आकाश जुन आज परोक्ष रुपमा केही भिन्न भएको एकतमासले किन हो कुन्नी महसूस गरिरहेछु ।

विशेषतः कुनै विधवाजस्तो देखिन्छ आकाश । जसको आफ्नो कुनै मौलिक रङ्ग छैन । जसके कुनै ठोस आकार भेटिन्न । कुनै चरा पनि उडिरहेका देखिंदैनन् । म खिन्न मनले त्यहाँ हेरी हेरी टकटकी बाँधिरहेछु ।

– त्यता हैन, यता हेर ।

मैले झस्केर आवाजतर्फ आँखा फैलाएँ । त्यहाँ एकजना दयनीय खालको उदास मान्छे पीडालाई बलजफ्ती चपाउने प्रयासमा संलग्न उभिरहेको देखेँ । त्यो कुनै हाटबजारमा भेटिने अति सामान्ज्य मान्छेसँग ट्वाक्कै मेल खान्छ । सुक्खा कुवाजस्तो आँखा लिएर त्यो केवल मलाई टुलुटुलु हेरिरहेको थियो – अत्यन्त आशामुखी भएर । यतिखेर मैले के भन्नुपर्ने हो थाह नपाएर फगत त्यसलाई हेरिरहेँ ।

मलाई ट्वाल्ल हेर्दै त्यो मैले केही भन्ला कि भनेर प्रतीक्षितजस्तो देखियो । तर मेरो निर्लिप्त र यथावत् स्थितिमा कुनै संकेत नदेखेर नै होला त्यसको अनुहारबाट आशाको छाया प्रतिपल खण्ड खण्ड भएर खस्कँदै गएको प्रष्टै देखियो ।

– के तिमी मलाई देखिरहेका छौ ?, त्यसको अनुहारमा संशयका रेखाहरु वरिपरिबाट थुप्रिन थाल्यो ।

– साफसँग … ।

तब यति बिध्न मौन ? कहाली लाग्ने गरी…, त्यसले तत्काल प्रश्न राख्यो । यति बेलासम्ममा त्यसको अनुहार प्रश्नहरुको ओइरोले डम्म छोपिसकेको थियो ।

मैले चुँक्क पनि बोलिनँ ।

त्यसले मलाई केही गहिरो दृष्टिले हेर्न शुरु गर्यो – प्रश्नहरुलाई एउटा कुनामा पन्छाएर । त्यसका आँखामा पीडा, छटपटी र आतङ्कमिश्रित संत्रास तैरिन थाल्यो । भावको आरोह अवरोह तीब्रताका साथ रेखाङ्कित हुँदै गयो ।

– हेर मेरो अनुहार ! त्यो कति बिध्न क्षतविक्षत छ .. कस्तरी चिथरिएका छन् नङ्ग्राहरुले । मेरो मुख.. यो लाटो भइसक्यो । यसले अब केही बोल्न भन्न सक्तैन । पूर्णतः अभिव्यक्तिको सम्भावना गुमाएर यो चुपचाप बसिरहेछ … बसिरहेछ यो आफ्नो परिचयबाट विमुख भएर । तर… , त्यसले अति मौनताका बीच याचक अनुहारमा साउति गर्न खोज्यो । एकछिनको विश्रामपछि एउटा गहिरो निःश्वास लिएर फाल्यो । त्यसपछि त्यसको ठम्याइमा अचेतनजस्तो लागेरै होला झकझक्याउँदै मलाई बिउँझाउने प्र्रयास ग¥यो, – तर तिमी … मूख भएर पनि किन चुप ? किन ओढिरहेछौ भारलाई ? मलाई जवाफ दिन सक्छौ !

सकिनँ र चुप लागिरहेँ ।

– तिमीले त केही बोल्नुपर्ने ! आफू वरिपरि व्याप्त सन्नाटालाई धुजा धुजा पारेर आफ्नो स्वरलाई विस्थापित गर्न तम्सनु पर्ने ! .. यो सुनेर पनि अझै तिम्रो मनमा कतै च्वास्स केही बिझेन ? … ओहो ! यो तिमीलाई के भयो ?

के भयो ?, एउटा अतिरिक्त प्रश्न मेरो मानसमा ढोका खोलेर पस्यो । म शून्य भएर बसिरहेँ– थपक्क राखिएको कुनै वस्तु झैं ।

सुन, मेरा हात खुट्टाहरु निर्जीव भएर लट्किरहेका छन् । मलाई पूरापूर थाहा छैन – यी हातखुट्टाहरु त्यसै किन लल्याकलुलुक भएर गए । किन आफूलाई निःसहाय रुपमा आफैले भोग्नुप¥यो । आफ्नो अशक्ततालाई आफैले भोग्नु जस्तो भयावह विसंगति अरु के हुन सक्छ ?, यतिखेर त्यसको आँखा पीडाको विकराल सागर झैं लाग्यो ।

मलाई यति थाहा छ – मैले कसैको अधीनस्थतालाई स्वीकारिनँ आफ्नो बाटोमा । कसैले देखाएको लीकमा हिंड्न अस्वीकार गरेँ र आफ्नो अस्मितालाई कसैमाथि आत्मसात् गर्न दिइनँ । हेर त्यसैको परिणाम .. अस्वीकारको प्रतिफल ! …आज यी हातहरु काम लागेनन् । यी खुट्टाहरु बेकम्मा भए … भन म के गरुँ ?, त्यसले गहभरि आँसु थुपा¥यो, जहाँ सपना र विश्वासहरु क्रमशः पानीमा लफ्र्याक्क भिजे । पीडा र छटपटी पानी पर्ने बादल झैं केही केही बाक्लो भयो ।

म स्तब्ध भई क्वारक्वारती हेर्न थालेँ ।

के म जड बनेर बसिरहूँ .. यत्तिकै सहिरहूँ ? भन त .. किन चुप ? मलाई प्रत्युत्तर देऊ । के मैले आफ्नो बाटो आफै पहिल्याउनु कुनै गल्ती थियो ? मैले आफ्नो स्वलाई बन्धकी नराख्नु मेरो भूल थियो ? भन मलाई.. संवाद गर मसँग … तिमी मेरो लागि के गर्न सक्छौ , सहन नसकेर त्यसले टुरुक्क आँसु चुहायो । गहन पीडा र विषाक्त छटपटीका बादल बाक्लिँदै उसको आँखा वरिपरि डम्म भरिन थाल्यो ।

म बहिरो झैं भएँ, उसको कुराले ।

तिमी किन बोल्दैनौ ! किन यसको लागि दुई शब्द बोल्न तम्तयार हुँदैनौ । किन बसिरहेछौ निस्तब्धतालाई चुपचाप काखीमा च्यापेर ? कि तिम्रा पनि हात खुट्टाहरु लोलाएका छन् या कतै बाँधिएका छन् ? तिम्रो मुखमाथि कसैले बुजो लगाइदिया छ कि ?

तिमी केही गर्न सक्तैनौ भने कम्तीमा आफ्नै प्रतिछायाँलाई मार्न त सक्छौ ?, त्यसका आँखाहरुमा प्रश्नहरु सेलाउँदै सेलाउँदै त्यस ठाउँमा अब केही आतङ्क र घृणामिश्रित वेदना प्रष्टिन थाल्यो । ममाथि दृष्टिपात गर्दै एकनास ताक्ह्यिो । एउटा विवशताको अनुहार … परिस्थितिले कोपरेर कच्याककुचुक परेको कागतजस्तो अनुहार .. जसको आँखामा अतृप्त आकांक्षाको निस्तो आकाश सीमाहीन फैलिएको हुन्छ । जो दमित विद्रोहलाई काखीमुनी च्यापेर जहिले पनि चौबाटोमा अन्यमनस्क भावमा ओहोर दोहोर गरिरहेको हुन्छ ।

मैले केही भन्न सकिनँ । प्रतिक्रिया शून्य भएँ । फगत सान्त्वनाका केही शब्दहरु समेत सँगाल्न सकिनँ । त्यसै बसिरहेँ निरपेक्षी भएर । त्यसले मलाई निलुँला झैं गरेर हेर्न थाल्यो – आक्रोशित भएर । पहिरो गएको पहाड जस्तो आँखाबाट यतिखेर आँसुका थोपा होइन क्रमशः पानीको वाफ उडिरहेछ ।

के तिमी साँच्चिकै केही गर्न सक्तैनौ ? मेरो दयनीयतामा … मेरो यो सकसपूर्ण स्थितिमा ! मैले तिमीलाई आफै सम्झेको थिएँ .. आफू जतिकै । .. तिमीलाई के यो पीडा, सकस आफ्नैजस्तो लाग्दैन ?, यति भन्दा नभन्दै त्यो त्यहीँ बसेर रुन थाल्यो क्वाँ क्वाँ । साँच्चिकै रुन थाल्यो मानौं उसको आफ्नो अभीष्टको हत्या भएको छ । बडो जतनका साथ आफूले संगालेर राखेको विश्वास चकनाचुर भएको छ ।

००