आज फूलपाती : टीकाको शुभसाइत १०ः३५ मा

काठमाडौं – दसैंको सातौं दिन शनिबार दुर्गाका नौवटा रूपमध्ये ‘कालरात्रि’ स्वरूपा दुर्गाको पूजाआराधना तथा फूलपाती भिœयाएर मनाइँदै छ। शास्त्रमा केरा, दारिम, धानको बोट, हलेदो, मानेको बोट, कचु, बेलपत्ताको हाँगो, अशोक र जयन्तीलाई नवपत्रिका वा फूलपाती भनेर उल्लेख गरिएको छ। यस दिन पनि दियो, कलश र गणेशको पूजा गरी ‘कालरात्रि’ स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराई बताउँछन्।

त्यस्तै दसैंको आठौं दिन आइतबार नवदुर्गाका नौवटा रूपमध्ये ‘महागौरी’ स्वरूपा दुर्गाको पूजाआराधना गरेर महाअष्टमी मनाइँदै छ। यस दिन शक्तिस्वरूपा महागौरीसँगै ‘भद्रकाली’ स्वरूपा देवीको पनि पूजा गर्ने चलन रहेको प्राडा भट्टराई बताउँछन्। यस दिन पूजापछि बलि दिने चलन छ। उनका अनुसार बलि भनेको मनुष्यमा रहेका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, अहंकार आदि दुर्गुणको त्याग गर्नु या भगवतीको चरणमा अर्पण गर्नु भनिएको हो। रुद्रयामलमा ‘भगवतीको आस्था गरी पूजा गर्ने या सत्यको मार्गमा रहेका जुनसुकै जातजातिका मानिस ब्राह्मण हुन् र तिनले कुभिण्डो वा बेलको बलि दिनुपर्छ भनिएको छ। यस दिन ‘दुर्गादेवी’ नामले कुमारी पूजा, देवीको वाहन सिंह र नौ प्रकारका हातहतियारको पनि पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ।

त्यस्तै सोमबार ‘सिद्धिदात्री’स्वरूपा दुर्गाको पूजाआराधना गरी महानवमी मनाइँदै छ। यस दिन कन्यापूजा, विश्वकर्मा पूजा, कलकारखाना तथा मेसिनपूजा, हात्ती, घोडा, मोटरसाइकल, गाडी आदि वाहनको पूजा गर्ने चलन रहेको छ। भगवान् गौतम बुद्ध वैशाख शुक्ल पूर्णिमाका दिन भौतिक रूपमा मत्र्यलोकमा अवतरित भए पनि शूक्ष्म शरीरको रूपमा चाहिँ भगवान् विष्णु बुद्धको रूपमा यही दसैंको महानवमीका दिन अवतरित भएको शास्त्रीय मान्यता छ। यसरी नवरात्रका नौ दिनसम्म गरिएको पूजाको अन्त्यमा विसर्जन गरी मंगलबार दशमीका दिन मान्यजनबाट दहीअक्षताको टीका, जमरा र  तथा आशीर्वाद ग्रहण गरिँदै छ। दुर्गा विसर्जन मंगलबार बिहान ८ः४५ मा र टीकाको शुभसाइत १०ः३५ बजे रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

नवरात्रका सबै दिन विभिन्न शक्ति पीठको दर्शन गर्ने चलन रहेको छ। शक्तिपीठको दर्शन, पूजाआराधना र चण्डीपाठ गर्नाले आदिशक्ति दुर्गाबाट व्यावहारिक जीवनमा आत्मिक शक्ति बढ्नुका साथै सम्पूर्ण मनोकांक्षा पूरा हुने शास्त्रमा उल्लेख छ। विशेष गरी नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, दक्षिणकाली, भद्रकाली, दन्तकाली, सिद्धकाली, गुह्येश्वरी, विन्ध्यवासिनी, छिन्ताङदेवी, पाथीभरा, मनकामना, वागीश्वरीलगायत देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्न भक्तजनको भीड लाग्ने गरेको छ।