पाँच कविता, पाँच सन्दर्भ : सम्झँदा कथाजस्तो लाग्छ

मनु मन्जिल, कवि

 

१ खराब राजनीतिले ‘दुश्मन’ जन्मियो

 

मेरा कविता प्रकाशनमा जान थालेको ०५० सालतिर देखि हो । ०५४ सालतिर ‘दुश्मन’ कविता लेखेँ । म जहाँ गएपनि स्रोताहरुले यो कविता सुन्न खोज्नुहुन्छ । यो कवितामा राजनीतिको नकारात्मक पाटोको चित्रण छ । अमूक पार्टीमा लागेर हामी नेपाली आफू आफू दुश्मन भयौं । अर्काको राजनीतिक भारी बोकेर हिँड्दा यस्तो भयो । दाजुभाइ पनि रहेनौं, साथी पनि रहेनौं । पार्टीमा विभाजन भएर एकअर्कालाई सराप्न थाल्यौं । हरेक कुरा पार्टीको आँखाले हेरेर आफैंमा फाटो ल्यायौं । यो कुरा गाउँ गाउँसम्म पुग्यो ।

 

 

यसलाई मैले नयाँ तरिकाले सोचेँ । हामीलाई सबैभन्दा धेरै सम्झिने दुश्मनले नै हो । मित्र त भेट हुँदासम्म मात्र हो । तर, बैरी हरेक पल हामीतिर फर्किएर बसेको हुन्छ । ढोका र झ्याल पनि हामीतिर नै फर्काएर चियो गरिबस्छ । हाम्रै’boutमा मात्र सोचीबस्छ । हामीलाई पराजित गर्ने उपाय खोजीबस्छ । हाम्रो प्रगतिमा ऊ बेचैन हुन्छ । यस्तो सोच आयो ।

 

 

त्यतिबेला राजनीति चरममा थियो । युद्ध चलिरहेको थियो । एकअर्कामा मारकाट गरिरहेका थियौं । अनि मैले दुश्मनलाई हेर्ने सुन्दर आँखाको खोजी गरेँ । यही सन्दर्भमा कविता लेखेँ । धेरै ठाउँमा वाचन गरी हिँडे ।

 

 

२ किनारामा उभिएको कवि हो ‘ल्याम्पोष्ट’

 

ल्याम्पोष्ट कवितामा मैले आफूलाई विजुलीको पोल ठानेको छु । पोल सडकछेउमा ठडिएको छ । त्यही सडकबाट अनेक मान्छे वारपार गर्छन् । राजनीतिका नारा घन्काउँछन् । पोललाई सबै घटना किनारामा उभिएर हेरिरहनुपर्ने बाध्यता छ । दिउसो त ऊसँग बत्तीसमेत हुँदैन । निभेको हुन्छ ।

 

 

हामी कवि भनेको किनाराका साक्षी हौं । हामी हरेक कुरालाई भावनाले हेर्न खोज्छौं । मान्छेको कुदाकुद, सभा, नाराजुलुसलगायत रमिता छ सडकमा । म कवि विजुलीको पोल भएर रमिता हेरिबस्छु । तर, जब साँझ पर्छ मेरो पनि महत्व बढ्छ । त्यहाँ बत्ती बल्छ । साना नानीहरु आएर खेल्छन् । बटुवाहरु आएर घडी हेरेर जान्छन् । सडक बालकहरु आमाको काखमा आए झैं गरेर मेरै आडमा बास बस्छन् । यस्तो भावना आयो अनि कविता लेखेँ ।

 

 

पछि यही कवितालाई बिम्ब बनाएर मेरो कविता कृतिको नाम ‘ल्याम्पोष्टबाट खसेको जुन’ राखेँ । पोलको उज्यालोमा आएर नानीहरु खेल्छन्, बटुवाले सहारा बनाउँछन् भनेपछि त्यो साधारण उज्यालो होइन । तर, त्यो पोल्ने उज्यालो पनि होइन । त्यसलाई मैले जूनसँग तुलना गरेँ । अनि ल्याम्पोष्टबाट एउटा जून खसिरहेको भावलाई पुस्तकको नाम दिएँ ।

 

 

३ गाउँले बालकलाई सम्झेर

 

दिउसो कार्यालय समयपछि म कहिलेकाहीँ गोप्य यात्रामा निस्कन्छु । यसलाई म ‘एउटा कविको गोप्य यात्रा’ भन्न रुचाउँछु । त्यस्तो बेला मोबाइल पनि बन्द गर्ने गरेको छु । म एकपटक मोरङको केराबारी पुगेको थिएँ । पहाडको फेदीमा निकै सुन्दर गाउँ छ त्यो । गाउँबीचमा सानो बजार पनि छ ।

 

 

मोटरसाइकलमा गएको थिएँ । चिया पिउन मन लाग्यो । एउटा सानो पसलको बाहिरै मेचमा बसेँ । यतिबेलै चार पाँच वर्षको बच्चा आयो । ऊ निकै सुन्दर थियो । उसले मेरो अगाडि नाटक गर्न थाल्यो । कहिले हाँस्ने, कहिले रोए जस्तो गर्ने, लडिबुडी गर्ने गर्न थाल्यो । केहीछिन पछि उसले आफ्ना साथी पनि लिएर आयो । सबैले त्यसरी नै नाटक गर्न थाले ।

 

 

ऊ मलाई छुँला छुँला जस्तै गरी कुद्दै पनि थियो । यतिकैमा मैले उसलाई च्याप्प समाएर काखमा लडाएँ । ऊ भागेन । बरु उत्तानो परेर सुतिरह्यो ।

उसको नाम सोधेँ ।

‘सिद्धार्थ’

‘तिम्रो घर कहाँ छ ?’

पहाडतिर देखायो । अनि बाबाको नाम सोधेँ । बोलेन । ममीको नाम सोधेँ । ऊ त रुन पो थाल्यो । उसका आँखा निकै सुन्दर थिए । ती सुन्दर आँखाबाट आँसु आइरहेका थिए । ऊ ठूलो स्वरमा रुन थालेपछि होटलवाला दिदी बाहिर निस्किएर मलाई गाली गर्न थालिन् । ‘बेकारका मान्छे आएर अनेकथरि सोध्छन्, किन उसलाई त्यस्तो सोध्नु ? बोल्नुअघि विचार गर्नु पर्दैन ?’ दिदीले अरुपनि धेरै कुरा भनिन् ।

 

 

मलाई निकै असजिलो भयो । पछि तिनै दिदीले भनिन् कि उसको बाबालाई सेनाले गोली ठोकेर मारेको रहेछ । त्यसपछि आमा बेपत्ता भइछिन् । उसलाई फूपुले पालेको रहेछ । बाबा र आमाको नाम सोध्दा त्यहीकारण रोएको थियो । युद्धको बेला बालबालिकालाई आमाबाबाको नाम सोध्दा पनि गल्ती हुँदोरहेछ । पहिलोपटक त्यो महसुस भयो ।

 

 

म त्यहाँबाट जुरुक्क उठेँ । १० रुपैयाँको विस्कुट किनेर उसलाई दिएँ । अलि वर आएँ । फेरि फर्केर उसलाई हेरेँ । ऊ आफ्ना साथीहरुलाई विस्कुट बाँड्दै रहेछ ।

 

 

त्यहाँबाट घर आएँ । अनि मध्यरातमा कविता लेखेँ ‘गाउँले एक बालक सम्झेर’ ।

 

 

 

४ पहराको साँघुरो बाटोमा

 

‘पहराको साँघुरो बाटोमा’ कविता गीति लयमा लेखेको छु । यो कविताको पृष्ठभूमिमा रमाइलो सन्दर्भ छ । म धनकुटाको नमस्ते झरना पुगेको थिएँ । एक्लै थिएँ । झरना पुग्न पहराको साँघुरो बाटो काटेर जानुपर्छ । अलिकति पाइला चिप्लियो भने तलै पुगिन्छ ।

 

 

चार पाँच जना युवती नमस्ते झरनामा नुहाएर फर्कँदै रहेछन् । त्यही पहराको साँघुरो बाटोमा भेट भयो । मलाई अचानक पहिलाका कुरा याद आयो । विद्यार्थी हुँदाका प्रेमिल सम्झनाले मस्तिष्क छोयो । अनि सोचेँ, त्यहाँबाट आउने युवती झैं मेरी पुरानी प्रेमिका त्यसरी आइदिएको भए त्यो साँघुरो बाटोमा भाग्ने संभावना थिएन ।

 

 

खुला सहरमा कहिल्यै भेट नहुन पनि सक्छ । ठूलो सडकमा उनी एकातिरबाट र म अर्कातिरबाट कुद्न पनि सकिन्छ । तर, पाइला गनेर हिंड्नुपर्ने साँघुरो बाटोमा भाग्ने संभावना थिएन । एकले अर्कोलाई बाटो छाडिदिनुपर्छ । र कटेर जाँदा स्पर्श हुने निश्चित हुन्छ । त्यो श्पर्शको अनुभूतिले ‘पहराको साँघुरो बाटोमा’ भनेर कविता लेखेँ ।

 

 

५ कसैलाई बाँच्न दिनु नै ‘सजाय’ हो

 

म जबजब गाउँ जान्थेँ, एउटा मान्छे जहिल्यै आएर मलाई धम्क्याउँथ्यो । ऊ एउटा अमुक पार्टीको हतियार बोकी हिँड्ने क्याडर रहेछ । ऊ आएर मसँग ठूलो स्वरमा बोल्थ्यो । धम्कीको भाष बोल्थ्यो । म भने उसलाई जिस्काइबस्थेँ ।

 

 

त्यतिबेला उनीहरुको बोलवाला थियो । जब गाउँको जंगलमा पर्रर्र्र्र्र बन्दुक पड्कन्थ्यो मध्यरातमा मेरी आमा मेरो कोठमा आएर मेरो टाउको छाम्नुहुन्थ्यो । अनि गएर सुत्नुहुन्थ्यो । फेरि पड्कन्थ्यो । फेरि आएर मलाई छाम्नुहुन्थ्यो र गएर सुत्नुहुन्थ्यो । त्यस्तो डरलाग्दो समय थियो । केही बोल्नु सकिँदैनथियो । म सोचिरहन्थेँ कि मैले सक्ने हो भने मलाई धम्की दिने भाइलाई के सजाय दिन्थेँ होला ?

 

 

पछि त्यो भाइले ठूलो दुख पायो । कुनैबेला सैनिकले उसलाई माओवादी भनेर खेद्यो । पछि माओवादी छोड्यो । जासुस भएको आरोप लगाएर फेरि माओवादीले खेद्यो । यसरी ऊ लखेटाइमा परिरहेको थियो । अनि लाग्यो उसले त आफैं सजाए पाइराखेको छ । उसलाई सबैभन्दा ठूलो सजाय नै बाँच्नदिनु हो । यो भावना आएपछि राजनीतिक सन्देश दिन पनि सजाय कविता आए ।

 

 

आज हरेक नेपालीले सजाय पाइरहेका छन् । कोही भारी बोकिरहेका छन् । कोही दुई छाक खानलाई पनि ठूलो मिहिनेत गरिरहेका छन् । स्वदेशबाट लखेटिएर विदेशमा पसिना बगाइरहेका छन् । हाम्रो देशमा स्वतन्त्र नागरिक भएर बस्नु नै एउटा सजाय हो भन्ने भाव यो कवितामा छ ।