नारान दाइ फेरि आएनन

 

आज नारान दाइ हिरो जस्तो देखिनु भएको छ ! नविनाले जिस्क्याई । हुन पनि आज नारान दाइ अरु दिनभन्दा सुकिला र राम्रा भएर अफिस आएका छन् । दाइले आज बिहानै दारी काटे, नाकभित्रबाट बाहिरसम्म आएका रौँहरु छाँटे, जुँघा चट्ट मिलाए,  स्याम्पुले नुहाएर कपालमा तेल लाए । पहेंलो शर्ट र कालो प्यान्टमा सजिएका नारान दाइले आज त जुत्ता पनि टल्काएका छन्  । नारान दाइले विगत तीन वर्षदेखि विशेष दिनमा लाउने गरेको ड्रेस यही हो । अरु दिन अफिस आउँदा त उनी उस्तो मतलव गर्दैनन्, दारी पनि कहिले काट्छन कहिले काट्दैनन, कहिले काहीं त चप्पल लगाएरै पनि टार्छन । यिनलाई माया गरेर सवैले नारान दाइ भनेर बोलाउँछन तर यिनको खास सरकारी नाम नारायण हो, नारायण कृष्ण श्रेष्ठ । यी हुन आन्तरिक प्रशासन शाखाका नायव सुब्बा ।

 

 

यो सिंहदरवारभित्रको ठूलो विकासे मन्त्रालय हो । यहाँ नयाँ सचिव सरुवा भएर आएका छन्, दश बाह्र दिन भयो । आज यी सचिव आएपछिको पहिलो स्टाफ मिटिंग छ, साढे दश बजे अनिवार्य जम्मा हुनुपर्छ, ठूलो हलमा । नारान दाइले यी सचिवलाई नजिकैबाट देखेका छैनन् । एक  दिन अलि परबाट जाँदै गर्दा माने ड्राइभरले ऊ त्यही हो नारान दाइ नयाँ सचिव, धेरै खत्रा मान्छे छ रे ! भनेको सम्झना छ उनलाई । नविनाले पनि भन्दै थिई यो सचिवले त कस्तरी हेर्छ बाइ मलाई त डर लागेर ल्याउँछ ! शाखा अधिकृत ध्रुवरामले पनि यो सचिव निकै कडा होला जस्तो छ भनेको सुनेका थिए नारान दाइले ।

 

 

नारान दाइले यही मन्त्रालयमा काम गर्न थालेको पनि बाइस वर्ष भयो, तर उनी आजसम्म कुनै सचिवसंग बोलेका छैनन् । उनलाई काम छोडेर कतै जान मन लाग्दैन, आफ्नो काममै मस्त रहन्छन । आफ्नो कोठा छोडेर अन्यत्र गफ गर्न जाने, अरुको कुरा काट्ने, बाङ्गो टिङ्गो कुरा गर्ने, काममा ठग्ने जस्ता कुरा यिनले कहिल्यै जानेनन । नारान दाइ सधै दश बज्नु अगाडि नै अफिस आउँछन र पाँच नबजी निस्कदैनन ।

 

 

साढे दश बजे सवै कर्मचारीहरु हलमा जम्मा भए । चारै जना सहसचिवहरु अगाडिका कुर्सीमा लहरै बसेका छन् । आज सहसचिवहरू दौरा सुरुवाल र कोटमा सजिएका छन् । सहसचिव जीवनरामको चुरीफुरी अलि बढी देखिन्छ भने अरु चुपचाप छन् । जीवनराम भन्दै छन् आज श्रीमान् सचिवज्यूबाट विशेष निर्देशन हुन्छ होला साथीहरु ! आफ्नो आफ्नो शाखा र फाँटको काम सम्बन्धमा टिपोट गरेर राख्नु होला, सचिवज्यूलाई आफ्नो निर्देशनको अवज्ञा भएको सैह्य हुँदैन भन्ने कुरा हामीले राम्ररी बुझ्नु आवश्यक छ । जीवनरामले यत्ति के भन्न भ्याएका थिए नारान दाइको बगलमै बसेको नायव सुव्वा सोमनाथ पौडेलले भनीहाल्यो भो भो धेरै बखान नगर्नुहोस जीवन सर तपाईंको सचिवको । यिनी कस्ता हुन, कस्तो काम गर्छन, कस्तो नियतका हुन, कसको पछि लागेर हिड्छन भन्ने सवै थाहा छ हामीलाई । धेरै फुर फुर नगर्न भन्नुहोला यिनलाई बुझ्नु भो ?

 

 

नारान दाइ त छक्क परे, वाफ्रे ! यो सोमनाथ सुब्बा त उनको शाखामा दुई महिना अगाडि मात्र सरुवा भएर आएको हो । कहिले काहीं देखा पर्थ्यो र नमस्ते है नारान दाइ, मलाई त दाइ भएपछि ढुक्क छ, ल है दाइ फाँटको काम बिग्रन नदिनु होला । म अलि दौडादौडमा छु, धेरै काममा हिड्नु पर्छ, घरमा समस्या छ, पार्टीमा पनि गइरहनु पर्छ,  दाइको भरमा छु भनेर हात मिलाएर जान्थ्यो । नारान दाइ पुराना, कहिल्यै यता उता गर्न नजानेका, पन्चायतको समयमा नोकरीमा पसेका कर्मचारी हुन । उनले अनुशासनमा बस्नु पर्छ, ठूलो हाकिमको कोठामा नबोलाई जान हुँदैन, हाकिमहरुको अदवमा रहनु पर्छ, नूनको सोझो गर्नु पर्छ, राजाको सिन्दूर पहिरेपछी त्यो सिन्दूरको मान पनि राख्नु पर्छ भन्ने जाने । हाकिमहरुको अगाडि मुख खेलाउने कुरा त कल्पना पनि गर्न सक्दैनथे उनी । तर यहाँ त नायव सुव्वा सोमनाथले सहसचिवको सातो उडाउँदै छ ! नारान दाइले यसो सोमनाथलाई हेरे, कता कता डर लागेजस्तो भयो, तर सोमनाथले काँध थपथपाउँदै सन्चै नारान दाइ ? भनेपछि मात्र सुरक्षित महसुस गरे दाइले ।

 

 

एघार बज्यो, तर सचिव आएनन । पीएले आएर भन्यो, श्रीमान सचिवज्यू माननीय मन्त्रीज्यूको कार्यकक्षमा हुनुहुन्छ, अझै आधा घण्टा लाग्छ । त्यति वेरसम्म साथीहरु यतै कालो चिया खाएर गफ गरे भयो नि, के काम पो छ र ! पीए यति भनेर हिंड्यो । सहसचिवहरु  साथीहरु कतै नजानुस है भन्दै उठे । सोमनाथ पनि ल है साथीहरु मेरो त काम छ, को यो झ्याउरे सचिवलाई कुरेर बस्छ ? भन्दै निस्क्यो । ऊ निस्केपछि देवेन्द्र चित्रकार खरिदार उठेर भाषण गर्न थाल्यो । साथीहरु यी सोमनाथ सुव्वा आफूलाई धेरै बाठो ठान्छन, हेर्नुस यिनका कुरा नपत्याउनु होला ।  यिनीहरु अर्कै सचिवलाई यस मन्त्रालयमा ल्याउन चाहन्थे । यो सचिव आएको यिनीहरुलाई मनै परेको छैन, त्यसैले विरोध गरेका हुन । हामी सवैले नयाँ सचिवलाई सहयोग गर्नु पर्छ, हावा कुरामा विश्वास नगर्नु होला साथीहरु । यहाँ एक एक सवैलाई चिनिएको छ, कसैले पनि फुर्ति नगरे हुन्छ ।

 

 

नारान दाइ चकित छन् आज । यो देवेन्द्र खरिदार त उनको छिमेकी केटो हो, यसले जागिर खाएको पनि पांच छ वर्ष मात्र भएको छ । सुरु नियुक्ति भएर आउँदा कति सोझो थियो, मलाई काम सिकाउनुहोस् है कका, म केही जान्दिन भन्थ्यो । अहिले त सवैलाई थर्काउने नेता भइसकेछ ! आज नारान दाइलाई आफ्नो निष्ठा, अनुशासन, समयापालन, इमान्दारी, कर्तव्यपालन र तटस्थता बेकार खेर गएजस्तो महसुस भयो, आफ्नो नोकरीले आफैलाई गिज्याएजस्तो लाग्यो, आफ्नो कर्तव्यपालनले खिसी गरेजस्तो भान भयो र आफैप्रति लघुताभाष भयो ।

 

 

नारान दाइ काठमाडौंका खाँटी नेवार हुन । यिनको परिवारमा यी बाहेक कोही पनि सरकारी नोकरीमा छैन । यिनको पुर्ख्यौली पेशा सानोतिनो व्यापार हो । बाजेको पालामा त अलि अलि खेतीपाती पनि थियो रे तर बाबु र काकाहरुले विस्तारै बेचेर खाए । नारान दाइ सानै हुँदा बा बिते, बा बित्दा यिनी सात वर्षका, भाइ पाँच र बहिनी तीन वर्षका थिए । सानासाना छोराछोरी छोडेर पति बितेपछि आमाले धेरै दुख पाइन् । जसोतसो दुकान चलाएर बच्चा हुर्काइन र पढाइन । बाबु बितेपछि सानै उमेर भए पनि नारान दाइको काँधमा ठूलो जिम्मेवारी आयो, जेठो बाठो छोरा भएको हुँदा कलिलै उमेरमा घरको कामको जिम्मेवारी लिने, दुकानको हेरचाह गर्ने, भाइ बहिनीलाई पढाउने, सिकाउने, खाना पकाउने र कपडा धुनेजस्ता काम सिके । कलिलै उमेरमा परेको पितृशोक र जेठो छोराको नाताले निर्वाह गर्नुपरेको जिम्मेवारीले गर्दा उनमा दुख सहने र परिश्रम गर्ने बानी पर्यो । आमाले यिनलाई सधै हेर बाबु तेरो बा अकालमा बित्नु भयो ।

 

 

धेरै सिकिस्त भएपछि म रोएको देखेर भन्नुभएको थियो, नारानकी मा अव म बाच्दिन । नारानले तिमीलाई माया गरेर राख्छ, तर यो हरीमानको भने मलाई उति विश्वास लाग्दैन । बच्चा ठूलो भएर कस्तो हुन्छ भन्ने कुरा सानै हुँदा थाहा हुन्छ । आमाले उनलाई सधै सत्य बोल्न, कसैलाई नठग्न, कसैलाई गाली गलोज नगर्न, सधै नम्र र शालीन हुन, चोरी नगर्न र धनको लोभ नगर्न सिकाइन् । त्यसै त शान्त स्वभावका र कलिलो उमेरमै बाबु गुमाएका नारान, झन् आमाको अर्ति उपदेश समेत थपिएपछि त अति सोझा भएर निस्के । यी रिस, डाह, लोभ र झगडाबाट सधै टाढै रहन्थे । उमेर बढ्दै जाँदा भाइ हरिमान बाठो, चलाख र फुर्तिलो हुँदै गयो । पन्ध्र सोह्र वर्षको उमेर भएपछि हरिमान स्कूल जान छाड्यो, दुकान कव्जा गर्यो र नारान दाइलाई भन्यो दाइ यो दुकान तिमीलाई नै जिम्मा दिइरहने हो भने त साँझ विहान खानको लागी पशुपतिमा भीख माग्न जानु पर्छ । नारान दाइ दुकान जान छाडे, घरमा भात पकाउने र सरसफाइ गर्ने काम गर्न थाले, तर स्कूल जान छाडेनन ।

 

 

नारानका एकजना फुपाजु भन्सार विभागमा टाइपिस्ट थिए । ज्यान बहादुर टाइपिस्ट भनेपछि अर्थ मन्त्रालय र भन्सार विभागमा नचिन्ने कोही थिएन । उनले अति छिटो टाइप गर्ने हुँदा जुनसुकै हाकिमले पनि उनलाई माया गर्थे र आफ्नो कार्यकालभरि संगै राख्थे । कति हाकिमले त आफू जुन अड्डामा सरुवा भयो ज्यान बहादुरलाई पनि सरुवा मिलाएर त्यहीं लैजान्थे । नारानले  एस एल सी गरेपछि आमाले मेरो जेठो छोरो साह्रै सोझो छ, के गरेर खाने होला भनेर ज्यान बहादुरसंग हारगुहार गरिन । ज्यान बहादुरले उनलाई टाइपिंग सिकाउने तालिम केन्द्रमा भर्ना गरिदिए । आफूले गर्नुपर्ने जुनसुकै काम निष्ठा र इमान्दारीसंग गर्ने हुँदा नारान दाइ तीन महिनामै राम्रो टाइपिस्ट बने । उनी प्रशासन व्यवस्था विभागले लिने छनौट परीक्षामा सफल भएर श्री ५ को सरकारको सेवामा प्रवेश गरे ।

 

 

आज नारान दाइलाई निद्रा लागेन । उनको मनमा आज अफिसमा भएको स्टाफ मिटिंगको समयमा सोमनाथ सुव्वा र देवेन्द्र खरदारले गरेको भाषणको सम्झना भयो । मिटिंगको समयमा सहसचिवको नमस्कार पनि नफर्काउने सचिवले देवेन्द्र खरदारसंग सवैको अगाडि हात मिलाएको र सोमनथजी खै भनेर सोधेको सम्झे उनले । सचिवले भाषणको सिलसिलामा सहसचिव र अन्य कर्मचारीलाई बारम्बार थर्काएको तर देवेन्द्र र सोमनाथाको नामै लिएर तपाईंहरुको अमूल्य सहयोगको अपेक्षा गरेको छु भनेको सम्झे । उनी सोच्दै छन् के मेरी आमाले सधै इमान्दार रहनु, अनुशासनमा बस्नु, लोभ नगर्नु, सरकारको नूनको सोझो गर्नु, आफूभन्दा ठूलाको सम्मान गर्नु, सभ्य, शालीन र भद्र हुनु भनेर मलाई दिएको उपदेश झूठो हो ? के मैले जागिर प्रवेश गर्ने बेलामा इमान धर्म सम्झी काम गर्नेछु भनेर खाएको कसम मिथ्या हो ? कर्मचारीले राजनीति गर्न हुन्न, कुनै पनि पार्टीको सदस्य बन्न हुन्न, आचरणमा बस्नु पर्छ, कर्मचारी जनताको सेवाको लागि हो भनेर तालिममा सिकेको कुरा बेकार हो ? उनले आफैसंग प्रश्न गरे यदि यो सवै झुठो हो भने साँचो के हो ?

 

 

नारान दाइले सरकारले दिने तलव भत्ता बाहेक आजसम्म बढी खाएको भनेको कालो चिया मात्र हो । आजसम्म एकदिन पनि आचरण विरुद्ध काम गरेका छैनन्, एक दिन पनि आफूलाई सुम्पेको काम बिगारेका छैनन्, आफ्नो जिम्माका फाइल व्यवस्थित रुपले खोजेको बखत भेट्टाउने गरी राखेका छन् । बरु कुनै कुनै बेला राखेको कागजपत्र कसले झिक्छ, कसले यताउता पार्छ, कसले फाइल गायव पारिदिन्छ उनले पत्तो पाउन सकेका छैनन् ।

 

 

नारान दाइ एक्काइस वर्षको हुँदा जागिरे भएका थिए । उनी बाइस वर्षको हुँदा आमाले अव तेरो बिहा गर्नुपर्छ भनेको अहिले जस्तै लाग्छ । तर उनको बिहाको सुरसार नहुँदै उन्नाइस वर्षको भाइ हरिमानाले केटी भगाएर ल्यायो । बाबु नभएको घर, आमाले पालेका केटाकेटी सवै कहाँ आमाको कावुमा बस्छन र ? एक आखर नसोधीकन केटी लिएर आयो, न आमाको डर न अविवाहित दाजुको लाज !  आमा र दाजु दुवै चुप लागे ।

 

 

एक दिन आमा पशुपति दर्शनको लागि जाँदै थिइन, गौशालामा बसबाट झर्दा अर्कोतर्फबाट आएको बसले किच्यो । आमाको एउटा खुटा काट्नु पर्यो । अव अपांग आमालाई स्याहार्ने जिम्मा  नारान दाइकै काँधमा आयो । अव कसले केटी मागिदिनु, कता बिहा हुनु ! दिन बिते, महिना बिते, वर्ष बिते, तर नारान दाइको बिहा भएन । एक दिन अफिसमा नविनाले जिस्क्याएर भनेकी थिई, यो नारान दाइले किन बिहा नगएको होला ? आफ्नो बेलामा निक्कै नक्कले हुनुहुन्थ्यो होला, दाइलाई जस्तो तस्तो केटी के मन पर्थ्यो ! आजसम्म पनि नारान दाइलाई सुहाउँदो केटी जन्मेनछ । अरुले पनि जिस्क्याउंथे, तर उनको बिहा सम्बन्धमा कसैले गम्भीरतापूर्वक कुरा गरेन । उनलाई पैंतालीस वर्षको उमेरसम्म त कसैले बिहाको प्रस्ताव लिएर आउँछ कि भनेर आशा लागिरह्यो, तर त्यसपछि भने माया मारे । भित्री मनमा उनलाई अझै पनि बिहा गर्ने इच्छा छ, बिहा गर्ने मन नहुने को होला ?

 

 

आज अफिसमा कर्मचारीहरुको भीड छ । कार्यालय समयमा शैयों शंख्यामा कर्मचारीहरु हल्ला गर्दै यता उता गर्दैछन् । आजै अफिस आउने बित्तिकै नारान दाइ आफैले “नेपलाको निजामती सेवा, असल शासन र जनताको सेवा” भन्ने ब्यानर अफिसको गेटैमा टाँसेका थिए । धेरैजसो कर्मचारी बाहिर निस्के पनि उनी बाहिर निस्केनन, आफ्नै काममा मग्न रहे । उनको फाँटमा अर्को एकजना कर्मचारी पनि बाहिर ननिस्केर उनीसंगै बसेको छ, ऊ हो जीवलाल फुंयाल । नारान दाइले सोधे के को भीरभार हो जीवलालजी ? जीवलाल – अव सवै कर्मचारी नेता बन्ने रे बुझ्नु भो ? मलाई पनि कहिले कुन कहिले कुन संगठनले सदस्यता लिनुस भन्छन । नारान दाइ – लिनु भयो त ? जीवलाल – लिएको छैन र लिन्न पनि । कर्मचारी नै नेता भएपछी देश कसरी चल्छ ? आफ्नो आस्था होला, हुनु पनि पर्छ, तर कर्मचारी को हो ? नेता बन्न जागिर खाएको हो ? यो तालले नेपालको विकास कहिल्यै हुन् बुझ्नु भो नारान दाइ ? यत्तिकैमा एकजना कर्मचारी आयो, ओहो नारान दाइ एक्लै भित्र बसेको ? कति काम मात्र गर्नुहुन्छ दाइ, कति ग्रेड थप पाउनु भयो ? कुन कुन पुरस्कार पाउनु भयो ? कि तक्मा पाउनु भयो ? ल लिनुस यो रसिद काटेको छु, हाम्रो सदस्यता लिनुस, नेता हुनुस नेता ! यस्तो झुम्रे तालले केही पाउनुहुन्न बुझ्नु भयो ? यहाँ जो बाठो भयो त्यसैले खायो ।

 

 

 

त्यो देवेन्द्र खरदार तपाईंको टोलको भाइ हैन ? सुरुमा तपाईंकै पछि पछि लुखुर लुखुर हिड्थ्यो हैन त ? तर अहिले हेर्नुस त ! ऊसंग सचिव डराउँछ, मन्त्रीले हात मिलाउंछ, मुख्य सचिवकहाँ चार जना सचिव उभिएर हात जोडिरहेका हुन्छन । तर देवे खरदार गयो भनें मुख्य सचिवले ओहो देवेनजी के छ मेलोमेसो ? भन्दै हात मिलाउछन् । ल लिनुस रसिद ! नारान दाइले जीवलालतिर हेर्छन, अनि त्यो कर्मचारी भन्छ ए नारान दाइ कसलाई हेर्दै हुनुहुन्छ ? यी अभागी जीवलाललाई ? बरा यी त कुवाका भ्यागुता हुन, यिनको बुद्धिमा लाग्नु भयो भने त तपाईं पनि त्यस्तै रहनुहुन्छ, जस्ता यी जीवलाल छन् । जीवलाललाई साह्रै रिस उठ्छ भन्छन, मलाई तपाईंहरुको खेलौना हुनु छैन, कार्यकर्ता हुनु छैन, तपाईंको मोहरा पनि हुनु छैन मलाई । के तपाईं सोच्नु भएको छ मैले बुद्धि सडकेर तपाईंको  रसिद नलिएको हुँ ? हैन साथी म पूरै होसमा छु, जाने बुझेरै तपाईं र तपाईंजस्ता अरुको पनि रसिद लिएको छैन र लिन्न पनि । हो म कुवाको भ्यागुता हुँ र म यही नै भएर बाँच्छु, तर तपाईंहरुको पुच्छर बन्दिन । मलाई थाहा छ रसिद लिए के हुन्छ, मलाई भाषण गर्न पनि आउँछ । दुईचार कुरा पढेको पनि छु, तर म बतासे कुरा गर्न र कर्मचारी भएर पार्टीको कार्यकर्ता बन्न सक्दिन, राजनीति थाहा छ, तर राजनीति गर्न मन लाग्दैन, मजबुर छु साथी । नारान दाइ एकोहोरो जीवलाललाई हेर्दैछन्, उनी चकित छन्, यो केही पनि नजान्ने जस्तो सोझो न सोझो काँठे जीवलाल त कति बिघ्न टाठो पो निस्क्यो !

 

 

एक दिन समयपालन, अनुशासन, इमान्दारी र आचरणको सम्बन्धमा छलफल गर्न सचिव समेतको उपस्थितिमा बैठक बस्दै थियो । बैठकमा कर्मचारी समयमा अफिस नआउने, हाजिर गरेर हिड्ने, सुपरीवेक्षकलाई नसोधी यता उता लाग्ने, अनुशासनको अभाव जस्ता विषयमा छलफल हुँदै थियो । सचिव भाषण गर्दै थिए : हेर्नुस साथीहरु, सम्माननीय प्रधानमन्त्रीज्यूको सख्त निर्देशन छ कि अनुशासनहीनता सह्य हुने छैन, हाम्रो बिभागीय मन्त्रीज्यूको पनि धेरै राम्रो काम गरेर देखाउने अभिलाषा छ, श्रीमान् मुख्य सचिवज्यू त कुन दिन निरीक्षण गर्न आउन बेर छैन, मैले भनेको छु, निरीक्षणको सिलसिलामा जसबाट अनुशासनहीनता भएको ठहर्छ उसको खैरियत हुने वाला छैन, म कसैलाई जोगाउने अवस्थामा हुने छैन । यत्तिकैमा सोमनाथ सुब्बाले भनिहाल्यो आजै ल्याउनुस तपाईंको जुम्सो मुख्य सचिवलाई र मलाई गयल गर्न भन्नुस, सक्नुहुन्छ ? सोमलालले यत्ति के भन्न भ्याएको थियो देवेन्द्र खरदारले टिपिहाल्यो, ओ सोमलाल सर बढ़ी नै भयो कि ? आफूले भनेको सचिव मुख्यसचिव नपाउने बित्तिकै यसरी दुई इन्च गहिरो खोइरो खन्नु त भएन है ! आफ्नो मौका मिल्दा त यहाँहरुको पनि देखिएकै हो क्यारे, पालो आइहाल्छ नि किन अत्तालिएको हो सर ! सचिवले बैठक सकिएको घोषणा गरे र सोमनाथ र देवेन्द्रलाई आफ्नो कार्यकक्षमा आउने अनुरोध गर्दै निस्के । नारान दाइ त के देख्छन भने सोमनाथ र देवेन्द्र आँखा झिम्क्याउँदै हात मिलाउंदै छन् ।

 

 

दुईचार् दिनपछि एकाएक सोमनाथ र देवेन्द्र दुवैको सरुवा भयो । अफिसमा हल्ला चल्यो सचिवले पेलेर दुवैलाई अन्यत्र सरुवा गर्यो । उनीहरु दुवै जनाले आफूले पेलाई खाएको हल्ला गर्दै हिंडे र सर्वसाधारण कर्मचारीले पनि त्यही बुझे । नारान दाईले पनि दुवैलाई सचिवले पेलेर ठेगान लगाएको भनेरै बुझे, तर जीवलालले पो भन्यो नारान दाइ यिनीहरुको भित्री इच्छा बमोजिम मागेकै अमुक अड्डामा सरुवा भएको हो, सचिवले पनि सधै यिनको हप्की दप्की खानुभन्दा मागेको ठाउँ नै दिएर पन्छाउन मनासिव ठानेको हो । यो यस्तो भाषा हो नारान दाइ जुन तपाईं जस्ताले कहिल्यै पनि बुझ्ने छैनन् ।

 

 

नारान दाइले हेर्दा हेर्दै निजामती सेवा कस्तोबाट कस्तो हुँदै गयो । कस्ता कस्ता हाकिम भोगियो, अहिले कस्ता आउंदै छन् । उनले आफ्नो सोझो मनले विचार गरे राजनीति पनि कस्तो, मन्त्री पनि कस्ता, मुख्यसचिव पनि कस्ता । उनले यसो गमेर विचार गरे त्यो देवेन्द्रको दोष छ ? त्यो सोमनाथाको दोष छ ? सचिवलाई ठाडठाडै हप्काउने र चुनौती दिने खरदार सुब्बाको दोष छ ? उनलाई लाग्यो यो खरदार सुब्बाको दोष हैन । दोष हो दुषित राजनीतिको, दोष हो लाछी , लोभी र हिम्मतहारा प्रशासकीय नेतृत्वको ।

 

 

आज नारान दाइले सोच्दै छन् अव त आमा पनि बित्नु भयो, आफू एकल पुरुष , भाइ  भतिजाहरुको भरमा बस्नु छ । हेर्दा हेर्दै समयले कसरी कोल्टो फेर्दै गयो । आफूले पेशा बनाएको नोकरीले पनि कुनै सन्तुष्टि दिन सकेन, अव त दिन दिनै दिक्क लाग्दो हुँदै छ । छत्तीस वर्ष भयो एक दिन पनि अनुशासन उल्लङ्घन गरिएन, होहल्ला, झैँ झगडा र राजनीति गरिएन तर कसले मतलव गर्यो ? कसले स्यावास भन्यो ? कसले प्रशंसा गर्यो, कसले तेरो के हालखवर छ भनेर सोध्यो ? राज्यबाट पाइने पुरस्कार, सहायता, राहत जे जो छन् सवै छट्टुहरुले सोहोरेर  लगे । राज्यले त इमान र निष्ठा चिनेन भने अरुले चिनेनन भनेर के गुनासो गर्नु ! आज उनी सोच्दै छन् कि म पनि राजनीति गरम ? कि सचिवलाई थर्काम ? कि हाजिर गरेर बाहिर हिंडम् ? कि पैसा कमाउन तिर लागम ? तर तुरुन्त उनको मनले भन्छ : नारान तँमा यस्तो कर्म गर्ने योग्यता पुग्दैन बुझिस ? तँ जे छस त्यही होस्, त्यही तेरो वास्तविकता हो । बचपनमा बा मरेदेखी तँमा विकास भएको साधु र सोझो मान्छे अव यो उमेरमा आएर मर्न सक्दैन नारान !

 

 

सरकारले स्वेच्छिक अवकाशको सूचना निकालेको छ । जागिर पनि लगभग एक वर्ष बाँकी छ,  स्वेच्छिक लिन आवश्यक पर्ने सवै शर्तहरु पूरा भएका छन् । धेरै आफूजस्तै अवस्थाका कर्मचारीले स्वेच्छिक लिने विचार गर्दै छन् । यी एक्ला सोझा नारान दाइले कोसंग सल्लाह लिनु । जीवलाललाई सोधे, उसले ठोस सल्लाह दिन सकेन, अरु धेरैसँग सम्पर्क नै थिएन, लेखा शाखामा सोधेको कसैले सुन्दै सुनेन । प्रशासनको उपसचिवले त के हो नारान दाइ स्वेच्छिक लिने, कुस्त गाँठ गोज्याउने र बिहा गरेर मोज गर्ने विचार आयो कि क्या हो ? भनेर हेला र उपहास गर्यो । अव जे भए पनि बूढेस कालमा बस्ने यी भाइ भातिजासंग हो, भाइलाई नै सोध्नु पर्यो भनेर भाइ र भतिजालाई संगै राखेर सल्लाह गरे । भाइले अवकाश लिएर सातवर्षे पेन्सन एकमुस्ट लिने, त्यो पैसा जग्गामा हाल्ने योजना सुनायो । भाइ हरिले भन्यो तपाईंकै नाममा जग्गापास गर्ने हो प्रशस्त भाउ बढ्छ । नारान दाइलाई भाइको प्रस्ताव मन पर्यो । उनले छत्तीस वर्ष चानचुन महिना काम गरेर नेपाल सरकारको सेवाबाट अवकाश लिए, त्यही पैसाले ताथलीमा एक रोपनी जग्गा पास भयो ।

 

 

सेवाबाट अवकाश लिएपछि नारान दाइको दिन कटाउने मेलो केही थिएन । उनी यति एकोहोरो भएका थिए, न दुकानमा बस्न सक्थे, न घरको कुनै धन्दा गर्ने ताकत थियो, न त आँट र ढंग नै । जागिर अवधिभर अफिस आयो काम गर्यो, बेलुका सरासर घर गयो, जे दिन्छन, जस्तो दिन्छन, जति दिन्छन खायो गरेर जागिरे जीवन बित्यो । तलव पाउने बित्तिकै सत्तरी प्रतिशत भाइ बुहारीलाई बुझाउने, बाँकी तीस प्रतिशले चिया चुरोट खाने गर्थे । उनको दिनचर्या थियो चौध इन्चको सानो टीभी हेर्ने, भात खाएपछि सुत्ने, बिहान आठ बजे बुहारीले जे दिएको खाने र अफिस लाग्ने । उनी चुप लागेर बस्थे । घरमा कहिलेकाहीं पाहुना आएको बेलामा थोरै मात्र बोल्ने र चाडवाडमा दिए भने थोरै ऐला खाने गर्थे । उनले कहिल्यै पनि मलाई यो खान मन लाग्यो, मलाई भोक लाग्यो भनेनन् । उनी मनमनै सोच्थे मेरो भोक लाग्यो भन्ने, आफ्नो मनको मीठो चोखो खाने र आफ्नो इच्छामा चल्ने भाग्यमा भएको भए त यस्तो एकल र अभागी जिन्दगानी बिताउनै पर्दैनथ्यो । यो जन्ममा मेरो जिम्मेवारी नै पूर्व जन्मको पाप कटाउनु र संचित दुखको भुक्तान गर्नु रहेछ ।

 

 

अवकाश भए पनि उनी अफिस जान छोडेनन् । उनी सज्जन मान्छे, पुराना फाइल र अभिलेख सजिलै भेट्टाउने हुँदा साथीहरुले माया नै गर्थे, एक दुई कप कालो चिया खान दिन्थे, खुकुरी चुरोट उनी आफै किनेर खान्थे । उनले सात वर्षको एकमुस्ट पेन्सन लिएको हुँदा महिनावारी पेन्सन पाउने कुरा भएन । जोगाएको थोरै पैसा लगभग एक वर्षमा सकियो । उनी सकभर त माग्दैनथे तर भीमसेनथानको पिपलको रुखमुनिको पसलको तातो एक कप चिया र दुई चार खिल्ली चुरोट नभई नहुने । बुहारीसंग शय रुपियाँ माग्यो भने दश थरी कुरा सुनाएर पचास रुपियाँ दिन थालिन । चुपचाप कुनै हिसाव नमागी, कुनै सुविधा नमागी, कुनै माया ममता र सम्मानको आशा नगरी जीवनभर भाइ बुहारीलाई आफ्नो तलव ल्याएर बुझाएका बुढा आज माग्नेजस्तो भएका छन् र हेलाको जीवन गुजार्दै छन् । धन्न अफिस जान्छन, एउटा छेउँमा बस्छन, गफ सुन्छन र दिन गुजार्छन् । तर उनले चिनेका र उनलाई माया गरेर बस्न दिने  र बोल्ने मान्छे भनेका उनले बाइस चौबीस वर्ष काम गरेको कोठामा काम गर्ने सीमित कर्मचारी हुन । ’em पनि कोही सरुवा भएर जाने र कोही अवकाश हुँदा हुँदा उनले चिनेको साथी त अव एकजना जीवलाल फुँयाल मात्र बाँकी छ ।

 

 

उनको नाममा कुनै पुर्ख्यौली सम्पती छैन । आमा बित्ने बित्तिकै भाइले घर आफ्नो नाममा गराइहाल्यो । सानो टुक्रा जग्गा टोखामा थियो, त्यो पनि दाइ ऋण लाग्यो, बच्चा पढाउन गाह्रो भयो भनेर भाइले बेच्यो । उनलाई अरुले त सोधेनन तर जीवलालले सातवर्षे पेन्सन केमा खर्च गर्नुभयो भनेर सोधेको थियो । उनले ताथलीमा एक रोपनी जग्गा किनेको छ भनेपछि जीवलालले भनेको थियो बधाई छ नारान दाइ, त्यताको आनाको साठी हजार पर्ने जग्गाको भाउ अहिले   तीन लाख पुगिसक्यो रे । एक डेढ वर्षमै चार पाँच गुणा भाउ बढेर कोही मालामाल भए, बेच्नेहरु पछुतो मान्दै छन् । नारान दाइको मनमा लाग्यो, अव त्यो जग्गा बेचेर आधा पैसा भाइलाई दिनुपर्यो, आधा बैंकमा मुद्धतीमा राखेर चिया चुरोट र आफ्नो व्यक्तिगत खर्च चलाउन  पर्यो । उनले भाइलाई यो योजना सुनाए । भाइले एकछिन सोचेर भन्यो किन बेच्नु पर्यो दाइ, जग्गा हो अझै मूल्य बढ्छ, दुई वर्षमा अहिलेको डवल हुन्छ । बैंकको व्याज कति हुन्छ र ? डवल हुन दश वर्ष लाग्छ । नारान दाइले भने हेर भाइ मलाई पनि तिमीहरुसंग मागिरहनु पर्ने, थोरै थोरै भए पनि छत्तीस वर्षसम्म महिना महिनामा बुझ्ने बानी परेको, साह्रै गाह्रो भएको छ दुख नमान, बरु शयकडा सत्तरी तैले राख, कतैतिर जग्गा किन, जग्गा तेरै नाममा राख, शयकडा तीस म बैंकमा राख्छु, त्यसैबाट मेरो चिया चुरोट चल्छ । तर भाइले हुन्छ सल्लाह गरम्ला भनेर टार्दै गयो ।

 

 

एक दिन उनले जीवलालसंग सवै कुरा भने । जीवलालले भन्यो, तपाईंलाई कित्ता नम्बर थाहा  छ ? नारान दाइले कसो कसो कित्ता नम्बर याद गरेका रहेछन । जीवलालले मालपोतबाट जग्गाको लालपूर्जाको प्रतिलिपि लिने र गग्गा बेच्ने सल्लाह दियो । त्यसको एक महिनापछि उनी कस्सिएर मालपोत कार्यालय भक्तपुर गए । छत्तीस वर्षसम्म निजामती सेवामा काम गरेको भए तापनि आफ्नो काम बाहेक कुनै कुरामा चेष्टा नभएका नारान दाइले कसैलाई चिन्ने कुरा भएन ।  उनलाई एउटा दलालले समात्यो, आउनुको कारण सोध्यो । नारान दाईले आउनुको उद्देश्य बताएपछि दलालले ल ल बाजे जग्गा बिकेपछि बिचार गर्नु पर्छ है, भन्दै अफिसको अभिलेख हेर्ने भन्दै गयो । आधा घण्टापछि आएर उसले भन्यो, यो जग्गा त एक्काइस महिना अघि एकजना हरिमान भन्ने व्यक्तिको नाममा पास भएको र त्यसको चार महिनापछि अर्कै मान्छेको नाममा गएको देखियो । नारान दाइ छाँगाबाट खसेजस्तो भए । उनको पूरा शरीर एक मिनेटमै पसिनाले निथ्रुक्क भिज्यो । उनले भने मेरो नाममा पास भएको हो, मैले सही पनि गरेको छु पास गर्दा । दलालले भन्यो हो तपाइंले सही त गर्नु भएको रहेछ, तर साक्षीमा । हेर्नुस बाजे यो कलि युग हो, आफ्नो भाइ छोरा भनेर कहाँ हुन्छ ? कहाँ लगेर जाक्छन केही भर हुँदैन । नारान दाइलाई सही गरेको सम्झना छ, तर आफ्नै भाइले ठगेको के थाहा, आफ्नैले आफ्नो रगत चुसेको के थाहा !

 

 

नारान दाइ स्वाँ स्वाँ गर्दै सिंहदरवार छिरे । अव कहाँ भन्ने, कसलाई भन्ने ? के गर्ने, कहाँ जाने ? अव जीवन कसरी बिताउने ? कसको विश्वास र सहारामा कहाँ गएर बस्ने ? मनभरि  प्रश्नै प्रश्न छन्, तर एउटा प्रश्नको पनि उत्तर छैन । उनले उही जीवलाललाई सम्झे, उनको कुरा सुन्ने, अलिकता सहानुभूति राख्ने र हिम्मत दिने सिंहदरवारमा ऊ बाहेक कोही छैन । उनी सरासर जीवलाल बस्ने ठाउँमा गए, तर त्यहाँ जीवलाल थिएन । नविनाले भनी नारान दाइले जीवलाल सरलाई खोज्नु भएको होला, उहाँ त सरुवा भएर हिजै रामेछाप जानु भयो । नारान दाई केही नबोली फरक्क फर्के र सरासर सिंहदरवारबाट बाहिर निस्के । त्यसपछि नारान दाइ सिंहदरवारमा देखिएका छैनन् ।