MENU
भोलीको पर्खाइमा
 : [views]
  Dec 31, 2017

 

राम्ररी कुरा नहुदासम्म उसलाई मैले अन्य अफ्रिकी मूलका अमेरिकीका सरह सोँचेको थिए । तर त्यस दिन एकै छिनको कुराकानीमा उसमा केही विशेषताहरू भएको मैले महसुस गरेको थिए ।

 

नाम टामस ठूलो भिमकाय शरिरको मालिक, उसका ठूला ठूला राता आँखालाई हेर्दा उ रक्सीको नशामा मातेको हो की भन्ने भान मलाई भएको थियो ।

 

‘हो म मातेको छु, तर इश्वर भक्तिमा ! केही वेरको कुराकानीपछि मैले उ प्रति आफूमा आएको विचार वताएपछि उसले अट्टहास गर्दै भनेको थियो । अनी लोलाएका जस्ता आँखालाई म तिर फर्काउदै भन्यो–म कस्तो देखिनु र तिम्रो सोँच कस्तो हुनु त्यो पनि इश्वरकै देन हो ।

 

उ सेवानिवृत अमेरिकी फौजी थियो । दिनहू नाडीमा फेरेर लगाउने महंगा ब्राण्डका घडी र पोसाकले उसँग पैसाको कुनै कमी नभएको स्पष्ट पारेको थियो ।

 

आफ्नो पोसाकमा निकै ध्यान दिन्थ्यो उ फेसन प्रति पूर्ण रुपमा सजग थियो । धेरै जसो सुटमा सजिएर घाँटीमा गलवन्दी अनी टाउकोमा ह्याट लगाएर हिड्दा भने उसको व्यक्तित्व गजबको देखिने गथ्र्यो ।
एक पटक मैले ठट्टामा भनेको पनि थिए–तिमी त धेरै जसो मैले कथामा पढ्दा कल्पना गर्ने सर्लक होम्स जस्तो देखिन्छौ त ।

 

मेरो कुरा सुनेपछि उ निकै वेर हासेको थियो । उसको चिनजान कतिसम्मको थियो भने पाँच मिनट पनि एकै स्थानमा उभिदा उसले लगभग १५–२० जना वाटा हिड्नेसँग हाइ, हेल्लो साटासाट गर्न भ्याउथ्यो ।

 

विभिन्न विषय, क्षेत्रमा उसको ज्ञान, उसको अभिव्यक्तिको शैली गजबको थियो । धेरै जसा दार्शनीक पारामा गफ चुट्न रुचाउने उ निकै अहिंशावादी कुरा गथ्र्यो ।

 

भन्थ्यो–आज जे काम गर्ने निर्णय गछौँ त्यो भोलीलाई ध्यानमा राखेर गर । अर्थात हामी सबै भोलीको पर्खाइमा छौँ भन्ने नविर्स ।

 

धेरै पटक यस्तो सुनेपछि एक दिन मैले पनि ठट्टा गरे जस्तो गरेर सोधेको थिए–तिमिलाई कसैले गाली ग¥यो अथवा नोक्सान पु¥यायो भने के गर्छौ ?

 

उसले तत्काल जवाफ फर्काएको थियो–गाली पनि फर्काउदिन अनी नोक्सान पनि पु¥याउदिन । इश्वरले उसलाई त्यस्तो र मलाई यस्तो वनाएको हो, जे गर्नु छ इश्वरले गर्छ म को हूँ र ? त्यसमाथि मैले आज उसलाई रिसको झोँकमा नोक्सान पु¥याउ भोली उसको हृदय परिवर्तन भएर सज्जन भयो भने ? अनी त मलाई नै ग्लानी हुदैन ? त्यसैले म त आज जे काम गर्द पनि भोलीको पर्खाइमा भएको तथ्यलाई विर्सिदिन ।

 

तर उसका वारेमा जानकारी पाउदै गर्दा मलाई एउटा हिन्दी गजलको सम्झना आएको थियो । जसको नेपाली अर्थ हुन्थ्यो–तिमी यति यसरी मुस्कुराइ रहेछौ, कस्तो दुख हो  जसलाई लुकाइ रहेछौँ ।

 

‘मेरो सम्पत्ति भनेकै मेरी छोरी हो ।’ अमेरिकाको एउटा नाम चलेको विश्वविद्यालयमा इन्जिनियरिङ पढी रहेकी आफ्नी छोरीका वारेमा उसले भनेको थियो । हुन त अरु कुरा सकेपछि उसको कुराको विषय नै छोरी हुने गथ्र्यो । छोरीलाई यो मन पर्छ, छोरीलाई यो मन पर्दैन । अर्को पटक आउदा छोरीलाई यस्तो सरप्राइज गिफ्ट दिन्छु । पछिल्लो पटक उसको यो सोख पुरा गर्न सकिन आदी इत्यादी ।

 

उसको दुख भनेको नै उसको एकल जीवन थियो, जुन पछिल्लो २० वर्ष देखि उसले विताइ रहेको थियो ।

 

‘श्रीमतीसँग त्यस्तै भयो र अलग्गीने निर्णय ग¥यौँ ।’ उसले एक पटक त्यति भनेर निकै गम्भिर भएको थियो । उसका आँखा पनि रसाएको जस्तो लागेको थियो मलाई । अनी एक्कासी ठूलो हाँसो हास्दै भन्यो–सधै कचकच झगडा हुने के ! अनी वरु वेग्लै वसे ठिक भनेर पारपाचुके गरेको नी ।

 

‘अनी अर्को विहे किन नगरेको त ? अहिले छोरी पढ्न अर्को सरहमा गएको वेला एक्लोपन त हुदैन थियो नी !

 

मेरो प्रश्न सुनेर उ केही वेर अली घोत्लीए जस्तो ग¥यो र आफ्नो टाउकोलाई दाँयाँ वाँयाँ हल्लाउदै भन्यो–मेरो जीवनमा उनी वाहेक अरु महिलाका बारेमा म सोँच्न पनि सक्दिन । हो, हामी अलग छौँ तर सम्बन्ध भने खराब छैन ।

 

त्यसपछि उसले भनेका कुरा मलाई सुरुमा निकै अविश्वसनीय लागेका थिए ।
हो, उ अझ पनि एकल जीवन विताइ रहेको छ । उ मात्र होइन उसकी श्रीमती पनि एकल जीवन नै विताइ रहेको उसले भन्यो ।

 

‘के गर्ने मायाँ लाग्छ उसैको । तिमिलाई थाहा छ, उसलाई मैले पकाएको खाना निकै मन पर्छ नी ! त्यसैले वेला वेलामा म डिनर पकाएर लैजान्छु उसका लागि । आज पनि त्यसैका लागि तरकारी र मासु किन्न हिडेको ।’

 

त्यति मात्र होइन उ नभएको वेला उसकी पूर्व श्रीमती उसको घरमा आएर घर मिलाइ दिने, सफा गरि दिने गर्दी रैछन् ।

 

उसका यी कुरा सुनेर मलाई अचम्म लागेर आयो र सोधेँको पनि थिए–दुबैले एक अर्कालाई यतिका मायाँ गर्दो रहेछौ किन फेरीसँगै वस्दैनौ त ?

 

जवाफ उसले भनेको थियो–सँगै वस्यो भने फेरी उही कचकच त हो नी ! तर पनि मैले धेरै पटक यो प्रस्ताव राखेको हूँ उसले मानिन ।

 

लगभग सातामा दुई पटक श्रीमतीको घरमा डिनर वोकेर जाने, छोरीको वारेमा हरेक कुराको जानकारी श्रीमतीलाई गराउने अनी श्रीमती पनि वेला वेला लोग्नेको घर आएर घरको हेर विचार गरिदिने तर वास्तविकतामा भने पारपाचुके गरिसकेका ।

 

उसका यस्ता कुरा सुनेर मलाई अचम्म लागेको थियो । अझ गत वर्ष उ विरामी पर्दा उसकी पूर्व श्रीमती घरमै आएर लगभग एक सातासम्म सेवा टहल गरेर फर्केकी रे !

 

उसकी छोरीकी आमा र उ छिमेकी रे अनी लगभग दश वर्षको उमेर छँदा नै उसले मन पराउन थालेको रे ।

 

‘उसलाई फकाउन कम्ति मिहिनेत गरिन मैले । उसले एक दिन कुरैकुरामा भन्यो । सुरुमा त वाल नै नदिने नी मलाई । पछि गएर वल्ल वोल्न थाली अनी एक दिन डराउदै प्रस्ताव राखेँ । निकै नाटक पो गरी हो हुन्छ भन्नु भन्दा पहिले ! उसले ठूलो हासोका साथ आफ्नो कुरा पुरा ग¥यो ।

 

‘राम्री त उ त्यसै पनि छे, तर मलाई उ कुन वेला धेरै राम्री लाग्छे थाहा छ ?’ उसले भन्यो–जव वेलुका डाइनिङ टेवलमा वसेर मैले पकाएको डिनर मिठो मानेर खान्छे नी, हो त्यति वेला उ मलाई संसारकी सबैभन्दा सुन्दर महिला लाग्छे । खाने वेलामा उ अवोध वालिका जस्तै देखिने भन्दै उसले आफ्नो भनाइ पुरा ग¥यो ।

 

आफूहरूको सम्बन्ध अहिले निकै मित्रवत रहेको बताउदै उसले भन्यो–आखिर तिक्तता किन ल्याउने ? उनले नै हो मलाई सानी परी जस्ती छोरी दिएको ! अनी भोली के हुन्छ के थाहा ? आखिर भोलीलाई पर्खिन त परि हाल्यो नी हैन ! त्यति भनेर उ एक पटक मस्त हास्यो । हास्दा हास्दै उसको आँखा रसाएका थिए अथवा आफ्ना रसाएका आँखालाई ढाक्न उसले हासोको सहारा लिएको थियो ।

 

 

Comments

NIC Asia