MENU
अनुगमन टोलीलाई नै थुने कालिमाटीका तरकारी व्यापारी र विचौलियाले
 : [views]
  Aug 20, 2018

काठमाडौँ, ४ भदौ : कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारी र विचौलियाले थुनेका छन् ।

सोमबार बिहान बजार अनुगमन गर्न गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारी र विचौलियाले थुनेका हुन्। अनुगमनको बिरोध गर्दै उनीहरुले घेरा हालेपछि टोली लामो समय कालिमाटी बजारभित्रै थुनिएको थियो । टोली भित्र भएको बेला घेरा हालेका व्यापारी र विचौलियाले गेटमा समेत धर्ना दिएर नाराबाजी गर्दै निस्कन दिएनन् ।

 

अनुगमन टोलीका सदस्य माधव तिमल्सिनाका अनुसार व्यापारी विरोधमा उत्रिएपछि टोली कालिमाटी बजार विकास समितिको कार्यालयमा ढोका थुनेर बसेको हो । थप प्रहरी बल पुगेपछि अनुगमन टोली बाहिर निस्किएको थियो । आफूहरु घेराबन्दीमा परेको र असुरक्षा भएको भन्दै टोलीले कृषि मन्त्री र प्रहरीलाई खबर गरेका थियो ।

 

आज बिहान ३ बजे नै आनुगमन टोली कालिमाटी पुगेको थियो । टोलीले बिलबिजक नभएका २ वटा ट्रक नियन्त्रणमा लिएको थियो । सरकारी टोलीले काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि दुबै गाडीलाई नियन्त्रणमा लिएको थियो।

 

तरकारी उत्पादन हुने क्षेत्रमा अनुगमन गरेर फर्किएको टोलीले काठमाडौं आइपुग्दा त्यसको मूल्य तेब्बरभन्दा बढी भएको निश्कर्ष निकालेपछि अनुगमनको योजना बनाएको थियो । तर, व्यापारीले बिल दिनुको साटो सरकारी टोली नै लखेटे ।

 

बाराबाट आएको गाडीसहित चालक प्रहरी नियन्त्रणमा छन्। तर ललितपुरबाट आएको गाडीका चालक फरार भएका प्रहरीले जनाएको छ।

 

अहिले कृषि विकासमन्त्री चक्रपाणि खनाल, सचिव युवकध्वयज जिसी, विभागका महानिर्देशक लगायतका उच्च सरकारी अधिकारी तरकारी बजार पुगेका छन् । ब्यापारीहरुले बजारको गेट बन्द गरेर अनुगमनको बिरोध गरिरहेका छन् ।

 

कालीमाटीका व्यापारीले सरकारी अनुगमन टोलीलाई पटक पटक अबरोध गर्दै आएका छन्। तरकारीमा विचौलिया हाबी हुँदा देशैभरीका तरकारी किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्।

Comments

NIC Asia