कुमुदका कविता

-कुमुद शर्मा
हिजोआजका कुरा
एकता हुन्छ ।
हुन्छ ! हुन्छ !
पक्कै हुन्छ !
हुनैपर्छ !
नहुने कुरै छैन !
नभई धरै छैन !
गरेरै छाड्छन् !
हुन सक्छ !
सम्भवछ !
प्रायः कुरा मिलिसक्याछ रे !
अझै केही कुरा मिल्न बाँकी छ रे !
यसै भन्न सकिन्न रे !
गर्न दिदैनन् रे !
मूलभूत कुरानै तेत्तिकै छ रे !
अडान कायम छ रे !
लचकता अपनाउन पर्यो रे !
गृहकार्य पुगेन रे !
साइत जुरेन रे !
शब्दमा विदेशीलाई आपत्ति भो रे !
त्यो आपत्तिनै उनको सम्पत्ति हो रे !
खै ! मिल्ला जस्तो छैन रे !
अहिलेलाई टर्यो रे !
अलि पर सर्यो रे !
कुरा सरल छ रे !
कुरा तरल छ रे !
हुनत हुन्छ, तर कहिले थाहा छैन रे !
रातभरिमा अग्राख पलाउँछ रे !
कुरो नमिल्ने भैसक्यो रे !
भए पनि टिक्दैन रे !
मिलेत हुने हो, तर खै,रे !
कसैको साँठगाँठको कुरा छ रे !
कसैको बिल्लिबाठको कुरा छ रे !
अरूको आँखा लाग्याछ रे !
असाध्यै दबाब छ रे !
त्यसैले तनाब छ रे !
प्रकृया जारि रहने रे !
हतारमा नगर्ने रे !
गर्ने भनेको दिन नगर्ने रे !
नभनेको दिन गर्ने रे !
एक ठूलो सरप्राइज झर्ने रे !मान्छे
‘हार’ को माला क्यै गरेनि लाउँदै नलाउने रे
सुनको ‘बाला’ पनि अहँ चाहिदै चाहिदैन रे
कति ज्ञानी असलअनि सन्तोकी यी कस्ता
काशीतिर छाडी खोज्न कुत्ती जाउँ जस्ता ।
फेवाताल
परै सम्मन् जाने गर्थ्यो फेवातालको छाल
मरीच सरि भएकोछ अहिले तेसको हाल
ताल दर्ता गरी खल्ती भर्छन् हाम्रा माल
कप्पाकपै भैसक्याथ्यो बच्यो बाल बाल ।
सांसद कोष
बाजे सांसद दस करोड तयार छन् गन्न
ड्याडी सांसद पचासलाख भ्याइसके भन्न
लोकतन्त्र रहेछ केवल कुम्ल्याउने टन्न
नाति सांसद अहिलेसम्म बेखवर छन् धन्न ।
प्रमाणपत्र
पारिबाट सिमा मिच्दै वारि आउन थाले
बाले यता सुसंबन्धको गीत गाउन थाले
सफेेराको प्रमाण-पत्र बोकी ल्याएकि त
बेथा एउटा अौषधिचैं अर्कै दल्छन् यीत ।
रहस्य
पार्टीहरूको सभामाछ मानिसको लर्को
पूर्व- राजाकोमा पनि त्यत्तिकै छ चर्को
घटिबढी होलान् तर लागेकै छन् ओइरो
सामान्यचैं होइन कुरा असाध्यैछ गहिरो ।

