प्रतोलीको बगरमा

 

ओहो ! सबको आँखामा एउटा प्रतीक्षा छ । एउटा व्यापक उत्सुकता छ । पट्याई कसैलाई छैन – यस्तो तप्त घाममा पनि । सडकको पुछारमा अझै केही देखिएको छैन । नेपथ्यमा कुने सङ्केत छैन । भीडमा उभिने मान्छे थपिंदै छन् । चलहल गर्ने ठाउँ झन झन कम हुँदो छ ।

 

-ध्रुव मधिकर्मी

 

सुनेर म शहरतिर झरेँ ।

खबर ल्याइयो अर्थात् फैलियो कि शहरमा केही ठूलो कुरा हुन गइरहेछ । एकदम महत्वपूर्ण तथा गौरवपूर्ण । सुनेर मन एकतमासले व्यग्र भयो । आँखाभरि उत्सुकता र अनौठो खालको रहस्य भरिन थाल्यो । छिटो शहर पुगेर त्यसको दर्शन गर्न हतारियो । जेहोस् त्यस्तो केही हुन गइरहेछ । साथमा यो कुरा पनि फैलिएको थियो – त्यसले व्यापकतालाई प्रभाव पार्नेछ । कसरी ? यो पछिको कुरो हो । उक्त खबर एक कान दुई कान मैदानभन्दा यति वेगपूर्वक बडो ताज्जुपलाग्दो ढङ्गसँग चल्यो कि धेरै दिनसम्म मान्छेहरु हो न होको अन्यौल र किंकत्र्तव्यविमूढको स्थितिमा अडिरहे । खासमा कुरा के हो ? त्यो कुनै ठोस वस्तुको रुपमा अवतरित हुन सकेन । तर त्यसले केही न केही हुने आशा र भरोसाको आकार भने अनेक रुपमा निर्माण गर्न थाल्यो । हुन सक्छ यो कसैको ठट्यौलो कार्य होस् ।

कुनै विशिष्ट व्यक्तिको विशेष प्रकारको बिहासिहा पो हो कि ? जुन धूमधामसँग सबलाई थाहा दिने तवरले गर्न खोजिएको होस् । धेरै समयसम्म कुनै ठूलो उपलब्धिपूर्ण कार्य गरेवापत अमरताको परिणाम वर्षेनी मनाइने समारोह वा त्यस्तै कुनै रथारोहणपश्चात् शहर–परिक्रमाका कार्यक्रम पो छ कि ? अथवा कुनै विशेष बाहिरियाको देशीय आगमन हो कि ? परिदृश्य या घटनासँग साक्षात्कार नभएसम्म यो एउटा रहस्यकै विषय हुने भयो । हुनसक्छ त्यो कुनै त्यस्तो देउता वा महान सन्त होस् जसको वरदानले , आशीर्वादले चिताएको कुरा पुरा होस् । यी त्यस्ता कुराहरु हुन् जसले मान्छेको मुटुमाथि अनन्तसम्म चिर प्रभाव जमाइरहन्छ । गाउँघरसम्म त्यस्ता कुराहरु आउन वा दृश्यावलोकन गर्न गाहारो हुन्छ कारण एक त गाउँको बाटो विकट हुन्छ । त्यसमाथि गाउँघरमा कुनै पनि सानोतिनो कुराको समेत अभाव हुन्छ ।

००

 

केही ठूलो घटना अवश्य हुँदैछ ।
कुरो साँच्चिकै सत्य रहेछ । नत्र यत्रोविधि चर्चा र चहलपहल किन हुन्थ्यो ? किन मान्छेहरु त्यसका लागि सात समुद्र पार तरेर आउँथे । डाँडा–काँडा, पहाड–पर्वत, खोला–नाला जंघार तरेर किन झर्थे – शहरतिर । मनभित्र ठूलो धोको बोकेर, रहर च्यापेर । ती सबमा केवल त्यही एउटा कुरा सर्वाधिक चलिरहेछ । तर कुरा भने अझै अमूर्तताको खोलभित्र लुकिरहेछ । यथार्थ के हो भन्ने’bout मान्छेहरु अझै अनभिज्ञ नै छन् । वास्तवमा मान्छेहरु त्यो अस्पृश्य वस्तुको सम्बन्धमा प्रत्यक्ष देखादेख हुनु अगाडि नै थाहा पाउन चाहन्थे । सबमा एउटा त्यही उत्सुकता व्याप्त थियो ।

– तपाइँलाई थाहा छ ?
– थाहा पाएर त आको नि ।
– भन्नुस् त ?
– त्यो त त्यहाँ पुगेर देखेपछि पो थाहा हुन्छ ।
– तैपनि केही अनुमान …
– त्यस्तो कुरा कहाँ अगाडि थाहा हुन्छ र ? सानोतिनो कुरा हो र त्यो ।
म भने त्यस्तो किसिमको उत्कण्ठा, जिज्ञासालाई बलजफ्ती काखीमा कोचेर लमलमती हिँड्न थालिरहेँ – शहरका सडक र बजारको चहलपहललाई हेर्दै । यहाँ पनि अघिपछिका रमझम चहलपहललाई चटक्क छोडेर सब त्यस अमूर्तताको ब्यूहभित्र बन्द एउटा ठोस वस्तुलाई आ–आफ्ना प्रकारले मूर्तरुपमा खुट्याउन तल्लीन छन् । जस्तो कि त्यो एउटा जीवनको महत्वपूर्ण पक्षसँग अति निकटतम सम्बन्ध राख्ने तत्व होस् । मान्छेहरुमा जात्रा अथवा कुनै चाडपर्वमा हुने जस्तो उत्सुकता हर्ष तरङ्गित भइरहेछन् । सन्दर्भ – त्यही तारोलाई लिएर चर्चा–परिचर्चा, वाद–विवाद, तर्क– वितर्क जमिरहेछ । ’emका एक–एक कुराले मनभित्र डुबुल्की मारिरहेका अनौठा रहरलाग्दा गोप्य सुखानुभूतिलाई प्रष्ट पारिरहेछ ।

दुई किनारमा बसेर लस्कर मान्छेहरु प्रतीक्षारत छन् । म त्यस्तो ठाउँको खोजीमा छु जहाँबाट म आफ्ना इच्छा–चाहना यथार्थमा स्पष्टतः बदलिएको पाउँ । यहाँ पनि मान्छेहरु केबल त्यही एउटा कुरा चलाइरहेछन् – कहिले अगलको मान्छेसँग त कहिले बगलको मान्छेसँग । तर म भने पाइलैपिच्छे शहर पस्नु अगाडिका एक–एक बेहोराहरु झलझली सम्झिरहेछु ।

गएर म पनि एक छेउमा चुपचाप उभिन पुगेँ । घाम छ प्रशस्त । लम्बिएर डङ्गरङ्ग पल्टिएको सडक घामले दनदन तातिएको छ, जसबाट पनि गर्मी परार्वतन भइरहेछ । यो मूल सडक विशेषरुपले आज सफा देखिन्छ । यसैले यहाँ कसैलाई पनि ओर्लन दिइएको छैन । यसर्थ भीडमा मान्छेलाई चलहल गर्न किञ्चित ठाउँको समेत अभाव रहन गयो । न कसैलाई आर पार नै गर्न दिइयो । तर अभीष्ट वस्तुको भने अझै अत्तोपत्तो छैन । मलाई भने हतार भइरहेछ । घरमा मेरा बाबु औषधिको उत्कट प्रतीक्षामा होलान् । विश्वासलाई गाँठो पारेर मीठो स्वप्नमा सोच्दै होलान् – छोरो शहरबाट अवश्य पनि ती इच्छित वस्तुहरुको साथ फर्कनेछ । अज्ञात रोगको यातनामा आफ्नो पीडालाई बिर्सदै आगत समयतर्फ टुलुटुलु हेर्दै होलान् । धेरै समयदेखि मेरो बाबु के हो के हो रोगले थला पर्नुभएको छ । कमजोरीले सुकेर हाडछालाको ढाँचा मात्र बाँकी छ । धामी– झाँक्रीले पनि उही आफ्नो पुरानै परम्पराभन्दा पर केही नयाँ भन्न सकेनन् । फलतः घरको हालत दयनीय तथा खेत पनि लथालिङ्ग छ । त्यसैले मलाई उक्त रोगको औषधि पाउनु छ ।

ओहो ! सबको आँखामा एउटा प्रतीक्षा छ । एउटा व्यापक उत्सुकता छ । पट्याई कसैलाई छैन – यस्तो तप्त घाममा पनि । सडकको पुछारमा अझै केही देखिएको छैन । नेपथ्यमा कुने सङ्केत छैन । भीडमा उभिने मान्छे थपिंदै छन् । चलहल गर्ने ठाउँ झन झन कम हुँदो छ । उफ् कति असाध्य गर्मी ! तर उता गाउँतिर चाहिँ कस्तो जाडो ! दिनरात आगोको नजिक बसिरहूँ जस्तो । भुङ्ग्रो एउटा च्यापेर बसिरहने मेरी बज्यैले एकदम न्यानो हुने खालको मोटो दोलाइँ ल्याउन अह्राएकी थिइन् । मैले यो सम्झिरहनुपर्छ । तर खोई अभीष्ट वस्तु ? मलाई भने यहाँ अबेर भइरहेछ ।

लाग्छ टक्क अडिएको छ समय ।

आमा पनि सधैँ कराउने गर्छिन् । घरधन्दा एक्लैले भ्याउनुपर्छ । कति मात्र काममा घोटिरहने ? भान्छामा कहिले यो छैन कहिले उ छैन । कहिले आगो जोर्न ढिलो त कहिले पानीको अभाव … एउटा न एउटा हर्जाले सधैँभरि पिरोलिइरहेको हुन्छ । यसको समाधान पनि पत्ता लगाउनु छ । हुन त परिवार पनि साथमा आउन चाहेका थिए । तर भएको अलिकति घरखेत कसले हेर्ने ? बाबुलाई कसले स्याहार्ने ? यसर्थ केवल म आएँ – साथमा ’emका उत्कट अभिलाषाहरु लिएर, सुन्दर स्वप्नहरु लिएर । घाम प्रशस्त छ । हावाको भने अभाव छ । सडक यी सबबाट विलग भएर निश्चेष्ट सुतिरहेछ । बस्दा बस्दा थाकेर लखतरान भइसकेँ । त्यसमाथि यस्तो पट्याइलाग्दो गर्मी । शरीर पसिनाले भिजेर निथु्रक्क भइसक्यो । तर भीडमा चलहल गर्ने ठाउँ समेत रहेन ।

मलाई भने झन झन हतार भइरहेछ ।

००

 

घाम असाध्य छ । निधारबाट पसिना तरतरी चुहिन थालिसक्यो । अनुहार घामको रापले रातो भइसक्यो । पेटभित्र पनि सारङ्गी बज्न खोज्दैछ । यसैबखत बल्ल भीड तथा सडकको पुछारबाट एउटा हलुका केलाहल बग्दै आयो । अहिले भने साँच्चिकै अभीष्ट वस्तुको आगमन भएजस्तो पो लाग्छ । अब त्यसको मूर्त रुप स्पृश्य हुने भयो । यसो हेर्दा अनुमानतः त्यो कुनै नौलो वस्तु सजधज साथ ध्वजा– पताकासहित लम्कंद्यै आइरहेछ । त्यो कतै … । मान्छेहरुमा व्याकुलता सर्दै छ ।

त्यो मन्द गतिमा सर्दैछ क्रमशः । हल्ली खल्ली उत्तिकै चर्कदो छ । अझै त्यो कुनै सजिएको हो वा अरु नै केही हो ड्रापभित्रबाट फुत्कन सकेको छैन । अगाडि अगाडि छाती फुलाउँदै जोडतोडका साथ बाजा बजाउनेहरुको एक हुल छ । धुन जथाभावी बजाइएको ताल नमिलेको सूर जस्तो ! कुनै हर्ष, खुशियाली तथा उत्सवको अवसरले विभोर भएपछि यस्तो हुँदो रहेछ क्यारे ।

त्यो लगभग बीचमा पुग्यो । बीचमा पुगेपछि मैले देखेँँ – खासमा मैले त्यहाँ केही देखिनँ । आँखा च्याती च्याती हेरेँ – दृश्य शून्य ! सपाट अकास जस्तो । घनले ठोकेजस्तो एक थुप्रो कोलाहल मात्र । त्यस पछाडि केही थियो । रथ जस्तोमा कागजका विभिन्न फूल र रंगहरुले डम्म छोपिएको – आँखाले छेदन गर्न नसकिने जसलाई एक डफ्फा विशेष मान्छेहरुले किन हो घेरिराखेका थिए ।

म सोचशून्य भएँ ।

निराशाका तीब्र लहर एक्कासि झ्वाम्म चारैतिरबाट ओइरियो । चिसोले एकपटक मान्छेहरु थुर्र .. भिज्दै कहालिए । त्यसपछि साँझ खस्यो । फर्कंदा मैले पुनः मान्छेका लस्करमाथि दृष्टिपात गरेँ । लाग्यो मान्छेहरु कुनै अत्यन्त प्रियजनको मृत्यु–संस्कार सकेर चिहानबाट फर्किरहँदाको दारुण सन्नाटा झैं । फेरि हेरें – अलिक गहिरिएर । ओहो ! मेरा आँखा विस्फारित भएर ट्वाल्ल चुहिन थाले । भीडमा कसैको पनि टाउको थिएन , न त थियो अनुहार नै । केवल ठिङ्ग उभिरहने लठीका निरीह आकार झै । भीडमा सामेल भएँ म पनि । यसैगरी आतङ्कले कहालिंदै मैले आफ्ना दुई हात टाउको छाम्न उचालेँ …. ।

००