खटजात्रा

अघिसम्म मायालु र वात्सल्यले युक्त त्यो मूर्ति अब कालोनीलो र भयग्रस्त देखियो । हात खुट्टा भाँच्चिएर वीभत्स र निरीह देखियो । मूर्तिको हातमा भएको पुस्तक च्यातिइसकेको थियो भने छातामा प्वाल परिसकेको थियो ।

 

 

-ध्रुव मधिकर्मी

 

 

मूर्ति तयार भयो ।

तिनीहरूको वर्षौ देखिको मेहनत त्याग र रगतपसीना भिजाएर बनाइएको थियो त्यो मूर्ति । त्यसैले भव्य र आकर्षक मात्र थिएन त्यसप्रति तिनीहरूको हार्दिकता पनि गाँसिएको थियो ।

मूर्ति मानौं बोलिहाल्दा कि जस्तो सजीव देखिन्छ । मूर्तिको एउटा हातमा पुस्तक छ भने अर्को हातमा छाता छ । छाता सम्पूर्ण रूपमा मूर्तिले ओढेको छैन । अलिकति भाग मात्र मूर्तिले ओढेको छ भने बाँकी भाग मानौं अरूलाई ओढाउन राखे झैँ देखिन्छ । मूर्ति कुनै ममतामयी आमाको वात्सत्यले भरिपूर्ण छ ।

मूर्ति सफलतापूर्वक तयार भएको र त्यसको सौन्दर्य चर्चाले प्रायः सबैलाई प्रफुल्लित तुल्यायो । यस्तो भावपूर्ण र सजीव लाग्ने मूर्तिको परिकल्पना गर्दै कतिले जीवन उत्सर्ग गरेका थिए भने कतिले नारकीय यातना समेत भोगेका थिए । अनेकन बाधा अड्चनहरूको जङ्घार तरेर बल्ल सपना साकार भएको थियो ।

मूर्तिको निर्र्माण सफलतापूर्वक भएको र त्यसको सार्वजनिक प्रदर्शनका लागि शहर परिक्रमा गर्ने प्रस्ताव राखियो र त्यो प्रस्ताव पास पनि भयो । त्यसअनुरूप मूर्तिको सुरक्षाको लागि एउटा उपयुक्त एवं सन्तुलित खट बनाइयो । खट बनेपछि त्यसमा मूर्ति राखेर शहर परिक्रमा गर्न थालियो । मान्छेहरू यो खुशीयाली र भव्यता हेर्न चोक चोक र डबली डबलीमा जम्मा हुन थाले । बाटो छेउछाउमा दर्शनार्थीहरूको ताँती लाग्यो । यस्तो अवसर कमै मात्र आउँछ । अतः यस्तो महत्वपूर्ण अवसर नगुमाउन शहरभरिका मान्छेहरू घर बाहिर निक्लन थाले ।

जात्रा शुरु भयो ।

केही मान्छेहरू खटलाई चारैतिरबाट बोक्दै ल्याइरहेका थिए । अगाडि बाजागाजा थियो भने पछाडि ठूलो लावालस्कर थियो । ती बडो हर्ष विभोर र प्रफुल्लताको ध्वनि निकाल्दै नाच्दै र मूर्तिको गुण गाउँदै थिए । सडक छेउमा उभिरहेकाहरूले मूर्तिको प्रशंसा गर्दै ताली पिटे भने मूर्तिको सम्मानमा घरका झ्याल र बार्दलीहरूबाट फूल अबिर वर्षाउन थालियो । बाटोभरि दिपावली गरियो ।

– मूर्ति भव्य बनेछ, एउटाले प्रशंसा ग¥यो ।

– निश्चय पनि राम्रो छ । अब यसले सबैलाई शान्ति, कर्म र नैतिकताको सन्देश दिइरहने छ, अर्को झनै अभिभूत भयो ।

– यहाँका मान्छेले बल्ल सुख शान्ति पाउने भए ।

प्रायः सबै मूर्तिको प्रशंसा र सम्मान गर्दै थिए । तर एक दुईजना अलि परपर बसेर मूर्तिको आकार गढ्न अझै नपुगेको, रंग कहीं कहीं गाढा नभएको, मूर्तिले मात्र कहिँ सुख शान्ति ल्याउला र ! भन्ने जस्ता प्रतिक्रिया जनाइरहेका पनि थिए ।

खटजात्रा केही बेरसम्म व्यवस्थित तरिकाले चलिरह्यो । एउटा मोड आयो । मोड आएपछि ठाउँ अलि साँगुरो भयो । त्यहींनिर अलि ठेलमठेल भयो । ठेलमठेलले केही व्यक्तिहरूबीच सामान्य विवाद पनि भयो । एउटाले ‘राम्ररी समा है ठोकिएला’ भन्दै थियो अर्काेले यस्तो ठाउँमा कसरी राम्ररी सम्हाल्नु ! भन्दै थियो । त्यही बेला एउटा घरको बार्दलीमा खट अलिकति ठोकियो ।

खट बोक्नेहरू जोशमा थिए । तिनीहरूले खट ठोकिएको विषयमा ध्यानै दिएनन् । तर जसको बार्दलीमा ठोकिएको थियो त्यसले भने मनमनै अलिकति ननिको मान्यो । त्यसको चिन्ता कसैलाई भएन । तिनीहरू खट बोकेर हिँड्न पाएकोमा ज्यादा रमाइरहेका थिए । बाटो छेउमा हजारौं दर्शनार्थीहरू आल्हादित भई खट जात्रा हेरिरहेका थिए । तिनीहरूको आस्था र आल्हादले गर्दा पनि खट जात्रा गर्नेहरू गौरवान्वित मात्र होइन अहम बोध गरिरहेका थिए । अब त खटको पछिपछि आइरहेका मान्छेहरूको भीड पनि बढ्न थाल्यो साथसाथै त्यसमध्ये कोही कोही सिटी बजाउँदै नाच्न पनि थाले । कतिपयले यसलाई मन पराएनन् । प्रदर्शनकारीहरू जथाभावी नाचेको, ताल न सुरसँग रमाएको देखेर केही तमासेहरू पेटीबाट ओर्लेर भीडमा मिसिन थाले ।

शहर पुरानै खालको थियो । त्यसैले बाटाघाटाहरू त्यति फराकिला थिएनन् । केही मान्छेहरू जम्मा हुनासाथ बाटो नै अबरूद्ध हुन्थ्यो । त्यस्तो ठाउँबाट झन मान्छेहरूको लश्कर र जात्रा नै गुज्रेपछि त बाटो अवरुद्ध हुनु, ठेलमठेल हुनु र धक्कामुक्का पनि चल्नु स्वाभाविकै भयो । अहिले यहाँ त्यस्तै भयो ।

– साँगुरो बाटोमा धकेल्दै हिँड्न त भएन नि । अलिबेर पर्खेर विस्तारै हिँडे के हुन्छ !, एउटा बटुवाले सुझावपूर्ण स्वरमा भन्यो ।
– तपाईहरू एकछिन पर्खेर हामीलाई पहिला जान दिए हुन्न, अर्को झन ठूलो स्वरले करायो । मूर्ति बोक्नेहरूसँगै आएको हुनाले त्यसको स्वर ठूलो हुने भइहाल्यो ।

– अगाडि आएकोले ठाउँ छोड्ने कि पछि आउनेले एकछिन पर्खने ! पछि आएर माझमा सुत्न पाइन्छ !
– सक्नेले माझमा मात्र होइन एक्लै मज्जासँग सुत्छ, बुझ्नुभो !

भयो त्यस्तै नै । खट बोकेर जात्रा गर्नेहरू कसरी दौंडौं, कसरी उफ्रौं, कसरी कुदौं भन्ने मानसिकतामा थिए । त्यसैले ती खट बोकेको बहानामा आफ्नो तुष्टि पुरा गर्न खोज्दै थिए ।

अलिपर पुगेपछि फेरि मोड आयो । त्यहाँ बोक्नेहरूले पालो फेरे । बोक्नेहरू कच्चा परेर हो कि खट ठाउँठाउँमा ठोकिन र ढलपल हुन थाल्यो । तिनीहरूले खटलाई कतै जानाजान ठोकाउन पनि थाले । यसले गर्दा खट कतै कुच्चियो, कतै पाटो उप्कियो । एउटा दोबाटोमा पुग्दा त तिनीहरूले खटलाई यति जोडले ठोक्काइदिए कि खटको छानै भत्कियो । दोवाटोमा पुग्दा एउटा पक्ष अर्काेतिर लागौं भन्ने, अर्काेपक्ष हुन्न सिँधै जानुपर्छ भन्न थाल्यो । यही विवाद र तानातानमा खट ठोक्कियो र कामै नलाग्नेगरी खट विग्रियो । छेउछाउमा उभिएका दर्शकहरूले खट बोक्नेहरूलाई सम्झाउने बुझाउने र कसैकसैले हप्काउन पनि बाँकी राखेन । तर बोक्नेहरूले त्यसलाई टेरपुच्छरै लाएनन् । हुँदाहुँदा खट बोक्नै नमिल्ने गरी बिग्रियो ।

अब के गर्ने !

खटलाई फालेर तिनीहरू अब मूर्तिलाई मात्र बोकेर घुमाउन थाले । खट बोक्दा त ठोकाउनेले मूर्तिलाई नठोकाउने कुरै भएन । खटमा राख्दा जति सुरक्षित थियो मूर्ति अब त्यतिकै बोक्दा मूर्तिको के हाल हुने होला ।

खट नभएपछि मूर्तिको शोभा पनि केही खस्केजस्तो भयो । मान्छेहरूलाई बिना खटको मूर्ति त्यति सुहाउँदिलो पनि भएन । यो त परम्परा भत्काउने कार्य पो भयो भन्दै । केहीले यस कुराको विरोध पनि गरे ।

विना खट पनि जात्रा हुन्छ ? मूर्ति बिग्रियो भने को जम्मेवार हुन्छ ?

– खट राखेर मात्र जात्रा मनाइयोस् ।

– विना खट जात्रा गर्न पाइन्न ।

– मूर्तिलाई फर्काएर पहिला खट बनाऔँ, नत्र हामी बाटो छोड्दैनौं, अर्काे पक्ष त बाटो नै छेक्न आयो ।

– त्यो खट कामै लागेन । अब अर्को खट बनाउँछौं । तर त्यतिञ्जेल यो जात्रा चलिरहनु पर्छ, भन्दै मूर्ति बोक्नेहरू आफ्नो बाटो लागिरहे ।

एउटा पक्ष रोक्न खोज्दै थियो । अर्को पक्ष बाधा छिचोल्दै थियो । यसैबेला कसैले ढुंगा हान्यो । ढुंगा मूर्तिको नाकैमा लाग्यो । मूर्तिको नाक कुच्चियो । यसले जात्रामा तनाव पैदा भयो । भीडलाई छिचोलेर लान खोज्दा मूर्ति कतै ठोकियो । मूर्तिको हात भाँच्चियो । तैपनि जात्रा जारी रह्यो । एक ठाउँमा मूर्तिको खुट्टा भाँच्चियो  । तैपनि बोक्नेहरूले मूर्तिलाई घिसारिरहे ।

मूर्तिको जात्रा जारी थियो ।

तर अघिसम्म मायालु र वात्सल्यले युक्त त्यो मूर्ति अब कालोनीलो र भयग्रस्त देखियो । हात खुट्टा भाँच्चिएर वीभत्स र निरीह देखियो । मूर्तिको हातमा भएको पुस्तक च्यातिइसकेको थियो भने छातामा प्वाल परिसकेको थियो ।

तैपनि जात्रा भने जेनतेन चल्दै थियो ।