थपिएको आकृति

सम्पूर्ण शरीरमा नयाँ र केही अनौठो अनुभूति हुन थालेको छ । लोग्ने आउने खबर सुनेदेखि छातीभित्र एकप्रकारको सुखानुभूति र अव्यक्त तृष्णाले डेरा जमाउन थालेको छ । लोग्ने आउनु कहाँ हो कहाँ, आउने खबरले नै उसका सबै पीडा, छटपटी र कटाउन कठिन एकान्तहरुले मानौं मुक्ति पाए जस्तो लाग्यो ।

-ध्रुव मधिकर्मी

मनकुमारीको लोग्ने परदेश गएको छ । भारतीय फौजमा काम गर्न गएको दुई वर्ष भो । गएदेखि एकपल्ट पनि आएको छैन । त्यसो त गएको धेरै वर्ष पनि त भएको छैन । तर दुई वर्ष पनि कम्ता कहाँ हो र ? बिहे गरेको दुईचार महिना त हो संगै बसेको । दुईचार महिना त दुईचार दिन झैं छिनभरमै बितिगो । त्यसपछि त पैसा कमाउन पर्छ भनेर गइहाल्यो । राम्रो सुखसुविस्ताको जीवन बाँच्न पैसा नभई हुन्न । पैसा गाउँको बोटमा फल्दैन । जहाँ फल्छ त्यहाँ टिप्न जानैपर्यो । गएदेखि एउटा चिट्ठी लेख्नुबाहेक कुनै फोनसोन खैखबर छैन । त्यसैले उसको गुनासो या दुखेसो जे भने पनि लोग्नेसित हो । परदेश गएदेखि लोग्नेले एकचोटि चिट्ठी पठाउने बाहेक फेरि सम्झेको छैन । हुन त त्यहाँ लोग्नेले पनि उसलाई एकान्तमा सम्झिरहेको होला । पैसा कमाउन गएको लोग्ने । कामले नभ्याएर कुनै खबर पठाउन नसकेको होला । ऊ यस्तै यस्तै सोचेर आफूलाई सान्त्वना पनि दिन्छे।

ऊ पिंढीमा बसेर बच्चालाई दुध ख्वाइरहेकी थिई । बिरामी ससुरो आँगनमा गुन्द्री ओछ्याएर घाम तापिरहेको थियो । जाडोको महिना त्यसमाथि रोग लागेको शरीर । केही दिनदेखि छाती दुःख्यो, ढाड सर्कियो भन्दै थलिएर बसेको छ । उठेर बस्दा रिङ्गटा लाग्छ भन्दै थियो । खुट्टा पनि झमझम भयो भन्दै थियो । खै के भएको हो । दुईचार दिनदेखि राम्ररी हिंड्डुल पनि गर्न सकिरहेको छैन । सहारा लिएर घरभित्र र बाहिर अलि अलि हिंड्डुल गर्छ । नजिकैको स्वास्थ्यचौकीमा गएर जँचाइसकेको छ । जँचाएर मात्र के हुन्छ । त्यहाँबाट पाएको औषधि खाइरहेको छ । हप्ता दिन भयो औषधि खान थालेको तर रोग उस्तै छ । औषधि मात्र खाएर बिसेक होला जस्तो छैन । अब त औषधि पनि सकियो क्यारे ।

घाम ओरालो लाग्न खोज्दै थियो । मङ्गसिरको महिना । अलि अलि चिसो छ । घाममा जति बसे पनि नपुग्ने । घाममा बसुञ्जेल न्यानो हुने , बसेन जाडो जाडो लाग्ने । अहिले लगन साइतको बेला हुनाले गाउँमा कतिलाई फुर्सद छैन । तल चौतारीनिरका थापाहरुको घरमा आज बिहे छ भनेर माथ्लो घरकी साँइली काकीसित सासू बिहानै गएकी थिई । आएकी छैन । उसलाई पनि हेर्न जाउँ बुहारी भनेकी थिई सासूले । जान मन त थियो उसलाई पनि तर बच्चा बोकेर के जानु भनेर गइन । एक त घरमा ससुरा बिरामी त्यसमाथि काखेबच्चा बोकेर उकालोओरालो किन गर्नु भनेर नगएकी हो । लोग्ने भएको भए पालैपालो बच्चा बोकेर हेर्न जान हुन्थ्यो । कति रमाइलो हुन्थ्यो !

ठीकै छ , यसो बेलाबेलामा ससुराको ख्याल राख्न नबिर्स है, बुहारी । म गएर आइहाल्छु , जाने बेलामा सासूले भनेकी थिई । सासूलाई सजिलो छ । घरको काम बुहारीको जिम्मा लगायो अनि आफू हिंडिहाल्यो । कहीँ पूजापाठ, भजन र बिहेवारी हुँदा छरछिमेकका महिलाहरुसित हेर्न हिंडिहाल्छे ।

बच्चाले दुध चुस्न छोड्यो । मनकुमारीले यसो फर्केर आँगनमा पल्टिरहेको ससुरोलाई हेरी । ससुरो घोप्टो परेर ढाड सेक्दै थियो । पर कतै पञ्चेबाजा बजेको सुनियो तर उसले त्यतातिर ध्यान दिइन । बच्चालाई भित्र कोठामा सुताउन उसले विस्तारै बोकी । उठेर भित्र जान लाग्दा ससुराले बोलायो – बुहारी ।

उसले फर्केर हेरी । ससुरो उठ्न बल गर्दै थियो । आँगनमा घाम पातलिसकेको थियो । हावाले केही पातहरु भ्mार्दै थियो । शायद चिसोले गर्दा ससुरो उठ्न खोज्दै थियो । त्यसैबेला गोठनिर बाँधिएको गाई करायो बाँ ।

एकैछिन बुबा, म बच्चा सुताएर आउँछु ।, बुहारीले भनी ।

ऊ बाहिर आउँदा ससुरो उठेर बस्ने प्रयास गर्दै थियो । उसले हत्तपत्त हात समातेर बस्न सहयोग गरी ।

तेरी सासू आएकी छैन ?, ससुरोले सोध्यो ।

छैन, उसले छोटो उत्तर दिई ।

आए पनि त्यसको त्यही ताल हो । आखिर सबै तैंले नै गर्ने हो ।, एकछिन रोकिएर ससुरोले भन्यो – मलाई अलि चिसो भो, अलिकति तातो पानी ल्याओ त ।

उसले भित्र गएर अगेनामा आगो बाली र डेक्चीमा पानी हालेर बसाली । आगोको रापले पानी विस्तारै तात्न थाल्यो । पानी तातेर वाफ निक्लेको र उडेर विलिन भएको हेरिरही ।

पानी तातेन बुहारी ?, बाहिर ससुरो कराएको सुनेर ऊ झस्की ।

हत्तपत्त डेक्ची उचालेर भुइँमा राखी र गिलासमा खन्याउन थाली । डेक्चीको तातोले उसको हातमा पोल्यो – आत्था ! उसले पोलेको हातमा फू गरी त्यसपछि पोलेको ठाउँमा सारीको सप्कोले यसो पुछपाछ गरी । मानौ पुछेपछि पोलेको बढारिन्छ । पोलेकै हातले गिलास समातेर ससुरालाई दिन गई ।

कति बेर लाएकी बुहारी !, ससुराले गिलास लिंदै भन्यो ।

बुहारीले केही भनिन । ससुरालाई जवाफ दिन पनि भएन । एकछिन त्यहीँ उभिरही । दुई हात र एक ज्यानले सबैतिर भ्याउनुपर्छ।

छोरोले आजभोलि नै आइपुग्छु भनेर खबर त पठाएको थियो । खै, कहिले आइपुग्ने हो !

यही खबरले हो, मनकुमारीको मुहार केही दिनदेखि उज्यालिएको । सम्पूर्ण शरीरमा नयाँ र केही अनौठो अनुभूति हुन थालेको छ । लोग्ने आउने खबर सुनेदेखि छातीभित्र एकप्रकारको सुखानुभूति र अव्यक्त तृष्णाले डेरा जमाउन थालेको छ । लोग्ने आउनु कहाँ हो कहाँ, आउने खबरले नै उसका सबै पीडा, छटपटी र कटाउन कठिन एकान्तहरुले मानौं मुक्ति पाए जस्तो लाग्यो ।

छोरो आएपछि शहरमा राम्रो डाक्टरलाई देखाउनु पर्ला , वृद्ध ससुरा आफैसित बोल्दै थियो ।

हैन ए बुहारी, खबर अनुसार त अस्ति नै आइपुग्नु पर्ने होइन र ! कतै बाटोमा अड्केर पो बस्यो कि ! विचरालाई हिंड्न गाहारो भयो होला । बाटो पनि त राम्रो छैन नि ।, ससुराले उसलाई हेर्दै भन्यो ।

मनकुमारी पिंढीको खाँबोमा अडेसिएर ससुराको कुरा सुन्दै थिई । उसलाई लोग्नेका ’boutमा वृद्ध ससुरा यसैगरी बोलिरहोस् भन्ने लाग्यो । कुरा मात्रले पनि उसलाई अपार तुष्टि प्राप्त भइरहेको थियो । उसको आँखासामु लोग्नेका अनेकन कल्पना र सम्झनाहरु नाच्न थाले । पानी खाइसकेपछि ससुराले गिलास भइँमा राख्यो । त्यही बेला आँगनको एक छेउमा सुतिरहेको कुकुर एकाएक बिउँझेर भुक्न थाल्यो ।

किन भुकिस् काले ! जा उता ।, ससुराले नजिकै रहेको लट्ठी लिएर कुकुरलाई धपाउन खोज्यो ।

यसै बेला आँगनमा कसैको छायाकृति देखापर्यो । वृद्धले आँखा उठाएर हेर्यो, दुइटा आकृति देख्यो तर आफ्नो धमिलो दृष्टि र छायामा परेकाले आकृति कसको हो भनेर ठम्याउन सकेन । यता मनकुमारीले भने दुइटै आकृतिलाई देख्नासाथ राम्रैसंग चिनी । एउटा आफ्नै लोग्नेको आकृति थियो भने अर्को आफ्नै बहिनीको आकृति ।