सायद स्टुपिड भएछु …!

तिष्ठित कान्स फेस्टिभलमा सहभागी भएर फर्किएकी छन्, अभिनेत्री प्रियंका कार्की । तर भनेजस्तो उपस्थिति देखाउन नसकेपछि प्रियंकाले आलोचना खेप्नु परेको छ । उनले दाबी गरेजस्तो कान्समा नेपालीको पहिलो सहभागिता थिएन त्यो । अघिल्लो वर्ष मात्र अञ्जली लामाले कान्समा रेड कार्पेटमा क्याटवाक गरेकी थिइन् । प्रायः विवादमा परिरहने प्रियंकासँग गरिएको कुराकानीको अंश : 

कान्स फेस्टिभलमा जाने बेला,तपाईंको जति हाईहाई भयो, पुगेपछि र फर्किएपछि उत्तिकै आलोचना ?   

कान्स मेरा लागि नौलो थियो, केही थाहा थिएन । तर नेपालबाट कान्सका दुई–तीन इभेन्टमा सहभागी हुन पाउनुसबैका लागि खुसीको कुरा थियो । सोहीअनुरुप ड्रेस लगेको थिएँ । तर त्यहाँ पुगेपछि बुझियो, सबै स्टारले एक्लै रेड कार्पेटमा हिँड्न नपाउने रहेछन् । रेड कार्पेटमा मेरो प्रभावशाली उपस्थिति हुने आशा थियो, यहाँ । त्यो पूरा हुन सकेन । यो कुरा भन्न मलाई कुनै अप्ठ्यारो छैन ।

 

रेड कार्पेटमा हिँड्छु, कान्स जाने म पहिलो नेपाली हुँ भनेर अन्तर्वार्ता नै दिनुभएको थियो । यसले तपाईंलाई नै हल्का बनाएन र ?

 

मलाई ‘एडभेन्चर्स फ्रम ह्युमानिटी’ नामक संस्थाले कान्स लगेको हो । यो संस्थाले कान्समा प्रत्येक वर्ष सांस्कृतिक आदानप्रदान र सद्भाव झल्कने कार्यक्रम गर्छ । यसरी नेपालबाट सद्भावना दूत बनेर अरु गएका छैनन् । यसको तयारी त मार्चबाटै भएको थियो तर मैले उता जाने केही दिनअघि मात्र सार्वजनिक गरेँ । मैले चाहेको भए त पहिल्यै भन्न सक्थेँ नि । मैले रेड कार्पेटमा हिँड्ने पहिलो नेपाली भनेको छैन । त्यक्तिकै बाहिर आयो ।

 

इन्स्टाग्राममा सत्रियता देखेर कान्समा मलाई छानियो भन्नुभयो  त्यति प्रतिष्ठित फेस्टिभलमा इन्स्टाग्रामको भरमाछानिएको कुरा आफैँमा विश्वसनीय हो र ?

 

कान्सभन्दा ‘एडभेन्चर्स फ्रम ह्युमानिटी’ले मलाई छानेको हो । उनीहरुले नेपालमा कसैलाई चिनेका हुँदैनन् । अलि पहुँच भएको, चहलपहल भएको मान्छे छान्ने माध्यम इन्स्टाग्राम हो । उनीहरुले ‘विन–विन सिचुएसन’ हेर्ने हो नि ।

 

कान्स पुगेर नम्रता श्रेष्ठले लगाइसकेको ड्रेस पोस्ट गर्नुभयो नेपालको प्रतिनिधित्व गरेँ पनि भन्ने, पहिरनचाहिँ पुरानै । यो त हेलचेक्र्याइँ भएन ?

 

हामी इभेन्टमा लुगा बनाउनुपर्‍यो भने डिजाइनरकहाँ हलिउड, बलिउड स्टारका ‘रेफरेन्स’ लिएर जान्छौँ तर यसपटक मलाई त्यस्तो गर्नु थिएन । सचेत थिएँ । मैले नम्रताको लुगा अलि मिलाएर बनाइदिन भनेको थिएँ, डिजाइनर शिवांगी प्रधानलाई । ’cause, त्यो शिवांगीको मौलिक डिजाइन हो । त्यसैले नम्रताले लगाइसकेको कपडा लगायो भन्न मिल्दैन । बाहिर पनि यस्तो हुन्छ ।

 

यो ड्रेसमात्र होइन, कान्सकै दौरान प्रियंका चोपराले जस्तै कपडा लगाएर, उही पोजमा उस्तै फोटो इन्स्टाग्राममा अपलोड गर्नुभयो । यसले पनि तपाईंप्रति वितृष्णा जगाउन भूमिका खेल्यो । यसरी कपी गर्नुपर्ने आवश्यकता के थियो ?

 

मेरो होटल ‘सी फेसिङ’ थियो । नुहाएर आफ्नै सुरमा फोटो खिचेँ । खासमा मैले प्रियंका चोपराको फोटो देखेकै थिइनँ । मिल्न गएको मात्र हो । त्यसरी अरुले पनि फोटो खिचाउँछन् ।

 

कान्समा नेपाली कला–संस्कृति झल्कने पहिरन लगाएर नेपाल चिनाउँछु भन्नुभएको थियो । कसरी चिनाउनुभयो नेपाल ?

 

‘वर्ल्ड पिस नाइट’मा हङकङ, मोरक्कोका कलाकारले आ–आफ्नो प्रस्तुति दिए। नृत्य गर्न सांस्कृतिक पहिरन लगेको थिएँ । तर मैले सोचेजस्तो कला देखाउने ठाउँ र माहोल मिलेन । अनौपचारिक थलो रहेछ । व्यवस्थित स्टेज पनि थिएन । यहाँ मेरो बुझाइ पुगेन होला, स्वीकार्छु ।

 

तपाईंको आफ्नै भोगाइ यस्तो रहेछ अब कसरी तपाईंले भनेजस्तै अरु नेपाली कलाकारका लागि कान्समा ढोका खोल्नु हुन्छ ?

 

यसको मतलब नेपाली कलाकारको फिल्म कान्समा पुगिहाल्छ/लग्छुभन्ने होइन । यत्तिचाहिँ हो, यसपटक म गएको संस्थाबाट अर्को वर्ष अर्को एक नेपाली कलाकारलाई पनि लैजान्छु ।

 

इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाउनुभयो । यो स्थिति कसरी आइलाग्यो ?

 

नेपालले पहिलो पटक प्रतिनिधित्व गरिरहेको छ भनेपछि नेपाल मात्र होइन, अरु देशबाट पनि ‘वाच’ गरिरहेका हुन्छन् । त्यहाँ मेरो कैयौँसँग चिनजान भयो, बिजनेस कार्ड दिएँ । उनीहरुले इन्स्टाग्राम चेक गरे भने कस्तो देश रहेछ भनेर सोच्दैनन् ? यतिसम्म कि फ्रेन्च राजदूतले समेत यसमा चासो देखाउनुभयो । अनि म के गरौँ?मैले रेड कार्पेटमा नहिँडेको भन्दै त्यस्तो नकारात्मक कमेन्ट गर्नुपर्छ त ?

 

कान्स विवादले तपाईंको विश्वसनीतामा प्रश्न उठ्यो, है ?

 

यो त मेरो विश्वसनीयतामा प्रश्न उठाउनेले नै बुझ्ने कुरा हो । हामीलाई न अति उत्साही हुन कारण चाहिन्छ, न त कसैलाई अति घृणा गर्न । बीचको बाटो नै छैन । इभेन्टपिच्छेको तस्बिर देखाउन आफूसँग डेलिगेसन हुनुपर्छ । फेस्टिभलमा एक्लै पुगेको थिएँ, जहाँ फिल्मको स्क्रिनमा जाँदा फोन निकालेर फोटो खिच्न पाइन्न । अफिसियल फोटोग्राफर चाहिन्छ । तैपनि मैले सक्दो गरेँ । धन्न ! एउटा इभेन्टमा मीनबहादुर भामलाई भेटेँ, मैले उसलाई म यसो हिँड्छु, फोटो/भिडियो खिचिदेऊ न भन्न पाएँ ।यसो भन्नु पनि त्यो प्लेटफर्ममा लाजै मर्नु थियो । सेलिब्रिटी भन्ने तर मोबाइलबाट फोटो खिचाउने । यो विडम्बना बुझिदिनुपर्‍यो नि !

 

भनेपछि तपाईं जुन अपेक्षा लिएर कान्स जानुभएको थियो, त्यो पूरा भएन ?

 

अरुको जस्तै मेरो पनि अपेक्षा थियो । कार्पेटमा हिँडेपछि मेरो पनि अरु स्टारको जस्तै फोटो खिचिहाल्छन् नि भन्ठानेँ । अलि ‘स्टुपिड’ भएछु सायद । त्यहाँ गएर बुझेँ कि, फिल्म स्क्रिनिङ छैन भने सोलो वाक पाउँदैन । अरु सेलिब्रिटीजस्तै फोटो आउनका लागि विश्वबजारमा मेरो कुनै पहिचान छैन । हो, यसमा मेरो आशा खस्केकै हो । यसो भन्दैमा म निराश छैन । कान्समा जानु मेरो सुखद अनुभव थियो ।

 

पित्तल पाउँदा पनि सुन भनेर प्रचार गर्नुहुन्छ भन्ने आरोप छ,तपाईंमाथि। कान्समा तपाईंको उपस्थितिको हकमा त्यही भएको हो ?

 

होइन, मैले जे हो, त्यहीँ भनेको थिएँ । कति कुरा, त्यहाँ पुगेपछि अलग पाएँ ।

 

तपाईंमा प्रचारको भोक कतिको छ ?

 

एक प्रतिशत पनि छैन । तर सामाजिक सन्जाललाई एकदम मज्जाले चलाउन चाहन्छु/सक्छु ।

 

कन्ट्रोभर्सी’मा कतिको रमाउनुहुन्छ ?

 

रमाउँदै रमाउदिनँ । फेरि ‘कन्ट्रोभर्सी’ पनि मैले नै कमाएको हो । जति अघि बढ्यो, प्रेम र आलोचना दुवै हुन्छु ।  म हरेक कुरामा आफूलाई सबल बनाएर लान्छु । बाहिर आउने प्रतिक्रियाले आफूमा प्रभाव पर्न दियो भने डिप्रेसन सुरु हुन्छ । मलाई पहिले–पहिले यस्तै हुन्थ्यो । हिजोआज हुन्न ।

 

भनिन्छ, तपाईं काम नपाए तनावमा फस्नुहुन्छ । त्यस्तै हो ?

 

जसले पनि आफूलाई व्यस्त राख्न खोज्छ तर काम आउँछ कि आउँदैन भन्ने हो । पायो भने जसले पनि काम गर्छन् । पारिश्रमिक चाहियो । अर्को कुरा, मेरो काम गर्ने शक्तिचाहिँबलियो छ । दुई घन्टा सुतेर पनि म रातभर काम गर्नसक्छु ।

 

काम नहुँदा नकारात्मक विचार आउँछन् ?

 

अहिले त्यस्तो डर हुँदैन तर म आफूलाई व्यस्त राख्न खोज्छु । सेटमा एकदमै रमाउँछु ।हिजोआज बिदा पनि लिन थालेकी छु । हरेक कठिनाइसँग जुध्न सक्नुपर्छ । परिणाम जस्तो आए पनि आफूमा असर पर्न दिनुहुन्न । नत्र डिप्रेसन सुरु हुन्छ ।

-कान्तिपुर बाट