म चुसेको आँप जस्तो देखिन्छु र ?

गएको ३ वर्ष अगाडि प्रदर्शनमा आएको दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चपली हाइट २’ बाट फिल्म करिअर सुरु गरेका चकलेटी ब्वाई आयुष्मान देशराज जोशीलाई मन पराउने र नरुचाउने दुबैथरी दर्शक छन् । अभिनेत्री प्रियंका कार्कीसँग अफेयरमा रहेपछि उनलाई नरुचाउने दर्शक अझ बढेका छन् । विशेषगरि युवतीहरु । उनलाई पिटिक्कै मन नपराउने दर्शकले ‘चुसेको आँप’ भन्ने गर्दछन् ।

 

सामाजिक सञ्जाल युट्युब, फेसबुक, ट्विटर, इन्स्टाग्राममा उनलाई ‘चुसेको आँप’ भन्दै लेखिएका कमेन्ट प्रशस्त भेटिन्छन् । यस’bout आयुष्मान अनविज्ञ छैनन् । तर, सुरु-सुरुमा उनलाई नराम्रो लागेपनि अहिले सामान्य लाग्न थालेको छ । तर, उनी आफूले आफूलाई ‘चुसेको आँप’ जस्तो नदेख्ने बताउँछन् । एक भेटमा उनले भने- ‘धेरै पटक मैले आफूलाई ऐनामा हेरेको छु । कहिल्यै ‘चुसेको आँप’ जस्तो देखिनँ ।’

 

असार २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सानो मन’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा उनले पत्रकारलाई प्रश्न गरे, ‘के म ‘चुसेको आँप’ जस्तो देखिन्छु र ?’ आफूलाई आउने राम्रा/नराम्रा सबैखाले प्रतिक्रियालाई आत्मसात् गर्ने उनको भनाई छ । उनले आफूलाई अहिलेसम्म गुगलमा सर्च नगरेको पनि बताए । ‘‘चुसेको आँप’ जस्तो देखिन्छु कि भन्ने डरले अहिलेसम्म मैले आफूलाई गुगल समेत गरेको छैन’’, उनी सुनिए ।

फिल्म ‘सानो मन’ को ट्रेलरमा समेत पिताको भूमिकामा रहेका विशाल पहारीले आयुष्मानलाई गाली गर्दै ‘चुसेको आँपजस्तो अनुहार भएको’ भनेर गाली गरेका छन्, जसमा आयुष्मानले नसुनेजस्तो गर्छन् । आफ्नै बिल्ला गरिएको संवाद राख्न तपाईंको अनुमती थियो वा निर्देशकको स्वइच्छा ? आयुष्मानलाई सोधिएको प्रश्नमा निर्देशक सुयोग गुरुङले जवाफ दिए । उनले सल्लाहमै यो संवाद राखिएको बताए ।

उनी भन्छन्, ‘आयुष्मानलाई धेरैले ‘चुसेको आँप’ भन्ने गरेको मैले कैयन् पटक देखेको र सुनेको थिएँ । फिल्ममा मैले त्यसलाई संवादको रुप दिन खोजेँ । उसलाई सुनाएँ पनि । उसले तत्काल कुनै प्रतिक्रिया जनाएन । उसलाई नराम्रो लाग्ने बुझेर मैले त्यो संवाद हटाउन खोजेँ । तर, ऊ आफैंले राख्न आग्रह गर्‍यो ।’ यो संवाद गसिप बनोस् भनेर सल्लाहमा राखेको आयुष्मानको भनाई छ । ‘सानो मन’ मा आयुष्मानले शिल्पा मास्केसँग रोमान्स गरेका छन् ।
-फिल्मी खबर