देउवाले नभेटेका रअ प्रमुखले प्रधानमन्त्रीलाई पठाए सन्देश

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय खुफिया एजेन्सी रिसर्च एण्ड एनालाईसिस वीङ्स (रअ) का प्रमुखसँग नभेटेको बुझिएको छ । अचानक काठमाडौं आएका ‘रअ’ प्रमुखले सत्तारुढ दलका एकजना अध्यक्ष पुष्पकमल दाहालसँग भेटेको खबरसँगै सभापति देउवाले पनि भारतीय दूतावासमै गएर उनलाई भेटेको भनिएको समाचार सत्य नभएको देउवाले स्पष्ट गरेका छन् ।

सभापति देउवा दूतावासको रात्री भोजमा सरिक भएको तर त्यहाँ अरु कसैसँग भेटघाट नभएको मंगलबार बिहान देउवाका स्वकीय सचिव भानु देउवाले बताए । ‘मैले भर्खरै उहाँसँग तपाईंको प्रश्न’bout सोधेर आएँ, दूतावासमा कुनै अन्य व्यक्तिसँग सभापतिज्यूको भेट भएको छैन, समाचारमा आएका सूचना सत्य होईनन् भन्नुभएको छ’ भानुले बताए ।

भारतीय गुप्तचर प्रमुख समन्त गोयलले आईतबार काठमाडौं ओर्लिएपछि गुप्त र दृश्य दुवै स्वरुपमा राजनीति र गैरराजनीतिक क्षेत्रका आधा दर्जन व्यक्तिसँग भेटेको बुझिएको छ । गोयलले नेपाल सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सोमबार बिहान दाहाल निवास खुमलटारमा भेटेका थिए ।

प्रचण्डसँग घनिष्ठ सम्बन्ध रहेका एक नेताका अनुसार सोमबार बिहान करिब ८ बजे खुमलटारमा उनीहरुबीच भेट भएको थियो । ती नेताले भने ‘भेटमा के के कुरा भयो त्यो चैं थाहा भएन तर प्रचण्ड र गोयलबीच भेट भएकै हो ।’ प्रचण्डसँग गोयलले नेपाल र भारतको ऐतिहासिक सम्बन्ध रहेको बताउँदै सरकार र पार्टीसँग सम्बन्ध सुधार गर्न खोजेको बताएको बुझिएको छ । ऐतिहासिक युगान्तकारी परिवर्तन भएको बताउँदै नेपाली मोडेलको समृद्ध नेकपालको निर्माण नेकपाले गर्न खोजेको प्रचण्डले बताएका थिए । छिमेकीहरुसँग सन्तुलित सम्बन्ध विकास गर्न नेपालले सेतूको भूमिका खेल्न सक्ने प्रचण्डको भनाई थियो ।

गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटेको चर्चा छ । तर बालुवाटार सूत्रले यसलाई अस्वीकार गरेको छ । प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट हुन नसकेपछि उनका निकटतम एकजना राजनीतिक सहयोगी मार्फत गोयलले प्रधानमन्त्रीलाई केही सन्देश पठाएको एक उच्च समाचार सूत्रले बताएको छ ।

भारतीय एक संस्थाका कर्मचारी नेपाल आउँदैमा यति ठूलो होहल्ला हुनु आवश्यक नभएको एक पूर्व राजदूत बताउँछन् । तर नेपालमा चासो भने अर्कै छ । जब नेपालमा राजनीतिक गर्मी ह्वात्तै बढ्यो तब गोयलले नेपाल भ्रमण गरेका छन् । नेपालमा केहि समय अघिदेखि सरकार परिवर्तनको चर्चा चलिरहेको छ । मन्त्रीहरु हेरफेरको बिषय पनि अझैं सेलाएको छैन् । प्रचण्डले प्रधानमन्त्री बन्न खोजेको बिषयले तातिएको नेपाली राजनीति अझै चिसिएको छैन । त्यसोत भारतबाट आउने तरकारी र फलफूलमा विषादी परिक्षण नगर्ने सरकारको निर्णय पनि ताजा नै हो ।

सत्तारुढ दल नेकपाले अझै एकता प्रक्रिया टुंग्याउन सकेको छैन । विभिन्न विभागहरु हत्याउन तत्कालिन एमाले र माओवादीका नेताहरुको दौडधुप चलिरहेको छ । नेकपाले किस्ताकिस्तामा एकता प्रक्रियालाई अघि बढाइरहेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केहि समयअघि केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो । उक्त बैठकबाट कांग्रेसले खासै उपलब्धि हात पार्न सकेन । बैठक सकियो । पार्टीको नियमावलीलगायतको विषयमा अझै सहमति जुट्न सकेको छैन । राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी पार्टीबीच एकताको चर्चा सुरु भएको छ । राजपा र समाजवादी पार्टी केहि समयको छलफलपछि पार्टी एकता गर्ने तयारी गर्दैछन् ।

नेपाली राजनीतिका पछिल्ला घटनाहरु हुन् । यी पछिल्ला राजनीति घटनाहरु भइरहँदा नेपालमा भारतीय गुप्तचर प्रमुखको आकस्मिक भ्रमणले चर्चा पाउनु अन्यथा नभएको ती कुटनीतिज्ञको भनाई छ ।
-सरल पत्रिकाबाट