अख्तियारले तीन नेतासँग घरमै गएर बयान लिने

बालुवाटार जग्गा विवादमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेतासँग बयान लिनैपर्ने वाध्यता आईपरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सकस परेको बुझिएको छ । राजनीतिलाई तरंगित पारेको बालुवाटार खरिद बिक्री विवादमा केही नेतासँग बयान लिनैपर्ने अवस्था आएको आयोग सूत्र बताउँछ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा सारेर बिक्री गर्न विभिन्न तरिकाले योगदान गरेका व्यक्तिसँग बयान लिने क्रममा आयोग नेताहरुसँग पनि बयान लिन वाध्य भएको थाहा भएको छ ।

नेताहरुसँग बयान नलिई अनुसन्धान अगाडि बढाउँदा आफूमाथि राजनीतिक झुकाव राखेको आक्षेप लाग्ने बुझेपछि प्रमुख आयुक्तले नै नेताहरुको बयान लिन आदेश गरेको समाचार सूत्रले बताएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव नेपाल, काँग्रेस उपसभापति विजय गच्छदार, पूर्व प्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई र नेकपा महासचिव विष्णु पौडेलसँग अख्तियारले बयान लिने अन्तिम तयारी गरिरहेको बुझिएको छ । यी नेताको सार्वजनिक मर्यादाको बचाउ गर्न आयोगले उपयुक्त समयमा उनीहरुकै निवासमा गएर बयान लिन लागेका बुझिएको छ ।

बालुवाटारको जग्गा व्यक्तिको नाममा लाने प्रशासकीय प्रक्रिया पूरा गर्दा माधव प्रधानमन्त्री र गच्छदार भौतिक योजना मन्त्री थिए । बालुवाटारको जग्गामध्ये विष्णु पौडेलको छोराको नाममा आठ आना जग्गा छ । जग्गासँग जोडिएका एक सयभन्दा बढी व्यक्तिसँग अख्तियारले बयान लिइसकेको छ । उनीहरुलाई सूचना निकालेर र पत्रसमेत पठाएर बयानका लागि बोलाइएको थियो ।

नेताहरुसँग बयान लिनैपर्ने अवस्था बनेपछि कसरी र कहाँ बयान लिने भन्ने’bout तयारी भइरहेको थाहा भएको छ । देशको महत्वपूर्ण पदमा पुगिसकेका व्यक्तिको प्रतिष्ठालाई समेत ख्याल राख्दै अख्तियारले बयान लिने तयारी गरेको हो । अख्तियारलाई सहयोग गर्न तयार रहेको अभिव्यक्ति काँग्रेस उपसभापति गच्छदारले दिइसकेका छन् । माधव नेपालले पनि संलग्नता अस्वीकार गरिसकेका छन् । बालुवाटारको जग्गामा जोडिएका विष्णु पौडेलले पनि विगतमा विज्ञप्ति जारी गरी सरकारी हो भन्ने जानकारी पाएको भए जग्गा किनिने थिएन भनेका थिए ।

उनी यस घटनाले निकै विवादमा परेका थिए । तर, जग्गावालासँगको बयान लिने क्रममा अख्तियारद्वारा जारी गरिएको सार्वजनिक सूचनामा पौडेलका छोराको नाम उल्लेख गरिएको थिएन । बालुवाटारस्थित ललिता निवासको जग्गा पाँच दशकअघि सरकारले मुआब्जासमेत दिई अधिग्रहण गरी लिएको जग्गा व्यक्तिका नाममा पु¥याएको प्रमाण प्राप्त भएको भन्दै अख्तियारले अनुसन्धानलाई गति दिएको छ । छानबिन गर्दै जाँदा देशका शक्तिशाली व्यक्ति पनि बालुवाटार जग्गाकाण्डमा मुछिएको भेटिएको अख्तियार सूत्रको भनाइ छ ।

यसअघि अख्तियारले ११ असारमा सूचना जारी गरी ८६ जनालाई बयानका लागि बोलाएको थियो । अख्तियारले ललिता निवास क्याम्प भित्र पर्ने बालुवाटारको दुई सय ९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंका कर्मचारीको मिलेमतोमा अवैध तरिकाले व्यक्तिविशेषलाई फिर्ता दिई अनधिकृत व्यक्तिलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको उजुरी परेकाले अनुसन्धानका सिलसिलामा केही बुझ्नुपर्ने भन्दै म्याद सूचना प्रकाशन गरेको थियो ।

सात दिनभित्र बयानका लागि आउन भनेपछि पुगेका उनीहरुसँग बयान लिइएको थियो । अख्तियारले बालुवाटार जग्गा प्रकरणसँगै जोडिएका अख्तियारकै पूर्व प्रमुख आयुक्त दीप बस्नेतसँग समेत बयान लिइसकेको छ । भौतिक योजना मन्त्रालयमा शहरी विकास सचिवका हैसियतमा उक्त जग्गा गुठीको रहेको र जग्गामा मोहीसमेत भएकाले मोहीको हक कायम गर्दै जग्गा फिर्ता दिनुपर्ने कारण देखाई मन्त्रिपरिषद्मा प्रस्ताव पठाउनमा बस्नेतको प्रत्यक्ष संलग्नता देखिएको भन्दै अख्तियारले पूर्व भोतिक योजना मन्त्रालयको सचिवका हैसियतमा उनीसँग आठ घण्टा लामो बयान लिएको थियो ।

यसै प्रकरणमा मुछिएका अन्य व्यक्ति, शोभाकान्त ढकालका परिवार उमाकुमारी ढकाल्नी र लक्ष्मी ढकाल, रामकुमार सुवेदीकी पत्नी माधवी सुवेदी, व्यवसायी मीनबहादुर गुरुङका छोरा कल्याणलगायतसँग बयान लिइसकेको छ । उहाँहरुसँगको बयानपछि तत्कालीन जिम्मेवार कर्मचारीसँग र त्यसपछि यससम्बन्धी निर्णयमा संलग्न नेतासँग बयान लिने तयारीमा अख्तियार रहेको बताइएको छ ।