आन्दोलनको ज्वारभाटा ल्याउने कर्मचारी नेताको चेतावनी

  काठमाडौं, २४ साउन । कर्मचारीहरु संगठनका नेताले सरकारले हेपेर निजामती सेवा ऐन ल्याएमा देशव्यापी आन्दोलनको ज्वारभाटा ल्याउने चेतावनी दिएका छन् । ऐन बनाउँदा आफूहरुले दिएका सल्लाह र सुझावलाई आत्मसात नगरे आन्दोलनको ज्वारभाटा सुरु गर्ने उनीहरुको साझा चेतावनी थियो ।

शुक्रबार साक्षात्कारमा बोल्दै कर्मचारी नेताले मुलुक संघीय व्यवस्थाअनुसार अघि बढिरहेको सन्दर्भमा संघीयतालाई पूर्ण रुपमा कार्यान्वयन गर्नको लागि पनि संघको ऐन राम्रो बनाउनुपर्ने धारणा राखे । 

 ‘हामीले हाम्रो तर्फबाट सल्लाह र सुझावहरु दिएका छौं । सरकारले हाम्रा सुझावहरुलाई कार्यान्वयन गर्छ भन्नेमा आशावादी छौं । यदि हाम्रा सुझाव बेवास्ता गरियो भने फेरि मुलुकमा आन्दोलनको ज्वारभाटा सुरु हुन्छ । त्यसपछि के–के  हुन्छ ? भन्ने कुरा थाहा छैन् । अहिले नै सबैको ध्यान  पुगोस् ।’ ती नेताको भनाई छ । 

कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले सरकारले संघीय निजामती सेवा ऐन बनाउँदा आफूहरुले दिएका सल्लाह र सुझावलाई आत्मसात नगरे आन्दोलनको ज्वारभाटा सुरु गर्ने चेतावनी दिएका छन् । 

 नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपाल प्रसाद पोखरेलले संघीय निजामती सेवा ऐन बनाउने प्रक्रियामा आफ्नो संगठनको गम्भिर आपत्ति र असहमति रहेको स्पष्ट पारे । 

उनले भने,‘सरकारले हामी स्टेकहोल्डरसँग यो ऐनको विषयमा छलफल नै गरेको छैन् । यो ऐन हामी कर्मचारीसँग प्रत्यक्ष सरोकार राख्ने ऐन हो, त्यसैले हाम्रा राय, सल्लाह र सुझावलाई सकारात्मक रुपमा ग्रहण गर्नुपर्छ । यदि सुझाव लिँदैन भने यो त सरकारलाई नै घाटा हो ।’

पोखरेलले अहिलेपनि आधिकारिक ट्रेड युनियन जिउँदो रहेकोले सरकारले आधिकारिक ट्रेड यूनियनसँगै राष्ट्रियस्तरका ट्रेड युनियनहरुसँग छलफल गर्न सरकारलाई सुझाव दिए । प्रधानमन्त्रीले आफूहरुसँगको भेटवार्तामा ट्रेड युनियनहरुप्रति सकारात्मक धारणा राख्ने गरेकोले आफूहरुलाई त्यसले उर्जा प्रदान गर्ने गरेको पनि उनले सुनाए । 
 
नेपाल निजामती कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष लेखनाथ कोइरालाले आफुहरुसँग प्रत्यक्ष सरोकार राख्ने ऐन बनाउँदा सरकारले पर्याप्त छलफल नगरेकोमा आक्रोश पोखे । उनले भने,‘अहिले संघीय निजामती सेवा ऐन राज्य व्यवस्था तथा सुशासन समितिमा छ, दफाबार छलफल चलिरहेको छ ।’ उनले ऐन बनाउँदा आफूहरुजस्ता सरोकारवाला पक्षसँग छफल गर्नुपर्ने सुझाए ।

उनले भने,‘सरकार कानून र संविधानअनुसार चल्नुपर्छ । यस्तो महत्वपूर्ण ऐन बनाउँदा हामीसँग अनिवार्य रुपमा छलफल गर्नुपर्छ ।’ कर्मचारी विरोधी ऐन आउँदैन भन्नेमा आफुहरु आशावादी भएको पनि उनले सुनाए । 
 
नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष हरि बहादुर रावलले आफूहरुको भाग्य र भविष्यसँग जोडिएको विषय भएकोले संघीय निजामती सेवा ऐन’bout सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने बताए । 

उनले भने,‘हामीसँग छलफल नगरेकोमा हामी आक्रोशित छौं । हामीसँग सल्लाह नगरी ऐन ल्याईयो भने हामीलाई यो मान्य हुनेछैन् ।’
उनले अहिले बन्दै गरेको उक्त ऐन’bout आफूहरुलाई गुमराहमा राखिएको भएपनि मिडियाले त्यसका अन्तरवस्तु बाहिर ल्याईदिएको भन्दै धन्यवाद समेत दिए । उनले भने,‘अब आउने ऐन कर्मचारीमैत्री होस् । ट्रेड युनियनमैत्री होस् । हाम्रो भूमिकालाई नजरअन्दाज नगरियोस् ।’