भाइ मार्ने र गाई मार्ने दुवै पापी र अपराधी हुन।
देशमा भीरबाट खसाल्नु पर्नेहरू थुप्रै छन तर बिडम्बना निरीह पशु , गाईहरु खसालिन्छ्न । भीरबाट खसाल्नु पर्नेहरु शिरमा बसालिन्छ्न, लाचार छाँया र बेसरमीहरु खस्नु पर्ने भीरबाट, देवता भनेर आस्थाले पुज्ने मातृसमान गाईहरु खसालिएको दर्दानक स्थिति देख्नु सुन्नु र भोग्नु पर्दा कसको मन पोल्दैन र दुख्दैन होला ? माया संरक्षण र पालन पोषण गर्नुपर्ने पशु अनाहकमा मान्छेको अत्याचारको शिकार बनेको देख्दा हृदयहीनहरुलाई त्यो भीरले स्वागत गर्नुपर्ने हो जहाँबाट अबोध निरीह प्राणि गाईलाई निर्ममता पुर्वक हुत्याइयो, लडाइयो, अङ्ग भङ्ग बनाइयो र बीभत्स मृत्यु वरण गर्न बाध्य पारियो । विवेकको भ्याक्सेटाेमी भएका नकारात्मक उर्जाहुने हृदयहीनहरुको कुकर्मको रूपमा यो दुर्दशालाई चित्रित गर्नुपर्दा मन कामेको छ । मुटु आफ्नो ठाँउ भन्दा बाहिर पुगेको अनुभुति भएको छ । आखिर मान्छेमा किन यतिधेरै निर्ममता हावी भयो ? कता जादैछ हाम्रो सभ्यता ? किन कुटि कुटि मारिदैछन मान्छेको असली पहरेदार कुकुरहरू ? भुस्याहा कुकुर मार्ने जुन बिधि र पद्धति अपनाइयो त्यो विल्कुल राक्षसी प्रवृति र मानवोचित कार्य भएन । निर्ममता पुर्वक कुकुर मार्दा जुन चीत्कार पैदा भएको छ त्यो अपसगुन हो ।
आफैमा पनि कुकुर विरक्तिएर रुनुलाई अशुभ संकेत भनेर बुझिदै भोगिदै आएको नियति छ । भुकम्प आउने पुर्व संकेत दिने निरीह प्रा णि कुकुर ज्यादती पुर्वक मारिनु र अरण्य रोदन र चीत्कार सुनिनु अनिस्ठकाेे पुर्वाभास हो । मानवीय धर्म संसकृतिमा धेरै तिरबाट कालो पोत्न अभ्यस्त बन्दैछौ हामी हाम्रो सनातन धर्म संस्कृति र सभ्यता भुलेर निचता तर्फ उन्मुख बन्दैछौ । स्वचालित छौं कि परिचालित बन्दै छौं ? किन सुक्यो हाम्रो दयाको खानी ? प्राणिमात्रलाई दया गर्नुपर्छ, माया र ममता दर्शाउनु पर्छ , हिंसा पाप हो भन्ने बुद्ध भुमिमा बसेर किन बुद्धको अपमान हाम्रो अभिस्ट बनिरहेको छ । दया, माया, करुणा र स्नेह किन पोलेर खान विवश भयौ हामी ? अनाधिकृत रूपमा गाई हत्या गर्नुको मक्सद के हो ?
राष्ट्रिय जनावरको सामूहिक हत्या गर्न उक्साउने, योजना बनाउने र भीरबाट खसालेर हत्या समेत गर्न लगाउनेको अन्तर्य के हो ? गाईको कत्लेआम पछि प्राप्त हुने खुशी र चैन कसका लागि , कसको प्रयोजनमा किन हुँदैछ ? कुन मानवको कुन खुशी र आनन्दमा अबोध प्राणिहरुको अबरोध थियो ? कसरी बाधा र ब्याबधान खडा गरे निर्दोष पशुहरुले ? छाडा छाडिनु यिनिहरुको गल्ती किमार्थ हुन सक्तैन । जसले पशु चौपाया खुल्ला छोडेर अकर्तव्य गरे तिनैमाथि हुनुपर्थ्यो, हुनुपर्छ एक्सन तर पशु चौपाया त्यस माथि धार्मिक आस्थाले भरिपुर्ण, राष्ट्रिय जनावर प्रति यो हदको बर्बरता सोच्न पनि नसकिने पाप र अपराध दुवै हो । पशु चौपाया जसले छाडा छोडेर सडक बस्तीमा अलपत्र पारे ’em स्थानीय निकायको कार्यबाहिको पहिलो हकदार र कसुरदार हुन । औचित्य सकिएपछि, प्रयोजनहिन भए पछि आफुले पालेको चौपायालाई बेबारिसे बनाएर छाडदिनेहरू समाजका एकदम स्वार्थी मानव चोला ग्रहण गरेका अमान्छेहरु हुन ।
यूज एन्ड थ्रो गर्ने बर्गमा पर्दैन कुनै पनि पशु चौपायाको योगदान हाम्रो सामाजिक, ब्यबहारिक जीवनको लागि । तसर्थ उपयोगिता सकिए पछि पनि तिनको उचित ब्यबस्थापन गर्नु मान्छेको कर्तव्य र सामाजिक दायित्व हो । प्राणिमा गर्ने दया, माया र गुण ग्राहितामा पनि मान्छेको नैतिकता जोडीएको हुन्छ । पशु पंक्षी प्रति गरिने कर्तव्य र अकर्तव्यमा पनि नैतिकताको स्तर मापन हुनेगर्छ । चेतना शून्य मान्छे पनि गर्न डराउने, गर्न नसक्ने अकार्यको गाईगोरुहरु भीरबाट लडाएर मार्नु । कुकुर को दर्दानक हत्या गर्नु, हिन्दुहरुले पुज्ने र देवता तुल्य मान्ने माता समान श्रद्धा गर्ने गाईको सामुहिक बर्बरता पुर्वक गरिएको हत्या निन्दनीय र जति भ्रत्सना गरे पनि अपुग हुन्छ । अपुर्ण रह्न्छ । प्राणि जगतको हिंसा पाप नै हो यद्यपि प्राणि हिंसा स्वीकार गरिन्छ तर हिंसाको नाममा हुने अत्याचार र पासविकता कहालीलाग्दो दृश्य मानव मात्रको लागि अप्रिय र अशोभनीय छ ।
हुनत विगत केही वर्ष अघि क्रुरतापुर्वक मान्छेहरुको सामुहिक र एकल कत्लेआमको दृश्य दिन दिनै १२ वर्ष सम्म हेर्न खप्न, सुन्न र भोग्न बानी परेका हामी नेपाली गाई र कुकुरहरू मारेको दृश्यले जति दुख्नु पर्ने हो त्यति दुख्दैनौ । तथापि अलि कम भएको देशको राजनीतिक द्वन्द र मान्छे मारिने क्रम घटेको परिस्थितिमा पसुहरु प्रतिको त्यो क्रूररता सहन गार्हो भएको छ । झन देशमा राष्ट्रिय जनावर भनेर पहिचान दिएको जनवारको बीभत्स हत्या कानुनतः बन्देज लगाइएको विषय हो । राष्ट्रिय जनावर भनेर मानेपछि त्यो सुङुर होश या विरालो या होस भैसीनै त्यसको बध गैरकानुनी र अपराधजन्य हर्कत भित्र पर्छ । कुनै पनि प्राणिकाे हत्या र हिंसामा बर्बरता हावी हुनु राम्रो कुरा होइन । हिंसा पाप हो झन अमानवीय हिंसा र हत्या महापाप हो अधमको कुकार्य हो ।दण्डहीनता भित्र रहन्छ । दण्ड हिनता रोज्नै पर्ने अवस्था किन आयो ? कुनै समुदायको अधिकार कुन्ठित गरिनु हुन्न तर समुदायको हक कुन्ठित हुने निहुँमा गैरकानुनी काम गर्ने छूट दिनु भनेको अराजकता र विशृन्खल समाज बनाउने कारण बन्न पुग्नु हो ।
यहाँ कुनै समुदायले आफ्नो आस्था र रोजाइको प्रिय खान्की बनाएको अपवादको स्थिति पनि होइन यो त सरासर गरिएको अपराधिक पासविक सामुहिक हत्या हो । गाईको मासुलाई प्रिय भोजनको रूपमा ग्रहण गर्ने मुलुकमा पनि गाईको हत्या हुन्छ तर यति क्रूर हत्या गरिन्न । हत्या देखाएर गरिन्न । हत्या हुने पशु पंक्षीलाई आफ्नो हत्या हुँदैछ भन्ने आभास समेत हुन दिइन्न र पिडा बिहिन बधको शैली अपनाइन्छ । हाम्रो देशमा बीभत्स मृत्यु प्रदर्सन गरिन्छ । मान्छेको हत्या गरेर घिसार्दै लास घुमाइन्छ । घाटि रेटि रेटि अङ्ग भङ्ग गरेर मृत्यु रोज्न बाध्य गराएको दृश्य नाबालक केटा केटी आफन्त र श्रीमतीलाई देखाइन्छ यो हदको पासविकता देखाउनेहरु पनि आज देशको बागडाेर हातमा लिएर बसेका छन यस्तो बेला पसु प्रतिको निर्संस हत्या स्वभाविक नै हो कि ?
जुन सोंच र निर्देशनमा २९१ गाईलाई हत्याका निम्ति भिरबाट खसाल्ने प्रपन्च रचियो त्यही सोंच र निर्देशनले वर्तमान राज्यव्यवस्था अगाडि बढे यो देशको मौलिक अस्तित्व वैदिक सनातन हिन्दु, बौद्ध, मुन्धुम, जैन, बोन एवं अन्य पुर्वीय सभ्यता र सम्पदाका धरोहरहरू सुरक्षित रहलान ? हाम्रो पहिचानको सुरक्षा कसले गर्ने ? रक्षकहरु भक्षक पृष्ठभुमि र दायरा बाट आएका छन ।
अपराध अनुसन्धान गर्न पाईंदैन भन्ने भिड, ट्रकवाट गाई भिरमा खसाल्न पठाउने उपमहानगरपालिका, कुटी कुटी कुकुर मारेर कुकुर नियन्त्रण गर्ने बुद्दी भइएका नगरका जन प्रतिनिधि तथा कर्मचारी यी घटनाक्रमले भन्छ समाजमा अपराध मनाेबृत्तिले सिमा नाघ्याे । अपराध कर्म सामान्य र साधारण दैन्दिनको घटना भयो । अपराधिक सोच र शैलीको बोलवाला रह्यो ।
सभ्य समाज बनाउन ढोंंग रचेर होइन सभ्य भएर, बनेर देखाउनु पर्छ । चौपाया व्यवस्थापन मुलुकका थुप्रै भागमा देखिएको समस्या हो। तर समस्या छ भन्दैमा त्यसको वैज्ञानिक तरिका नअपनाई भीरबाट लडाएर वा मारेर व्यवस्थापन गर्नु उचित विकल्प होइन। फाइदा लिन सकुञ्जेल घरमै राख्ने र काम नलाग्ने भएपछि भीरबाट लडाएर मार्ने घटना सभ्य मानव समाजका लागि कुनै पनि हिसाबले स्वीकार्य हुँदैन। उमेर ढल्किएका पशुलाई छाडा छोडिदिने समस्या पनि मुलुकभर उत्तिकै छ। मुख्यतः पशुधनीले नै यसमा न्यूनतम मानवीय संवेदना देखाएरै भए पनि आफ्नो पशुलाई नमरुञ्जेल घरमै राख्नुपर्छ। उनीहरूको स्याहारसुसार गर्नुपर्छ। यदि गर्न नसक्ने हो भने मानव र पशुबीच भिन्नता नै के रह्यो र ? मुख्य–मुख्य सहर वा चौपायाको समस्या रहेको ठाउँमा कान्जीहाउस खोलेर उनीहरूलाई सामूहिक वासस्थानको व्यवस्था गर्नु उत्तम विकल्प हुनसक्छ।
दुध दिदा सम्म गौमाता दुध दिन छोडे पछि जाउमाता भनेर सडकमा छोडने जुन प्रवृति छ त्यो पशुतुल्य निचता हो।
आर्थिक दृष्टिकोणबाट हेर्दा उत्पादकत्व सकिए पछि आर्थिक भार भनेर गाई वस्तुलाई अलपत्र छोडने, सडक गल्लीमा पठाउने चलनलाई कडाइका साथ कानुनको घेरामा कस्नुपर्छ । आफुले पालन गरेका, हिजो तिनबाट फाइदा लिएका पशु पन्क्षीहरु प्रति मान्छेले दायित्व लिन छोडनु भनेको मानवता हराएको संकेत हो । मान्छेमा मानवीय भाव रहेन भने पशु र हामी बिच फरक कहाँ र कति रह्यो र । अन्याय पुर्वक मारिदा, छोडदा कुनै पनि प्रतिकार र गुनासो गरेर बोल्न सक्तैनन् अबोध पशुहरुभन्दैमा तिनीहरूलाई ज्यादती गरेर मार्नु पाप हो । पाप एक दिन जरुर लाग्छ । पाप गाई मार्नेलाई पनि लाग्छ । भाइ मार्नेलाई पनि लाग्छ । उनीहरू बोल्न जान्दैनन्, सक्तैनन् तर आत्माले पक्कै बोल्छ, धिक्कार्छ श्राप दिन्छ ।
हत्या आफैमा पागलपन र क्रूरताको पराकाष्ठा हो । सूर्खेतको जंगलमा ल्याएर गरिएको सामूहिक गौ हत्याको घटना होश या नगरपालिका भित्र कुकुर नियन्त्रण गर्ने नाममा अमानवीय तरिका अपनाउने नै किन नहोश सवै निन्दनीय एवं निकृष्ट कर्म हूँन । त्यती मात्र होईन हामी भित्रको मानवता विलाएको मान्छे पशुमा रुपान्तरण हुँदै गरेको दुखद स्थिति हो । देशमा भीर बाट खसाल्नु पर्ने थुप्रै विसंगतिहरु छन । खाल्टाेे खनेर पुर्नु पर्ने थुप्रै समस्या र जडताहरु छन । विकासको बजेटले गाडी किन्ने जबप्रतिनिधिको बुद्धि पुर्नु पर्ने हो । एम्बुलेन्स किन्न छोडेर त्यो बजेट भट्टीमा सिद्द्याएर भ्रस्टाचार गर्नेको दिमागलाई भीरबाट लडाउनु पर्ने हो । राजनीति सेवा हो भनेर छिर्ने अनि राजनीतिलाई पेशा र ब्याबसाय बनाएर असुली धन्दा गर्नेहरुको मस्तिष्कलाई हो अनकन्टार जंगलमा लगेर छोडनु पर्ने । दुर्भाग्य गौमाता जसलाई पुजिन्छ, ढोगिन्छ र पवित्र मानिन्छ तिनलाई हुत्याइन्छ भीरबाट ।