छि: घरबेटी ‘बा’ अलिकति सरम त मान्नुस् !

जुन सुकै दर्जा, जुनसुकै हैसियत, जति सुकै सम्पन्न भए पनि अप्ठ्यारोमा काम नलाग्ने धन र मानवताको महत्व के रह्यो र ? न आफ्नो धन न अर्काको कमाइ कसैको सम्पति पनि स्वर्ग जाने भर्यांग बन्दैन ? आदरणीय घर भेटीहरु दुख, अप्ठ्यारो र आपदमा तपाईमा दया पलाएन भने दया भन्ने चिज कहिलेको लागि साँचेर राख्नुहुन्छ ? यतिन्जेल तपाईको छानोले दिएको ओत बिना पैसा दान दातव्यमा या निशुल्क थिएन । आज रकम जोहो गर्न अप्ठ्यारो छ ।

संसार कोविड – १९ कोरोनको कारण अधकल्चो अवस्थामा छ । अर्थ व्यवस्था तहस नहस छ । सामाजिक संरचना थिलथिलो भएको छ । आर्थिक गतिबिधि अत्यन्त न्यून छ । मान्छेहरु समस्याग्रस्त र भयग्रस्त छन । यस्तै बेला आफूलाई देशको चौथो अङ्ग दावी गर्ने पत्रकारहरु पेशाबाट निकालिए ।

अरुको दुख पिडा अन्याय र अत्याचारमा बोल्ने, समाजको सबै पक्षको हरेक कोणबाट उत्खनन गर्ने कतिको पिडामा मल्हम लगाइदिने अनि कतिको घाउमा नुनचुक र अमिलो छरिदिने पत्रकारहरु आज स्वयं आफै हिजो जस जसको जस्तो समाचार लेखे त्यस्तै भएका छन, निरिह भएका छन, यिनका पक्षमा पनि कसैले कलम चोबी दिनु पर्ने भएको छ त्यही धर्म निभाउने क्रममा यसै अन लाइनका लोकप्रिय स्तम्भकार युवराज आचार्यले छि: साहुजी शीर्षकमा अत्यन्तै विचारोत्तेजक आलेख तयार गर्नु भएको थियो । दुख लेखिदिने पत्रकारको दुख उहाँले उठान गर्नु भयो खबरदारी गर्नु भयो र पत्रकारको योगदान र पसिना सम्झाउनु भयो ।

सस्ता श्रम बजारका श्रमिक, सस्ता कामदार सम्झेकोमा दुख पोख्नु भयो । मालिकहरुको लघुचित्तमा घन बजार्नु भयो । उहाँले उठान गरेको विषय जस्तै आम घरभेटीको ब्यबहार र चरित्र अनि भाडामा बस्नेहरुको दुख लेख्ने जमर्को मैले पनि गरे ।

निसंकोच उहाँको शीर्षक प्रभावमा परेर यो आलेख तयार गरेको छु । मेरा  धेरै शुभचिन्तक अनि घरभेटीको मार खप्न अभिशप्त पिडित मान्छेहरुले आफ्नो जस्तो बेदना पनि पढ्न र सुन्न पाए हुन्थ्यो भनेर संदेश पठाउनु भयो । घरभेटीको पिडा र सास्ती ज्यादै भए पनि अहिले आएर भएको चरम निर्दयीपनले भने धेरैको होश उडेको छ ।

घरभाडा तिर्न नसकेको पीडाले जीवन समाप्त पार्दै गरेको अवस्था पनि देखिएको छ । मानसिक टर्चर र धेरैको परिवार र बच्चा बच्चिमा गहिरो मानसिक विक्षिप्तता पनि पैदा भएको छ । महिना बित्न नपाई ढोका ढक ढक पार्ने घरभेटि अहिले अब अति भयो तीन महिना भयो, दुई महिना भयो अब अचाक्ली भयो, भयो पैसा नदिने हो भने पुलिस ल्याउछु, सामान जफत गर्छु, कोठा खाली गर्नुस, हामीले चै ढुंगामाटो खाने, हाम्रो आयश्रोत अरु छैन, भनेर बच्चा बच्चिको अघि नै बोल्न थाले, पानी नदिने, टोइलेट नदिने, फोहोर कोठा नजिक राखिदिने जस्ता अत्यन्त आपत्तिजनक दुर्व्यवहार गर्न थाले, तुच्छ बोल्न थाले, मानवीयता भुलेर अत्यन्त कठोर र निर्मम ब्यबहार प्रदर्शन गर्न थाले ।

यस्तोबेला गाँस खोसिएका, उद्धम गर्न नपाएका, लगायत यावत आर्थिक गतिबिधि गर्न नपाएकाहरुले समयमा घर भाडा तिर्न सकेनन, तिर्ने स्थिति बनेन, ऋणपान दिने पनि भएनन् । ऋण दिनेहरु पनि भोलि आफैलाई अप्ठ्यारो पर्ने कारण ऋण दिन मान्दैनन । कयौ बेरोजगार भए कति अर्ध बेरोजगार बने कतिको रोजगारी छ तलब छैन, साहु गायब छन, कति पूर्ण बेरोजगार बने तसर्थ ती गरिखाने काम गर्दा खान पाउने, मुश्किलले ज्यान पालेर कसैको घरमा बस्ने, कसैको घरबारी लिएर पेशा गर्ने, उद्योग ब्यबसाय गर्ने, सामान्य मान्छेको अवस्था र पिडा दर्दनाक छ । यस्तोबेला नागरिक सरकार खोज्छ तर सरकार आफै झगडा गरेर आफै लडेर चुच्चो ठुंगा ठुग गरेर रक्तमुछेल र जीवन मरणको दोसाँधमा छ । यस्तोबेला कता सरकार खोज्न जानु ? घर भाडा छूट दिनु हामी कर लिन्नौ भनेर बोल्यो तर नीतिगत निर्णय गरेर लागू गराउने फुर्सद सरकारलाई छैन ।

एक तहको नागरिक असाध्यै अप्ठ्यारोमा छ । दुई छाक खान छोडेर एक छाक खाएर ४ महिनाको लक डाउन धानेको नागरिक अब अर्को एकछाक समेत खाने अवस्थामा छैन यस्तोबेला घरभाडा, जग्गा भाडा कसरी तिर्नु ? किन मानवियता जस्तो धर्म भुलेर घरभेटि, जग्गावालाहरु राक्षसी प्रवृतिमा प्रवृत बन्दैछन ? पैसा आफै फल्दैन, श्रम पसिना र मेहनत पोख्नुपर्छ, सो पोख्न अल्छी लागेर पक्कै भाडा दिन ढिला गरेका, दिन नसकेका होइनन । बैंक ब्यालेन्स थियो हुन्थ्यो भने झिनामसिना काम गरेर बस्दैनथे । साथमा पैसा हुन्थ्यो भने स्वाभिमान गिर्ने आत्मसम्मानमा चोट लाग्ने, हृदयमा ठेश पर्ने वचन सुन्ने र खप्ने रहर हुदैनथ्यो । एक पटक झुक्काएर हुन्थ्यो, पुग्थ्यो भने बर्षौसम्म एकै घरमा भाडा तिरेर बस्ने गर्दैनथे । इज्जत भाडा लिनेको मात्रै हुन्छ भाडा तिरेर बस्नेको हुदैन भन्ने छैन । इज्जत चाहिनेले इज्जतमा बस्न सक्नुपर्छ । घर भाडामा बस्ने उसै र निगाहमा बसेका होइनन । इमान्दार बन्न खोज्दा खोज्दै पनि बन्न नसक्ने स्थिति बुझ्न सक्ने सामर्थ्य भएन भने मान्छे हुनुको अर्थ दुई खुट्टामा सुरुवाल लगाएर हिंडे पनि नग्न लाग्छ ।

जुन सुकै दर्जा, जुनसुकै हैसियत, जति सुकै सम्पन्न भए पनि अप्ठ्यारोमा काम नलाग्ने धन र मानवताको महत्व के रह्यो र ? न आफ्नो धन न अर्काको कमाइ कसैको सम्पति पनि स्वर्ग जाने भर्यांग बन्दैन ? आदरणीय घर भेटीहरु दुख, अप्ठ्यारो र आपदमा तपाईमा दया पलाएन भने दया भन्ने चिज कहिलेको लागि साँचेर राख्नुहुन्छ ? यतिन्जेल तपाईको छानोले दिएको ओत बिना पैसा दान दातव्यमा या निशुल्क थिएन । आज रकम जोहो गर्न अप्ठ्यारो छ ।

विषम परिस्थिति छ यस्तोबेला तपाईलाई कठोर हुन सुहाउछ र ? सरकारको लाज हरायो भनेर तपाईको पनि लाज हराउनु हुदैन । एक जिम्वेवार नागरिक आफु भन्दा निम्नआर्थिक स्तरको मान्छेको लागि सरकार भन्दा ठुलो र महान बन्न सक्छ ? महान बनेर सबैले भलो भनेको सुन्न चाहनुहुन्छ कि निन्दाको टपिक ? पिडितलाई पिडा थोपरेर, तिनको भोको पेटमा लात मारेर तिनका लालाबालाको खोले खाने अभिलाषा कुल्चेर आफू डकार्दै खानुमा के मजा छ र ? ओत लाग्न छानो दिएर थुप्रै वर्ष रकम लिए पछि तिनलाई परेको मर्कामा हेर्ने, कन्सिडर गर्ने तपाईको मानवीय कर्तव्य हो । छि घरबेटी बा अलिकति सरम त मान्नुस् ! उदारता देखाउनुस । हेर्नुस त तपाई भन्दा कम्जोर आय भएका घरबेटीको उदारता ? तपाई भने किन यतिविधि कन्जुस ?

 भूकम्पले महलमा बस्ने, डेरामा बस्ने र सडकमा सुत्ने, सबैलाई समान ठानेर सडक बास बसाएको र कोरोनाले सबैलाई घर भित्र थुनेको यथार्थ नजर अन्दाज गरेर कति लोभ गर्नुहुन्छ ? सम्पति भन्दा ठुलो कुरा मानवियता, सहृदयता, सद्बभाव, सहयोग र आत्मियता भन्ने कुरा प्राकृतिक र दैवी विपत्तिले सिकाएको यति छिटै बिर्सन मिल्छ र ? सबै कुराको निर्धारण कानुन र व्यवस्थाले मात्रै गर्दैन मानवीय, मुल्य, विवेक र धर्म अनि असल मनले पनि गर्न सक्छ नि हैन र ? तपाईलाई थाहा छ घर भेटी बा ? घर भाडा तिर्न तपाईले निरन्तर दिनु भएको दवाब र छोराछोरीको भविष्य देखि निराश भएर निरुपाय बनेर बाउ आमा छोराछोरी सबै हाम फालेर मृत्युको उपाय रोजेका समाचार सुन्नु भएकै होला । डेरामा बस्ने, तपाईको घर, खेत, सटर भाडामा लिएर बन्द व्यापार गरेर उद्योग र ब्यबसाय कलकारखाना चलाएर नै शहरहरु सहर बनाउने तिनै डेरावालहरुको श्रम पसिना सिप र कर्मले हो ।

तपाईको घर भाडामा गएको पनि तिनै मान्छेहरुको बासको आवस्यकताले हो । तसर्थ श्रम सिप, पेशा र ब्यबसाय गर्ने कल कारखाना चलाउने त्यहाँ काम गर्ने सबैको आ आफ्नो इज्जत छ । श्रम गर्न नपाएर पैसा तिर्न नसक्ने, ढिला गर्नेहरु तुच्छ मानव र तपाई मात्रै उच्च होइन नि ? तपाईले सरकारलाई कर तिर्न जसरी छलछाम गर्नु भएको छ कम कर तिर्नु भएको छ तर बदलमा तपाईले डेरावालसँग बत्ती, पानी र फोहोरको पैसा कन्दनी कसेर लिनु भएको छ । न्युनतम प्रयोगमा अधिकतम रकम असल्नु भएको छ कतिपय ठाउँमा सरकारी अधिकतम रेट भन्दा पनि बढी बिजुली, पानी ढल र फोहोरमा रकम दावी गर्नु भएको छ ।

नैतिकता आफ्नो पनि हेक्का राख्नुस आज समयमा पैसा दिन नसक्नेलाई तड्पाउन र धम्काउन छोड्नुस । तपाईकोमा बहाल बाध्यताले लिएका हुन्छन मान्छेहरुले तसर्थ बाध्यतालाई छाला काड्ने गरि असुल्ने धन्दा नगर्नुस तपाईको अनुदारताले स्वर्गको ढोका फराकिलो बन्दैन । बरु दुख अप्ठ्यारो र असहजतामा तपाईले लगाउनु भएको गुण तपाई र तपाईको सन्ततिको असहज परिस्थितिमा कुनैबेला गुणकारी भएर फिर्ता हुनेछ । संकट सबैलाई पर्न सक्छ तसर्थ परोपकारी बन्न सक्ने हदसम्म त्यता लाग्नुस् । सरकारले छूट दिएको कर छूट लिएर आफ्नो जग्गाजमिन भाडामा लिनेलाई अचाक्ली गर्नु भएको त छैन ? एक पटक सोच्नुस र सम्झनुस त घरबेटीबा सरकारलाई कम भाडा दिएर उसै पनि तपाईले छल गर्नु भएकै छ नि होइन र ? कम कागज गरेर बढी भाडा असुल्ने अनि सरकारलाई कम कर तिर्ने तपाई नै होइन र ?

असन्तुस्ट बनेर जति धन थुपारे पनि कहिल्यै पुग्दैन, सन्तुस्टी र परोपकारी कर्म बिनाको धन के काम बा ? द्रव्य पिचास हैन द्रव्यको सहि ब्यबस्थापन गर्ने कौशल सिक्नुस । कृति राख्नुस बिकृति नपाल्नुस । मित्र कमाउनुस शत्रु घटाउनुस ।

अब डेरावालका कुरा

मर्कामा डेरावाल मात्र छैनन्, घरभेटि पनि छन् । घरबेटीका पनि दुख छन । कति दुख र ऋण पान गरेर, घर बैंकमा राखेर घर निर्माण भएको हुन्छ । बैंकको ऋण र किस्ता समयमा तिर्न सकिएन भने ब्याजको स्याज तिर्नुपर्ने हुन्छ । त्यही घर धितो राखेर छोराछोरीलाई स्कुल कलेज पढाउने देखि विदेश पठाउन ऋण कदिएको हुन्छ । दुख बिमार पर्दा बाउ आमा छोराछोरी र आफ्नो उपचार गर्न घर बन्धक राखेको पनि हुनसक्छ ? तर भाडावालले समयमा पैसा दिदैन, उल्टो धम्काउछ, झन् बुढाबुढी घरबेटी हुदाँ उल्टो सताउने र तनाब दिने पनि छन ।

धेरै वर्ष बस्ने गुण्डागर्दी गर्नेछोरी चेलीलाई दुर्व्यहार गरिदिने देखि घर नै आफ्नो बनाउन अनेकन किर्ते कर्म गर्ने नादानीहरु पनि समाजमा भाडामा बस्नेहरुको चरित्र छ । भाडावालले अनेकन आरोप लगाएर छोरी चेली प्रयोग गरेर हनी ट्रयाप युज गरेर ब्ल्याक मेलिंग गरेर सताएको पनि प्रसस्त घटना छन । यस्ता खराब प्रवृति दुवैतिर छन । बाध्यताले भाडा तिर्न नसकि रातारात भागेर जानेहरुलाई त ईश्वरले क्षमा दिन्छन होला तर जसले घरबेटीको मुख मोसेर, तिनका जहाँन परिवारको विचल्ली बनाएर धन कमाए, संचित गरे तर भाडा तिरेनन, तिर्न आनाकानी गरे तिलाई भने सजाय गर्न ईश्वर र कानुन दुवैले छुट गर्दैनन् ।

त्यस्ता उदार घरबेटी पनि यही समाजमा छन । लेस मात्र पनि घरबेटीको घमण्ड गर्दैनन् ब्यबहार बुझछन सहयोग गर्छन, अभिभावकीय भूमिका खेल्छन, पारिवारिक सदस्य झैँ बसाउछन ती सदैव श्रद्दा योग्य छन । आम मान्छेले प्रश्न गर्ने घरबेटी भित्र ’em पर्दैनन् । ’emको विशिस्ट श्रेंणी छ । उदाहरणयोग्य छन, देशका असल नागरिक हुन् । सुख दुख बुझ्ने बिशाल हृदय भएका छन त्यस्ताबाट लाभान्वित हुने थोरै मान्छे भित्र म आफू पनि छु भन्दा गर्व लाग्छ । कतिपयले असाध्यै दुख पनि दिए तर ’em आज देख्दा र भेट्दा पनि कुनै श्रद्दा र अपनत्व जाग्दैन त्यसैगरी आफ्नै घर झैँ घरबेटी र घरलाई आफ्नो डेरा अनि कार्यस्थललाई माया गर्ने, आश्रय दिएकोमा कृतज्ञ बन्ने डेरावाल पनि छन ।

त्यस्ता दुष्ट कसैको लागि पनि घरबेटी र भाडावाल दुवै नपरुन । समग्रमा यहाँ प्रतिनिधि मुलक घटना राखेको हो प्रवृति र विशेषता बताएको हो । देशभर अहिले घरबेटी र डेरावाल भाडावाल र भाडा दिने बिचको तनाब छ । यी दुई पक्ष बिचको तनावले धेरै दुखद घटना दुर्घटित भएका छन्, झगडा र लफडा मच्चिएका छन । थुप्रै डेरावालहरु र केही घरबेटीहरु तनावमा परेर असह्य बनेर मनोसामाजिक समस्या लिएर मनोचिकित्सकहरु भेटने क्रम धेरै बढेको चिकित्सकहरुको अनुभव छ ।

त्यस्तै बिबिध खाले परामर्श दिने रेडियो कार्यक्रममा यस्ता समस्याको जड र प्रश्न आएको प्रस्तोताहरुको भनाइ छ । घरबेटी र भाडावाल न्याय पाइएन भनेर वकिलसँग जाने र मुद्दा मामिला गर्ने क्रममा पनि उल्लेख्य वृद्दि भएको वकिलहरुको भनाइ सार्वजनिक भएको छ । यी र यस्ता यावतघटना र परिवेशलाई  सामान्य रुपमा लिइयो र घरबेटी र डेरावालको वैमनस्यतालाई बुझ्न सकिएन भने भित्र भित्र सल्केको समस्या भयाबह बनेर बिस्फोट हुने खतरा छ । सबैको सुझबुझ, सहिष्णुता, संयम र ब्यबस्थापकीय भूमिका अनि सरकारको स्पस्ट नीति निर्देशन बिना समस्या अब बल्झने र अरु खतरा उन्मुख हुने सम्भावना टड्कारो छ सम्बन्धित सबैको ध्यान केन्द्रित होस् ।