एसिड आक्रमण प्रकरण : चेलीबेटीलाई कसरी बाहिर पठाउने ?

पर्सा, २४ भदौ । वीरगन्ज महानगरपालिकामा विद्यालय जाँदै गरेकी एक छात्रामाथि गत हप्ता एसिड प्रहार भएपछि पर्साका महिलाहरूले आफ्ना चेलीबेटी टोलछिमेकमै असुरक्षित हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उक्त घटनापछि विद्यालय वा काममा जाने चेलीबेटीलाई घरबाट निर्धक्क बाहिर निस्किन झन् गाह्रो बनाएको उनीहरूले बताएका छन् ।

एसिड आक्रमणमा परेकी ती किशोरीको अहिले कीर्तिपुरमा उपचार भइरहेको छ । उनकी आमा शहनाज खातुन पनि अन्य आफन्तसँग छोरीको उपचारमा काठमाण्डू आएकी छिन् ।

आक्रमणकारी किशोरहरू पीडित छात्राका छिमेकी भएका र उनीहरूमध्ये एक जनाले ती छात्रालाई मन पराउने गरेको जानकारी पाएको प्रहरीले बताको छ । बीबीसी संवाददाता माधुरीले महतोले पर्साका केही महिलासँग कुराकानी गरेकी छन् । उनीहरूले दोषीलाई कडा सजाय दिनुपर्ने माग राखेका छन् ।

शहनाज खातुन, आमा

मैले यस्तो हालतमा छोरीलाई हेर्न सकेकी छैन । सहन कठिन भएको छ । आफ्नो आर्थिक स्थिति राम्रो नभए पनि छोरीलाई राम्रो शिक्षादीक्षा दिएर जीवनमा केही गर्ने मौका दिनुपर्छ भनेर पढाउन पठाएँ । 

अस्पतालको उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ता बढेको छ । मेरी छोरीलाई यस्तो अवस्थामा पुर्‍याउनेहरूलाई कडा सजाय हुनुपर्छ ।

रेहाना खातुन, माइजू

अरूले मन पायो भन्दैमा मान्नै पर्छ भन्ने छ र ? नमानेमा एसिडले प्रहार गर्ने? यस्तो त हुनुभएन । एसिड प्रहार गर्नेलाई यस्तो सजाय हुनुपर्‍यो कि आइन्दा कुनै पनि छोरीले यस्तो भोग्नु नपरोस् । कसैले यस्तो काम गर्ने सोच्न पनि नसकून् ।
 
उनीहरूले अहिले हाम्री नानीको कस्तो नराम्रो हालत बनाइदिए । जेल परे पनि उनीहरू आरामले बसिरहेका छन् । तर हाम्री छोरी अस्पतालमा पीडाले छटपटाइरहेकी छन्। हामी सबै त्रस्त छौँ ।

बिहानै स्कूल कलेज कसरी जाने, कसरी पठाउने ? अहिले यहाँका अभिभावकमा त्रास छाएको छ । उनीहरूलाई यस्तो कडा सजाय दिइओस् कि हाम्रा छोरीहरू निर्धक्क भएर स्वतन्त्र रूपले बाहिर निस्कन पाऊन् ।

रिना देवी, छिमेकी

त्यस्ता अपराधीलाई फाँसी दिनुपर्छ भन्ने हाम्रो माग छ । एसिड आक्रमणमा परेकी केटी संस्कारी थिइन् । कहिले गलत कुरा नबोल्ने गलत काम नगर्ने ।

उनैलाई कस्तो दुस्खदायी घटना पर्‍यो । मनमा धेरै डर लागिरहेको छ । छोरीबुहारीलाई कसरी सुरक्षित बनाउने? आज उनलाई यस्तो पर्‍यो । भोलि कुन छोरीको हविगत उस्तै हुने हो ? झन् डर लाग्न थालेको छ । त्यसैले यस्तो सजाय हुन पर्‍यो कि अब आइन्दा कसैले त्यस्तो नगरून् ।

नाजमा खातुन, छिमेकी

सबैका छोरीबुहारी, दिदीबहिनी छन् । अर्काका छोरीबुहारी पनि हाम्रा छोराबुहारीजस्तै हुन् । कसैको प्रेम प्रस्ताव अस्वीकार गर्दैमा एसिड छ्यापिदिने ? त्यो त भएन ।

कडा सजाय भएन भने त जेलमा केही वर्ष सजाय काट्छन्, उनीहरू झन् बिग्रेलान् । उमेर कम होस् या बढी दोषी दोषी नै हो । त्यसैले कडा सजाय दिनुपर्छ ।

किशपति देवी, छिमेकी

ती केटाहरूले जे गरे त्यो सम्झँदै धेरै रिस उठ्छ । सबै महिला र छोरीहरूमा त्रास उत्पन्न भएको छ । आफ्नै आँखाअगाडि हुर्केकी शालीन र शान्त स्वाभावकी छोरीमाथि उनीहरूले के गरे ?

अब फेरि यस्तो घटना नदोहोरियोस् भनेर कडा खालको सजाय होस् ।

के भएको थियो ?

शुक्रवार बिहान पीडित किशोरी विद्यालय जाँदै थिइन् । उनीमाथि गणेशमान चोकनजिकै दुई युवकले एसिड छ्यापिदिए ।

विद्यालय जाने गल्लीमा रहेको पसलनजिकै पहिलादेखि नै बसेका दुई किशोरले विद्यालयको पोसाकमा आएकी ती छात्रामाथि एसिड प्रहार गरेर भगेको प्रत्यक्षदर्शीले बताएका छन् । 

एसिड आक्रमणपछि छात्रा चिच्याइन् । त्यसपछि उनलाई स्थानीय बासिन्दाले नारायणी अस्पतालमा लगे । पीडित र ती युवकहरू छिमेकी भएको बताइएको छ ।

किशोरीको अवस्था कस्तो छ ?

घाइते किशोरीको शरीरको १० प्रतिशत भाग डढेको छ । उनी अझै खतरामुक्त भइनसकेको चिकित्सकले उनको परिवारलाई बताएका छन् ।

एसिडले उनको दायाँ भागको अनुहार, दुवै हात, घाँटी, छाती, पाखुरा जलेको बताइएको छ । वीरगन्जमा मात्र नभएर पूरै प्रदेश नम्बर २ मा शरीर जलेको वा एसिड आक्रमणमा परेका मानिसको उपचार गर्ने क्षमता भएको अस्पताल नभएकाले उनलाई काठमाण्डू लगिएको छ ।

परिवारको आर्थिक अवस्था कमजोर छ । पर्साका सांसद तथा नगरप्रमुखले उपचारका लागि उनलाई काठमाण्डू पठाउन आर्थिक सहयोग गरेको बताइन्छ ।

प्रदेश नम्बर २ का मुख्यमन्त्रीले सहयोगस्वरूप पाँच लाख रुपैयाँ दिने घोषणा गरेका भए पनि परिवारले उक्त रकम नपाएको बताएको छ । उपचारका लागि ५० हजारभन्दा बढी उधारो लिइसकेको पीडित किशोरीकी आमा शहनाज खातुनले गुनासो गरेकी छन् ।

घटना भएकै दिन शुक्रवार पक्राउ परेका दुवै किशोरलाई अदालतबाट म्याद थप गराई अनुसन्धान प्रक्रिया अगाडि बढाएको पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए ।

नेपालको अवस्था कस्तो छ ?

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७१।७२ देखी चालु आर्थिक वर्ष २०७६र७६ सम्म एसिड प्रहारका १६ वटा घटना भएका छन् ।

ती घटनामा १४ महिला र तीन पुरुष पीडित भएका छन् । आक्रमण गरेको आरोपमा २१ जना पक्राउ परेका थिए। तीमध्ये १६ जनामाथि मुद्दा दर्ता भएको छ । अधिकांश पीडित किशोरी छन् ।

प्रहरीले एकपक्षीय प्रेम, श्रीमान् श्रीमतीबीच खटपट, रिसइवी, लेनदेन आदि विषयमा एसिड आक्रमण भएको बताएको छ ।

कस्तो सजाय हुन्छ ?

पर्सा जिल्ला अदालतकी अधिवक्ता प्रतिमा चौरसियाले कतिपय घटनामा फौजदारीसँगै घरेलु हिंसाअन्तगर्त पनि मुद्दा चलाउन सकिन्छ ।

उनका अनुसार मुलुकी फौजदारी ऐनमा पनि एसिड आक्रमण गरी कुरूप पारेमा तथा अनुहारमा क्षति गरेमा पाँचदेखि आठ वर्षसम्मको कैद तथा एकदेखि पाँच लाख रुपैयाँसम्मको दण्डको व्यवस्था रहेको छ ।

शरीरका अन्य भागमा तेजाबले कुरूप पारेमा तीनदेखि पाँच वर्षसम्म कैद र ५० हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ । उक्त रकम पीडितलाई क्षतिपूर्तिबापत दिने व्यवस्था रहेको उनले बताइन् ।

आक्रमणकारीले एसिड कहाँबाट ल्याउँछन ?

अधिकांश घटनामा पीडकले सजिलैसँग थोरै मूल्यमा बजारबाट एसिड किनेको पाइएको छ । एसिड बजारमा छ्यापछ्याप्ती पाइने भएकाले यसको दुरुपयोग रोक्न चुनौती थपिएको देखिन्छ ।

एसिडको उत्पादन, खरिद तथा बेचबिखनमा कडा नीतिनियम ल्याउन महिला अधिकारकर्मीहरूले माग गरेका छन् । आइतवार बसेको संसद बैठकमा पर्साका सांसद प्रदीप यादवले एसिड आक्रमणमा परेकी किशोरीको उपचारमा सरकारले सहयोग गर्नुपर्ने माग गरे ।

उनले वर्तमान कानुनले पीडक उम्किन सक्ने भन्दै कानुन संशोधन गर्न पनि आग्रह गरेका थिए । आइतवार संसद्‍मा उपस्थित अधिकांश सांसदहरूले एसिड आक्रमणबाट घाइते भएकी किशोरीको निःशुल्क उपचारको व्यवस्था गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका थिए ।

किशोरीमाथि भएको आक्रमणको विरोध गर्दै कडा सजायको माग गर्दै वीरगन्जमा विभिन्न समूहले प्रदर्शन गरेका छन् । बीवीसी