७ वटा हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

काठमाडाैं । लुक्लाबाट काठमाडौ उडेका ७ वटा हेलिकप्टर माैसम खराबीकाे कारण आकस्मिक अवतरण भएका छन् । काभ्रेको पाँचखाल र  सिन्धुली नेपालथोकमा गरी ७ वटा  हेलिकप्टर  आकस्मिक अवतरण भएका हुन् ।

पाँचखाल २ जोरपाटी र हर्सेमा ४ वटा हेलिकप्टर र सिन्धुली नेपालथोकमा ३ वटा हेलिकप्टर आकस्मिक अवतरण गरेकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको जानकारीअनुसार मनाङ्ग एयर २ वटा, सिम्रिक र कैलाश एयरको १/१ वटा गरी ४ वटा हेलिकप्टर आकस्मिक अवतरण भएका छन् ।

मनाङ्ग एयरको दुबै  हेलिकप्टरमा ५ं/५ विदेशी यात्रु,  कैलाश एयर २  विदेशी यात्रु र सिम्रिक एयरमा ५ यात्रु सवार रहेको थिए । त्यसै गरी चार जना चालक दलका सदस्यहरु रहेका थिए ।

सिन्धुलीकाे नेपालथाेकमा अवतरण भएकाे मध्ये एउटा हेलिकप्टर प्रहरी पुग्नु अगावै उडेकाे थियाे । त्यस्तै नेपालथाेकमा अवतरण भएकाे हेलिकप्टरमा जर्मन र अमेरिकी नागरिक ५ जना र चालक १ सहितकाे अल्टिच्यूड एयरकाे हेलिकप्टर रहेकाे प्रहरीले जनाएकाे छ ।