डायलासिस गर्दा प्रधानमन्त्रीलाई संक्रमण, अझै केही दिन अस्पतालमै


काठमाडौं, कात्तिक १४ : प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार राजधानीको ग्राण्डि इन्टरनेस्नल अस्पतालमा मिर्गौलाको डायलासिस गर्दा संक्रमण भएको छ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार ओलीको मिर्गौलाले काम नगरेपछि बुधबार आकस्मिक रुपमा डायलसिस गरिएको थियो। डायलासिस गर्नेक्रममा उनको रगतमा संक्रमण देखिएको छ । ‘डायलासिस गरेपछि प्रधानमन्त्रीलाई संक्रमण देखिएको छ, के कारणले भएको हो भन्ने अहिले इन्भेष्टिगेशन भैरहेको छ’ प्रधानमन्त्रीको उपचार टिममा रहेका एक चिकित्सकले भने, ‘रगतको कल्चरको रिपोर्ट आएपछि के संक्रमण भएको हो थाहा हुन्छ।’ 

संक्रमण नियन्त्रण गर्न प्रधानमन्त्रीलाई उच्च सतर्कता सहित केही दिन अस्पतालमै राखेर उपचार गरिनु पर्ने भएको छ। 

प्रधानमन्त्री सचिवालय र उनका निजि चिकित्सकहरुले भने प्रधानमन्त्रीको मिर्गौलाको डायलासिस गरिएकोलाई अझै गोप्य राखेका छन्। प्रधानमन्त्रीले बुधबार एक घण्टा लगाएर डायलासिस गरिएको छ । आज २ घण्टा डायलासिस गर्ने तयारी छ । शुक्रबार तीन घण्टाको डायलासिस गरेपछि मात्रै पहिलो चरणको डायलासिस सम्पन्न हुन्छ।
प्रधानमन्त्रीको मिगौलाको अव नियमित डायलासिस गर्नुपर्ने हो की होईन चिकित्सकहरुले खुलाएका छैनन् । यद्यपी मेडिकल साइन्समा डायलासिसमा गैसकेपछि कि नियमिति डायलासिस गर्ने नभए प्रत्यारोपणमा जाने बाहेकको विकल्प हुदैन। -काठमाडौं प्रेसबाट साभार