एन आई सी एशिया बैंक र युनियनपे इन्टरनेशनलको सहकार्यमा भर्चुयल कार्डको सुरुवात


एन आई सी एशिया बैंक लिमिटेडले युनियनपे इन्टरनेशनलको सहकार्यमा एन आई सी एशिया युनियनपे भर्चुयल कार्डको प्रयोगबाट भुक्तानी गर्ने गरी भुक्तानी प्रणालीको शुरुवात गरेको छ । एन आई सी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यू र युनियनपे इन्टरनेशनलका अध्यक्ष श्री चाई जियानबोज्यूको प्रमुख आतिथ्यतामा नेपालमा आधिकारिक रुपमा युनियनपे भर्चुयल कार्ड शुरु गरीएको हो । उक्त कार्यक्रममा युनियनपे इन्टरनेशनल र एन आई सी एशिया बैंकका उच्च पदाधिकारीहरुको सहभागिता रहेको थियो । सो सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सेवासंग एकिकृत गरी छिट्टै ग्राहक महानुभावहरु सामु लैजाने योजना बनाएको छ । साथै, यस सुरुवातले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सुदृढिकरण हुने विश्वास बैंकले लिएको छ ।

नेपाल सरकारबाट घोषित पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आगन्तुक पर्यटकहरुलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने विश्वास लिइएको छ । युनियनपे इन्टरनेशनलले विश्वभरका १७५ भन्दा बढी मुलुकहरुमा भुक्तानी सेवा बिस्तार गर्नुका साथै ८ अर्ब भन्दा बढी कार्ड जारी गरेकोे छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८२ एटिएम, ८४ वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १८ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बैकिंङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १० अर्ब ८ करोड रुपैयाँ भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।