प्रधानमन्त्रीको एपेन्डिसाइटिसकाे शल्यक्रिया सकियो, अस्पतालमा केहि दिन बस्नुपर्ने

काठमाडौं, मंसिर १० : प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल, महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमै शल्यक्रिया भएको छ।

प्रधानमन्त्रीको एपेन्डिसाइटिसको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ। डा.रमेशसिंह भण्डारीको नेतृत्वको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गरेको हो।

प्रधानमन्त्री ओलीको पेट दुखेपछि आज बिहान सेन्टरमा भर्ना गरिएको थियो।

ठूलो आन्द्रासँगै गाँसिएर बसेको एक साना अंगलाई ‘एपेन्डिक्स’ भनिन्छ। एपेन्डिक्समा ब्याक्टेरिया संक्रमण या कुनै अवरोध भयो भने विस्तारै सुन्निन थाल्छ र यसमा पिप भरिन्छ।

यदि समयमै यसको उपचार गरिएन भने यो फुट्ने र यसभित्र रहेको फोहोर आन्द्रा बाहिर तर पेटभित्रै पोखिने सम्भावना हुन्छ। त्यसैले यसको समस्या देखिएको २४घण्टा भित्रै शल्यक्रिया गर्नुपर्छ।

यस अघि आइतबार प्रधानमन्त्री ओलीको ग्रान्डी अस्पतालमा मिर्गौलाको चौथो पटक डायलासिस गरिएको थियो।

उनको १२ वर्ष अघि भारतमा मिर्गौला प्रत्यरोपण गरिएको थियो। उनलाई अहिले आएर समस्या भएपछि डायलासिस गर्न थालिएको हो।

यस अघि सिंगापुरमा पनि उपचार गरिएको थियो। सिंगापुरमा प्लाज्माथेसिस गरिएपनि सन्चो नलागेपछि डायलासिस गर्न थालिएको हो।

आज भने उनलाई एपेन्डिसाइटिस भएको हो। यसको २४ घन्टाभित्रै शल्यक्रिया गर्नुपर्छ।काठमाडौँ प्रेस