बजेट

जवाफ संधै एउटै आउने, बजेट आएको छैन । उसलाई छक्क लाग्थ्यो । जाबो सानो खाल्डो पुर्न कस्तो बजेट आउनुपर्ने हो ? अलिकति गिट्टी, बालुवा, सिमेन्ट र अलकत्रा भए पुगिहाल्थ्यो ।

अब त भएन भन्दै मास्टर जगन्नाथ प्रसाद आज अर्कै बाटो लाग्यो ।


बाटो बिग्रंदा बिग्रंदा हिंड्नै नहुने भइसकेको थियो । खाल्डाखुल्डी र हिलैहिलो । चिप्लिएर लड्ला भन्ने डर । त्यही भएर मास्टर जगन्नाथ प्रसादले कार्यालय जान आजदेखि अर्को बाटो प्रयोग गरेको हो। बिग्रेको बाटो छिनभरमै मूलबाटोमा पुगिने तर हिलोले पाइला हाल्नै मुश्किल । छिटो पुगेर के गर्ने । पछाडिको बाटो परसम्म पुगेर घुमेर आउनुपर्ने । तर बाटोको अवस्थाले गर्दा घुमेर जानुको विकल्प नै छैन ।


बाटो पीच गरेको दुईचार दिनमा कसैले धारा राख्न बीचैमा सानो खाल्डो खनेको थियो । यद्यपि धारा राख्नुपर्छ भनेर पाइपसाइप बिछ्याएर राखेकोले सडक धेरै खन्नुपरेन । तर सामान्य पीच मात्र गरेको बाटो, अर्कोतिर लोडगाडी ओहोरदोहोर भइरहने त्यसमाथि झरीको समय । त्यसले गर्दा बाटो छिटो बिग्रिहाल्यो ।


बिग्रेपछि कसैको ध्यान नै नजाने ।


मास्टर जगन्नाथले अलिकति बिग्रंदा नै सम्बन्धित ठाउँमा बाटो बनाउन खबर गरेको थियो । निवेदन पनि हालेको थियो । यति मात्र होइन दुईचार दिन बिराएर हप्ताहप्तामा सम्बन्धित ठाउँमा घच्घच्याउने काम पनि गर्दै आएको थियो । तर उसले जति नै तातो लाए पनि बजेट नै आएको छैन भन्ने जवाफ पाउँथ्यो । धाउँदा धाउँदा हैरान भइसक्यो । तर जवाफ संधै एउटै आउने, बजेट आएको छैन । उसलाई छक्क लाग्थ्यो । जाबो सानो खाल्डो पुर्न कस्तो बजेट आउनुपर्ने हो ? अलिकति गिट्टी, बालुवा, सिमेन्ट र अलकत्रा भए पुगिहाल्थ्यो । सम्बन्धित कार्यालयसित त्यति सामग्री त अवश्य हुनुपर्ने ।


मास्टर जगन्नाथ प्रसाद उमेरहदका कारण अवकाशपत्र लिएर आयो । अब भोलिदेखि उसले सकस सहेर त्यो बाटो हिंड्न परेन ।


यही सोच्दै ऊ घर फर्कंदै थियो । घरनिर पुगेपछि कसैले उसलाई भन्यो – लौ माड्साब, अब बाटो बन्ने भयो, बजेट आयो ।