किन गाईले श्वास फेर्दा अक्सिजन लिन्छ अक्सिजन नै फाल्छ ?


जनकपुर । “गाई मात्र दुनियाँमा यस्तो प्राणी हो जसले अक्सिजन लिन्छ र अक्सिजन नै फाल्छ”, डाक्टर देवनन्दन साहले भने । उनको यस भनाइसँगै पूर्वीय संस्कृतिमा गाईको पूजा गर्ने प्रचलनको वैज्ञानिक कारण खुल्यो । 

कृषि प्रधान देश नेपाल ।  पछिल्लो समयमा आएर कृषिमै मात्र  आत्मनिर्भर हुनेको संख्या केही रुपमा घटेको छ । खासगरी युवाजमात खाडीमुलुकतिर आकर्षित भएपछि नेपाली कृषि घरासायी बन्दै गएको हो । 

विदेश बसेर दुख गर्नुभन्दा स्वदेशमै केही गरौं भन्नेहरुको संख्या पनि नबढेको चाहीँ होइन । दुइचार वर्षयता घरायसी प्रयोजनका लागि मात्र नभई व्यवसायिक रुपमा पशुपालन गर्नेको संख्या पनि बढेको छ । हुन त परापूर्वकालमै पहाडमा छोरीको विवाह गर्दा एकदुईवटा गाईभैंसी दाइजो दिने प्रचलन छँदैथियो । घरमा छोरी चेलीका पेवा बाख्रा, कुखुरा, गाइभैंसी हुन्थे । विवाह गर्दा उनैलाई दिएर पठाइन्थ्यो । 

समय परिवर्तनसँगै कृषिलाई उद्यमका रुपमा लिनेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ । यस्तै सजिलो पेशाका रुपमा पशुपालन अवलम्बन गरिएको छ । उहिले मासु खान दशैं वा माघे संक्रान्ती कुर्नुपथ्र्यो भने अहिले चाहेका दिन खान पाइन्छ । खासगरी खसी, कुखुरापालन व्यवसायको वृद्धिपछि देशका हरेक कुनामा ब्रोइलको मासु पाइन्छ, चाहे पहाड, हिमाल वा मधेस जता पनि । यो क्रमसँगै पशुधनप्रति मानिसको आकर्षण बढ्नु स्वभाविकै हो । 

पहाडमा बेलुका दुध दुहेर ढुंग्रो बाहिर चिसोमा राख्ने प्रचलन थियो । यदि वातावरण तातो भएमा भोलि विहानको दुध मिसाउँदा फाट्थ्यो । दुध दुहेको एकदुई घन्टाभित्र यसलाई प्रशोधन गरिसक्नुपर्छ, चाहे तताएर वा चिस्याएर । विज्ञहरुका अनुसार दुधलाई चार डिग्री सेल्सियस तापक्रममा राख्ने हो भने २४ घन्टासम्म  बिग्रँदैन । तर सोही दुधलाई पास्चराइज गरी प्याकेजिड गरेको दुध भने एकसातासम्म  बिग्रँदैन । 

दुध दुहुँदा सात मिनेटभन्दा बढी समय लगाउनुहुँदैन । यदि योभन्दा लामो समय लगाइयो दुधालु पशुले दुध लुकाउँछ । त्यस्तै अधिकांश गोठमा मलमूत्रको व्यवस्थापन कमजोर रहेकाले पनि लामो समयसम्म लगाएर दुध दुहुँदा दुध नै विशाक्त हुनसक्छ । पशु पनि स्वस्थकर हुनु त प¥यो नै । विरामी पशुबाट  स्वस्थ्य दुधको आशा गर्ने कुरै भएन । दुधको भण्डारण पनि उचित हुनुपर्छ । 

मासुका लागि प्रयोग हुने पशुपंक्षी अझ स्वस्थ्य हुनुपर्छ । आलो मासु खाने, आलो रगत खाने हाम्रो पूरानै चलन हो । खासगरी स्वास्थ्यका हिसाबले यो ख्वाइ राम्रो होइन । आलो मासुमा आवश्यक पौष्टिक तत्व तयार भएको हुँंदैन । त्यसैले मासुलाई भरसक २४ घन्टासम्म फ्रिजरमा राखिनुपर्छ । यसो गर्दा मासुमा थप पौष्टिक तत्व बढ्छ । यदि पशुमा सामान्य रोगभए पनि फ्रिजरमा राखेपछि मासु स्वस्थ्य बन्छ । विज्ञहरुका अनुसार मासुलाई माइनस २० भन्दा कम तापक्रममा भण्डारण गर्न सके एक वर्षसम्म ताजै रहन्छ । 

पशुपालनका लागि घाँस तथा गोठको व्यवस्थापन, यसको ओसार पसार, पशुअधिकार आदि विषयमा पनि किसानलाई ज्ञान आवश्यक छ । खासगरी तराइतिरबाट काठमाडौं राँगाभैंसी ल्याउने र तिनको बध गर्ने परिपाटी नजिकबाट हेर्ने हो भने हेर्ने मान्छे त्यसैदिनदेखि शाकाहारी बन्ने अवस्था छ । राँगाभैंसीको ओसार पसार हेर्दा हामी ढुंगे युगको झल्को पाउँछौं । ती राँगाभैंसीको मासुबाट बन्ने परिकार खाएर पनि काठमाडौंका मानिस स्वस्थ्य रहेको देख्दा सबैलाई पशुपति नाथले रक्षा गरेकै भान हुन्छ । 

मासुका लागि बध गर्नुअघि पशुको स्वास्थ्य परीक्षण गर्ने, यदि कुनै किसिमको रोगको लक्षण देखिए उपचारपछि मात्र बध गर्ने, पशुपक्षीलाई एन्टिबायोटिक प्रयोग गरेको भए त्यसको मात्रा मानव स्वास्थ्यका लागि सहज नहुन्जेलसम्म बध नगर्ने आदि विषय जान्नु आवश्यक पर्छ । त्यस्तै पशुपक्षीलाई समयसमयमा भ्याक्सिन दिने, यसको स्वास्थ्यको नियमित परीक्षण गराउने आदि विषयमा पनि किसानलाई सामान्य जानकारी प्रदान गर्नुपर्छ । ब्रोइलर कुखुराको दानामै एन्टिबायोटिक प्रयोग गरिन्छ । त्यस्तो कुखुरा मासुका लागि प्रयोग गर्नुभन्दा निश्चित दिनअघिसम्म एन्टिबायोटिक नदिनेलगायतका विषय पनि किसानलाई जानकारी हुनुपर्छ । पशुपक्षीको ओसार पसार तथा बध गर्ने तौरतरिका पनि स्वस्थ्य हुनुपर्छ ।

विज्ञहरुका अनुसार पशुलाई आफू मर्दैगरेको जानकारी भए त्यस्तो मासु मानिसको स्वास्थ्यका लागि उपयुक्त मानिँदैन । त्यसैले बध गर्नुअघि पशुलाई बिजुलीको झट्का दिई बहोस पार्ने प्रचलन छ । त्यसपछिमात्र पशुको बध गर्नुपर्छ । यसबाट मासुमा अखाद्य हर्मोन उत्पन्न हुँन पाउँदैन । यस्ता विषयमा सर्वसाधारणलाई जानकारी होस् भन्ने उद्देश्यले नेपाल सरकारले पनि गत वर्षदेखि नेपाल असल कृषि अभ्यास (नेपाल ग्याप) निर्देशिका जारी गरी यस्तो अभ्यास लागू गरेको छ । निर्देशिका लागू भएपछि काठमाडौंका ३ वटा कृषि फार्ममा असल कृषि अभ्यास नमूनाका रुपमा  लागू गरेको छ । 

त्यस्तै पशुपालनका क्षेत्रमा असल पशुपालन अभ्यास तथा असल भेटेरीनरी अभ्यासको नमुनाका रुपमा काभ्रे, चितवन र बाराका गरी ३ वटा पशुपालन फार्ममा लागू गरिएको छ । यसको सफल परीक्षणपछि अन्य फार्महरु क्रमश ग्याप लागू गर्ने खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले जानकारी दिएको छ । 

असल कृषि तथा पशुपालन अभ्यास’bout जानकारी दिन  प्रदेश नम्बर २ को राजधानी जनकपुरमा व्यवसायिक किसानहरुलाई दुई दिने तालिम आयोजना गरिएको छ । तालिको आयोजना नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले गरेको हो । तालिममा दुग्ध उत्पादक संस्था, कृषक समूह तथा नीजि उद्यमीलाई सहभागी गराइएको आयोजनाको क्षेत्रीय कार्यालय विकेन्द्रित आयोजना सहयोग इकाइ, हेटौंडाका प्रमूख डाक्टर विदुरप्रसाद गौतमले जानकारी दिए ।  

लाइभस्टक सेक्टर इनोभेसन आयोजना नेपाल सरकारले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत कार्यान्वयमा ल्याएको छ । आयोजना प्रदेश नम्बर १ देखि ५ सम्मका २ सय ९० स्थानीय निकायमा लागू गरिएको छ । आयोजनाले २८ जिल्लालाई समेटेको छ । आयोजना विश्व बैंकको ८० मिलियन अमेरिकी डलर ऋण र सरकारको १० मिलियन डलर,  सहभागी कृषि व्यवसायीका तर्फबाट १० मिलियन र बैंक तथा वित्तीय संस्थाबाट १५ मिलियन गरी १ सय १५ मिलियन डलर अथवा करिव १५ अर्ब रुपैयाँ राशीमा सञ्चालन गरिएको हो ।  सन् २०१७ बाट सुरु भएको आयोजना सन् २०२३ मा सम्पन्न गरिनेछ । -बद्री ओझा (सरल पत्रिका)