बम र बेलुन

शान्तिको कामनार्थ खेलमैदानमा एउटा समारोहको आयोजना भइरहेको थियो । मुलुकमा बढेको द्वन्द्व र हिंसाबाट मुक्ति पाउन बेलुनहरु उडाइने कार्यक्रम थियो त्यो । समारोहस्थलमा शान्ति लेखिएका रङ्गीचङ्गी बेलुनहरु सजाएर राखिएका थिए ।

केटाकेटी, बुढाबुढी र तरुनातरुनी सबैखाले सहभागीहरु भेला भइसके । तर प्रमुख अतिथि नआइपुग्नाले कार्यक्रम केही बेर ढिला हुन पुगेको थियो ।

जिङ्गरिङ्ग कपाल र मैलो लुगा लगाएकी एउटी बालिकाले आफ्नो बाउलाई बेलुनतर्फ औंला तेर्साएर भनी – बाबा, मलाई त्यो बेलुन लिइदिनोस् न ।

समारोहस्थलमा मान्छेहरुको ताँती देखेर मेला हो कि भनेर हेर्न आइपुगेकी त्यो बालिकाले अरु दुईचार जना बालबालिकाहरुको हातमा त्यस्तै बेलुन देखेकी थिई । उसलाई पनि त्यस्तै बेलुनसित खेल्ने रहर भयो ।

धत् त्यो लिनुहुन्न । अहिले त्यही बेलुन उडाउँदा कति मज्जा हुन्छ हेर न ।, उसको बाउले भन्यो ।
नाइँ नाइँ लिइदिनोस् न । कति राम्रो छ बेलुन । म पनि खेल्छु क्या ।, बालिका जिड्डी गर्न थाली ।
बाउलाई गा¥हो प¥यो । त्यहाँ रमाइलो हेर्न बसिरहुँ त छोरीले जिड्डी गर्न थालिहाल्छे । त्यसैले ऊ त्यहाँबाट हट्यो । बालिकाले लालायित आँखाले बेलुनतर्फ हेरिरही ।

बाउचाहिं बाहिर आएर एउटा कुनातिर एकछिन सुस्ताउन बस्यो । बालिकाले चारैतिर आँखा डुलाई । अलि पर रुखमुनि एउटा सानो पोको थियो । बल जस्तो गोलो । बाउसँग बसिरहेकी बालिकाको आँखामा समारोहस्थलभित्र भएको रङ्गीचङ्गी बेलुनको झल्को आयो । ऊ खुरुरुर दौडिंदै गएर पोको नजिक पुगी र डल्ला टिपेर आहा भन्दै त्यहीँ उफारेर खेल्न थाली ।
खेल्दाखेल्दै त्यो डल्लो जोड्ले पड्कियो ।

त्यसैबेला समारोहस्थलमा प्रमुख अतिथिले रङ्गीचङ्गी बेलुन उडाएको र सहभागीहरुले परर ताली बजाएको सुनियो ।