देउवा र पौडेलको भाले भिडन्तले सकसमा कार्यकर्ता
आफ्नो आधारभूत मान्यता सिद्दान्त र दर्शनमा विचलन आए पछि कांग्रेसलाई अरु पार्टी भन्दा भिन्न रुपमा देखिन फरक अनुहार र सैद्दान्तिक आधारमा सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी भन्दा अर्को चिनारी अब बाँकी छैन । यद्दपि यसको पार्टी संचालन शैली लोकतान्त्रिक आवरणमा मात्र छ आचरणमा एकदम कम तथापि सिंग नभएको गोरुको नाम तिखे भने झैँ कांग्रेस पार्टीको नामसँग जोडिने फुर्को सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । यो फुर्को र उपमासँग कांग्रेस पार्टीको भावनात्मक सम्बन्ध अहिले पनि छ तर अत्यन्त निम्छरो र त्यान्द्रो दुब्लो लिगेसी ।
कांग्रेसलाई प्रजातन्त्रवादी भनिदिदा यसका पार्टी र नेता कार्यकर्ताहरुलाई यो सुन्न रमाइलो लाग्छ । कांग्रेसको प्रजातान्त्रिक समाजवादमा पुग्न देश बलियो र एकताबद्द हुनुपर्छ जुन एकताको आधार परम्परागत राजतन्त्र थियो जसलाई कांग्रेस संविधानको दयारा भित्र राखेर संबैधानिक रुपमा राख्न चाहन्थ्यो त्यसैले उसले आफ्नो नीति भित्र संबैधानिक राजतन्त्रलाई बोकेको थियो तर अहिले राजतन्त्र बोक्ने काँध कांग्रेसले झिकिदियो र देश बिभिन्न जात धर्मको नाममा अघोषित रुपमा विभाजनमा छ । एकताको सुत्र भत्केको छ रास्ट्रिय एकता बिना जनमुखी विकास सम्भव छैन । जुन आजको यथार्थ हो ।
सरकार बलियो भएर पनि देश बलियो छैन , भावनात्मक एकताको डोरी बलियो देखिएको छैन जति राजा रहदा देखिन्थ्यो । राजासँग जीवनभर प्रजातन्त्रको लागि झगडा गर्ने र राजाको दमन खेपेर पनि देस बुझेकोले बि पी कोइराला संबैधानिक राजतन्त्रलाई आफ्नो मूलमन्त्र सम्झेर बसे । कांग्रेसले संबैधानिक राजतन्त्रलाई तिलान्जली दिएपछि कांग्रेस र अरु अन्य पार्टीको ,कम्युनिस्टहरुको सिद्दान्त , चरित्र , प्रवृति र खासै फराकिलो भिन्नता छैन । पंचायत र गणतन्त्रका नौ समानता भनेर देवप्रकाश त्रिपाठीले घटना विचारमा जुन विचारउत्तेजक लेख छापेका छन त्यसले आज बिध्यमान क्रियाशील ठूला दलहरुको अनुहार छर्लंग पारेको छ । संबैधानिक राजतन्त्रको दार्शनिक मान्यता त्यागेपछि कांग्रेस आफ्नो मूलभूत आदर्शबाट बिचलनमा पुग्यो , आफ्नो सैद्दान्तिक धरातल बिर्स्यो तब गणतन्त्र , संघीयता जस्ता कम्युनिस्ट दर्शनमा लतारिएर कांग्रेसले आफ्नो निजत्व गुमायो । आफ्नो स्वत्व र निजत्व गुमाए पछि राजनीतिक रुपमा कांग्रेस समाप्त भयो भन्दा कांग्रेसप्रति पूर्वाग्रह पक्कै हुदैन ।
आफ्नो जन्मकालको दार्शंनिकता मेटाएपछि कांग्रेस अरुभन्दा विल्कुल फरक छैन । बिभिन्न रुप र आवरणमा उस्तै चरित्र बोकेर पार्टीहरु प्रतिस्पर्धामा छन् । पुराना पन्च, कांग्रेस कम्युनिस्ट , मधेशवादी दलहरु फरक फरक मुखुण्डो एकै शरीर र आत्मा बोकेका प्राणीहरु हुन् । यो या त्यो जसले जिते पनि जनताले पाउने उपलब्धि र शासकीय स्वादमा फरक र नवीन अनुभूति नभएको तीन दशक बित्न लाग्यो यसर्थ कांग्रेस र कम्युनिस्टको दार्शनिक धरातलमा समानता छ कारण हाम्रो संविधानले पनि फरक धार र विचारलाई अस्विकार गर्छ । “ एकात्मक पद्दति , धर्म सापेक्षता र राजतन्त्रलाई आफ्नो विचारदर्शन या मार्गदर्शक सिद्दान्तका रुपमा लिपिबद्धगर्ने दलहरु निर्वाचन आयोगमा दर्ता हुन सक्तैनन् ।
फरक वैचारिक धरातलका समूहलाई दल खोल्न र सत्ता राजनीतिमा विधिवत प्रवेश गर्न नदिइनु भनेकै प्रतिबन्ध हो र त्यस्तो प्रतिबन्धको मारमा भिन्न विचार समूह परेका छन् । हिजो पंचायतमा प्रजातन्त्रवादीहरुलाई गरिएको व्यबहार गणतन्त्रमा राष्ट्रवादी देशभक्तहरुमाथि दोहोरिएको छ । ’’ त्यसैले गणतन्त्र र पंचायतमा समानता थियो यो पनि प्रजातन्त्र होइन त्यो पनि थिएन । प्रजातन्त्रमा त प्रजातन्त्रको विरुद्द खडा भएको विचार समुहलाई समेत बैधानिक ढंगले राजनीति गर्ने छूट हुन्छ जुन प्रचलित मान्यताको नेपालमा खिल्ली उडाइएको छ त्यसैले यो व्यवस्था पनि पूर्ण प्रजातन्त्र होइन भन्ने त्रिपाठीको तर्क छ ।
देशमा पूर्ण प्रजातन्त्र नभएको बेला पार्टीमा पूर्ण प्रजातन्त्रको अभ्यास कसरी हुन सकोस अत: बेलाबेलामा पार्टी भित्र अल्पमत पक्ष र बहुमत पक्षबीच टकराव देखिन्छ । अहिले कांग्रेस भित्र रामचन्द्र पौडेल र शेरबहादुर देउवा बिच पनि यस्तै द्वन्द र संघर्ष चर्केको छ । यहाँ सिद्दान्तको लडाई होइन व्यक्तिगत अहम , तुस्टी र लाभको लागि मुठभेड छ जुन आम पार्टी र यो संबैधानिक संरचना भित्रको कमजोरी हो । फरकधार , मान्यता र मूल्यले पनि स्थापित हुने अवसर पाउथ्यो भने सैद्दान्तिक प्रतिस्पर्धा उच्च र व्यक्तिगत प्रतिस्पर्धा गौण बन्थ्यो । पार्टीमा , पार्टी ,पार्टीमा सैद्दान्तिक बहस हुन्थ्यो यहाँ सैद्दान्तिक बहस र गुटको नाममा व्यक्तिको इगोमाझ लडाई भएको छ ।
सिद्दान्ततः सबै संसदीय पार्टी एकै सिक्काका दुई पाटा हुन । गाई कि त्रिशुल गरेर फ्यान्टी गर्दा कहिले गाई , कहिले त्रिशुल, कहिले दोहोरिने कहिले अदलबदल हुनेगर्छ अरुको लागि मौका छैन । कांग्रेस भित्रको भाले भिडन्तमा जसले जिते पनि जसले जसलाई पेले पनि उही गाई कि त्रिशुल नै हो ।
देउवा र पौडेलले आफ्नो क्षमता जति थियो त्यो देखाई सके तर पनि यिनीहरुको विकल्प कांग्रेसले नयाँ पुस्तालाई नदेख्नु बिडम्बना हो । चार पटक प्रधानमन्त्री र पार्टी सभापति भएर पनि सत्ता र शक्तिको भोक देउवामा उत्तिकै छ जति नेविसंघको सभापति बन्दा थियो । त्यस्तै सत्ता र शक्तिको अभ्यासमा प्रधानमन्त्री बाहेक धेरै थुप्रै पटक अवसर पाएका पौडेल नयाँ केही गर्छु भनेर होइन आजीवन सक्तिको आशक्तिको कारण मात्र लड़भिड गर्दैछन ।
हिजो देउवा र गिरिजाप्रसादले भागबण्डाको राजनीति गरे त्यो हुन भएन भनेर भागबण्डा बिरोधी देखिने पौडेल आज आफै भागबण्डा र अंशबण्डामा पार्टी संगठन र लाभको अवसरको लागि रोइ,कराई, धम्काई घुर्काइ गरेको देखिन्छ । रामचन्द्रको विरोधाभाषपूर्ण राजनीतिले कांग्रसले गन्तव्य पाउछ भन्ने देखिन्न । देउबा पेलिरहने पौडेल असन्तुस्ट बनिरहने तर पार्टीले गति र लय लिन नसक्ने यो चार वर्ष कांग्रेसको कार्यगत नियति हो ।
तावामा कि भुंग्रोमा कांग्रेसको विकल्प अहिले यस्तै मात्र हो । कार्यकर्ता २८ बिभाग हुदाँ सम्म न्यायचित वितरणको अभावमा गुट उपगुटमा विभक्त भएर आपसमा काटमार र संगठनबाट निकाला निकालको अवस्थामा छन । कार्यकर्ता उत्पादनको मूल कारखाना नेविसंघ बेहाल र नेतृत्व विहिन छ तर अरु बिभाग थपेर देउवा आफ्नो अर्को कार्यकाल सुनिस्चित गर्न कार्यकर्ता भर्ति र रिझाउन विभागको संख्या विधानलाई मिचेर बढाउदै छन् ।
अब लोकतान्त्रिक पार्टीमा लोकतन्त्र बत्ती बालेर खोज्नु पर्ने भो भनेर चिन्ताग्रस्त छन् शेरबहादुर इतर कांग्रेसहरु । बहुमत आफ्नो प्यानलसँग छ भन्दैमा अर्को प्यानलसँग न्यूनतम सहमति बिना एक्लै निर्णय गर्नुलाई बैधानिक एकाधिकारवादी भनिन्छ यो निरङ्कुश ढाँचा हो छन्द हो जुन शेरबहादुर गर्दैछन । यस्तो खाले प्रणालीमा प्राय हुने पनि यस्तै हो । दुई पक्ष भएर चुनावमा गए पछि आ आफ्नो लवीको काम गर्नु र प्राथमिकता तोक्नु सामान्य नै हो ।
जित्नेले बहुमतको आधारमा पार्टी संचालनको बैधानिकता पाएको हुन्छ तर प्रजातन्त्रमा प्रतिस्पर्धीलाई पनि भाउ दिएर समन्वय गरेर पार्टी गतिबिधि अगाडि बढाउनु पर्ने हुन्छ त्यो मामलामा चुकेका छन् सबै जसो राजनीतिकदलहरु उच्च राजनीतिक संस्कार र आचरण अनि फराकिलो छातीको खाँचो पर्छ आफूसँग प्रतिस्पर्धा गर्नेलाई मिलाएर पार्टी चलाउन र बचाउन त्यो क्षमताको अनिकाल हर पार्टीका हर नेतामा देखिएको छ । पार्टी सभापतिमा धेरै अधिकार भयो भने पनि निरङ्कुश हुन्छ पार्टी सामुहिक नेतृत्वमा चल्नुपर्छ भन्छन र बिधान त्यस्तै बनाउछन तर सामुहिकरुपमा नेतृत्व गर्दा कुनै पनि निर्णय पारित हुन सक्तैन व्यक्तिको रुची र इच्छा अभिलाषाहरु बाझिएको हुन्छ त्यसैले निर्णय गर्न असफल हुन्छन ।
दुई महिना भित्र सबै बिभाग गठन गर्नुपर्ने प्रावधान आफ्नो कार्यकाल समाप्त हुदा सम्म गर्न नसकेर देउवा अहिले जुन कसरत र अन्योलको चंगुलमा छन भोलि अर्को कुनै बहादुर , प्रसाद र कुमारले जिते पनि यो नियतिको पुनरावृति भैरहन्छ । पार्टी पेन्डुलम बन्छ । असफलताको जस पार्टीको मुख्य मान्छेको भागमा रहन्छ तर सफल बन्दा चै सामुहिकरुपमा जस चाहिने र माग्ने परिपाटी चलेको छ । जबफदेहिता बहन गर्नेलाई छाती ठोकेर निर्णय गर्न नदिने बैधानिक व्यबस्थाको कारण पार्टी सभापतिहरु सफल नभएका र निर्णय क्षमतामा कमजोर देखिएका छन् ।
जित्नेलाई अधिकार नहुने र हार्नेको भाउ नरहने बिधान बनाएर नै दलहरु आफ्नो कार्यक्षमतामा आफैले बन्चरो प्रहार गरेका छन् । जबसम्म जित्नेले ढुक्क भएर काम गर्ने अधिकार प्रत्यायोजन भएको बिधान बन्दैन तब सम्म पार्टीको काम गर्ने तौरतरिकामा फेरबदल हुने सम्भावना कम रहन्छ ।
निर्वाचनमा पराजय पछि पराजित हुने समुहले आफ्नो असहमति राख्न पाउछ तर काम गर्न रोक्न मिल्दैन , बैठक बहिस्कार नै गर्न , निर्णय कार्यन्वयन नै गर्न नदिन मिल्दैन तर भाग खोज्ने , मत प्रतिशतको आधारमा लबिंग गर्ने कुरा अनैतिक हो । जित्नेलाई काम गर्ने अवसर दिनुपर्छ । यतिबेला कांग्रेस आन्तरिक कलहले विछिप्त छ । सरकार स्वेच्छाचारी ढंगले अघि बढी रहेको बेला कांग्रेस आफैमा अन्योलग्रस्त र निरिह देखिनु प्रजातन्त्र माथिको संकट हो ।
मिलेर चुनावमा गए , एकताबद्द अभियान बोकेर हिडे गाई कि त्रिशुलमा एक छानिने सम्भावना अझै कांग्रेससामु छ कांग्रेस र कम्युनिस्टको विकल्पमा वैकल्पिक शक्ति बलियो र आकर्षणयुक्त नभएकोले कांग्रेस कम्युनिस्टलाई मात चढेको हो । घमण्ड बढेको हो । सुध्रिने र सक्किने मध्ये रोज्ने पालो आएको छ कांग्रेस सामु । एकिकृति देश बनाउन एकीकृत पार्टीको खाँचो छ । पार्टीहरु आन्तरिक कलहले छिन्नभिन्न बन्दा देस कम्जोर बन्न सहयोगी हुनेछ । सत्तासिन पार्टी सभामुख छान्न नसकेर संसदलाई पार्टीको बन्धक बनाउदै गरेको बेला कांग्रसको रडाको हेर्न लायक छ । छहारी दिने रुख काटेर शितलताको खोजीमा कांग्रेसजनहरु छन् ।
रामचन्द्रको रोइलो ,पीडा र रोदन जे भने पनि शक्तिको भोक र आशक्ति भन्दा पर होइन । सत्ता , शक्ति र आशक्तिको लागि होइन भने नयाँ पुस्तालाई पार्टी थमाउने र आफू सल्लहाकारको भूमिकामा रहन्छु भनेर घोषणा गर्न ढिला भयो । कांग्रेसलाई सकसमुक्त बनाउन नेताहरुमा त्याग र उदारताको भावना जरुरि छ । कृष्णप्रसाद भट्टराईले झैँ सबै दोष र अवगाल मेरै कारण र मेरै नेतृत्व असक्षमताका कारण भएका हुन तसर्थ आफूमाथि भएको अन्तर्घात पनि दोष मेरै हो मैले कार्यकर्तालाई अनुशासन सिकौं सकिन ।
पीडा अपमान र पराजयलाई हास्दै पचाउने र जिम्वेवारी स्वीकार गर्ने , पराजयको सारा दोष आफ्नै भागमा हाल्ने भट्टराईको पार्टी आज कुर्सीमा आ आफूले मात्रै बस्न पाउनुपर्ने ढीटले रोगग्रस्त छन् विपक्षीले पछाडिबाटआक्रमण गरिसक्यो तर देउवा र पौडेल एकार्काको शरीरमा नंग्रा दार्हा धसेर बसेका छन् ।
देउवा पौडेल आ आफ्ना फौज बनाएर भाले भिडन्त गर्दैछन तर कांग्रेसको आदर्स मुल्य र मान्यता बोकेर हिड्ने कांग्रेस कार्यकर्ता भने गाउँ गाउँ देशभर बडो सकसमा छन । सरकार सम्बद्द दल र सरकारको पेलाई एकातिर छ भने आफ्नै नेताहरुको रडाको अर्कोतिर कति अप्ठ्यारो छ इमान बोकेर बाच्न । तैपनि नेताहरुमा चेत फिर्ने सम्भावना न्यून छ । कार्यकर्ताको मौनता ,चित्कार बिद्रोहमा परिणत भएको दिन कांग्रेसले आफैसंग लडने सामर्थ्य पनि गुमाउने छ ।