माथिल्लो तामाकोशीको बाँधको परीक्षण सफल

बहुप्रतीक्षित माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधको सिभिल संरचनाको परीक्षण सफल भएको छ ।

करिब एक सातासम्म बाँधमा पानी राखेर गरिएको परीक्षणमा सिभिल संरचनाको परीक्षण सफल भएको अपर तामाकोशी हाइड्रोपावर लि.का प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । ‘पानी लिकेज कम छ, सिभिलका सबै संरचनाहरु ‘टोलरेन्स’ लेभलमा छन्, त्यसैले हेडवक्र्स सफल भो ।’ प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने ।

‘हाई हेड भएको आयोजनामा थुप्रै समस्याहरु आउँछन् ।, प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले भने, तर यो आयोजनाको सिभिल संरचनामा खासै समस्या आएन ।’ आयोजनाको कूल हेड ८२२ मिटर छ ।

आयोजनाको हेडवक्र्स अन्तर्गतको बाँध, गेट, स्टपलग आदिको परीक्षण सफल भए पनि बालुवा थिग्¥याउने पोखरीको परीक्षण गर्ने तयारीमा आयोजना लागेको छ । सुरुङको परीक्षणपछि अन्तमा पेनस्टकको परीक्षण हुन्छ र त्यो सफल भएमा मात्र विद्युत उत्पादन सुरु हुन्छ ।

आगामी मे महिनासम्म पेनस्टकको कार्य सम्पन्न गरी परीक्षण थालिने साउनमा पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने आयोजना प्रमुख दिनेशजंग राणाले जानकारी दिए । यसअघि असार मसान्तसम्म पहिलो युनिटबाट विद्युत उत्पादन सुरु हुने कार्ययोजना थियो ।

विभिन्न कारणले आयोजना निर्माणमा ढिलाइ भएको भए पनि सम्पन्नताको अवस्थामा देखेर आयोजना सुरु गर्दाको बखतका आयोजना प्रमुख मृगेन्द्रबहादुर श्रेष्ठ निकै खुशी देखिन्थे । उनले भने, ‘विनासकारी भूकम्प, भारतीय नाकाबन्दी, खाडीचौर चरिकोट सडक आदिले आयोजना निर्माणमा ढिलाइ भए पनि अहिले सम्पन्न हुन लागेको अवस्था देखेर खुशी लागेको छ ।’
बाँधमा समुद्र सतहबाट १९७२ मिटरको उचाइदेखि करिब १९८७ मिटरसम्ममा पानी भरेर परीक्षण गरिएको छ ।

आयोजनाको काम अहिलेसम्म ९९ दशमलब ४ प्रतिशत सकिएको छ । जम्मा शून्य दशमलव ६ प्रतिशत मात्रै काम बाँकी रहे पनि ठाडो सुरुङमा पेनस्टक पाइप जडानको काममा भएको ढिलाइका कारण आयोजना सम्पन्न हुन सकेको छैन । सो ठाडो सुरुङको दुईवटा भागमध्ये तल्लो ठाडो सुरुङ ३७३ मिटर लामो छ भने माथिल्लो ठाडो सुरुङ ३१० मिटर लामो छ । अहिलेसम्म तल्लो ठाडो सुरुङमा २६० मिटर पेनस्टक पाइप जडान भएको र माथिल्लो ठाडो सुरुङमा १५० मिटर पेनस्टक पाइप जडान भएको आयोजनाले जनाएको छ ।

२०६७ भदौ १७ गतेदेखि मुख्य सिभिल निर्माण कार्यको शुरुवात गरिएको यो आयोजनाले २०७२ जेठ महिनामा पहिलो युटिनबाट विद्युत उत्पादन गर्ने लक्ष्य थियो । लक्ष्यअनुरुप काम अघि बढेको त थिएन तथापि २०७२ वैशाखको विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी, लामोसाँघु चरिकोट सडकको स्तरोन्नतिका कारणले आयोजना निर्माणमा झनै ढिलाइ भएको थियो ।
विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोनाको असर पनि आयोजनामा परेको छ । आयोजनाका परामर्शदाताहरु कोरोनाका कारण आफ्नै मुलुकमा फर्किएपछि आयोजनामा त्यसको प्रभाव परेको हो । आयोजनाको सिभिलतर्फको कामको जिम्मेवारी पाएको चीनीया कम्पनी सिनो हाइड्रोमा कार्यरत चीनीया कामदारहरुमा भने कोरोनाको प्रभाव खासै परेको छैन । चीनबाट फैलिएको कोरोना विश्वभर फैलिएको अवस्थामा चीनबाट आएका कामदारहरु मध्ये ३ जना आइसोलेसनमा बसेकोमा अव एक जना मात्रै आइसोलेसनमा रहेको आयोजनाले जानकारी दिएको छ ।

आयोजना सम्पन्न गर्न ढिलाइ हुँदा ३५ अर्ब २९ करोड रुपैयाँ सुरु निर्धारित लागत रहेको आयोजानको लागत बृद्धि भै व्याज बाहेक ४९ अर्ब २९ करोड पुग्ने प्रक्षेपण गरिएको छ ।