चिनेको चोर

चोर सरासर घरभित्र पस्यो । ढोकामा उसलाई रोक्ने कोही थिएन । अघिपछि त्यहाँ पाले हुन्थ्यो । तर चोर आएको बेला पाले चुरोट किन्न गएको थियो । त्यसैले पालेले चोर आएको नआएको वा भित्र कोही पसेको ’bout थाहा पाउनै सकेन ।

चोर सरासर कोठाभित्र पस्यो र दराज खोलेर एउटा महत्वपूर्ण पोका उचाल्यो । त्यसपछि चोर पछाडिको झ्यालबाट निस्क्यो ।

त्यतिबेला ढोकामा पाले त थियो तर ऊ निन्द्रामा झुलिरहेको थियो ।

भोलिपल्ट थाहा भयो – घरमा चोरी भयो भन्ने कुरा ।

पालेलाई केरकार गरियो । उसले भन्यो – मेरो ड्युटी त ढोकामा मात्र बस्नु हो । तर चोर त झ्यालबाट पसेर झ्यालबाटै भाग्यो , यसमा मेरो के दोष !

घरमा कुकुर थियो । कुकुरले त अवश्य भुकेर सावधान गराएको हुनुपर्छ भनेर उसलाई पनि केरकार गरियो –तिमीले त अवश्य देखेको हुनुपर्छ चोरलाई । किन नभुकेको ?

अब भुकेर के गर्ने ! एकचोटि त भुकेकै हुँ नि । कसैले ध्यान दिए पो ! फेरि नचिनेको चोर हो र बारम्बार भुक्नलाई ! , कुकुरले भन्यो र गुँडुल्किएर बस्यो ।
उनीहरु अनुमान लगाउन थाले – को होला त्यो चिनेको चोर ।