” १० कोठे कारावास”

मनिषा खतिवडा

मलाई प्लेनको यात्रा खुब मन पर्ने हो । प्लेनमा कुन समयमा उड्दैछु भन्ने कुराले मलाई कहिलै फरक परेन । प्लेनमा दिनको समयमा उड्दा पनि रमाइलो हुन्छ । रातमा उड्दा पनि उत्तिकै रमाइलो हुन्छ ।

दिनमा उड्दा बादलमाथिबाट बादल हेर्दा लाग्छ, प्लेनको त्यो सानो झ्यालबाट फुत्त फाल हान्दा पनि बादलमा तैरिन सकिन्छ । त्यो कपासको रुवा जस्तो बादलमा संसार भरको थकान मेट्न सकिन्छ । मानौँ, परीको देश त्यहि हो । त्यहि बादलको आँगन बनाएर सुन्दर सुन्दर परीहरु केटाकेटीलाई छक्कै पार्ने तिलस्मी जादुहरु गर्छन् । म परीको देशमा पुग्छु ।

रातमा उड्दा माथीबाट हेर्दा तल घरहरुमा बलेका बत्तिहरु कतै तारा जस्ता लाग्छन् र महसुस गराउँछन् कि म अन्तै कुनै आकाशमा अन्तरिक्ष सयर गर्दैछु । बेला बेला देखिने शहरहरुको एकमुस्ट उज्यालोले मान्छेको उज्यालोपना देखाउँछन् । मान्छेले चाह्यो भने रातलाई उज्यालो बनाउँछ, चरा जस्तै आकाशमा घुमाउँछ । म मान्छे भएकोमा गौरव गर्छु ।

तर सँधै यस्तो नहुदो रहेछ । यस पटक अमेरिकाबाट फर्किदा मैले बादलहरु हेरिन । मैले तल ताराहरु झै कसैको घरमा बलेको बत्ति हेरिन । मैले कुनै अन्तरिक्षमा सयर गरेको मानिन । बरु मैले प्लेन भित्रका धेरै मानिसहरुको अनुहारमा टुकुटुकु हेरिरहे । बरु मैले प्लेन भित्रका अनुहारहरुमा कुनै चिनेको अनुहार भेटिन्छ भनेर खोजिरहेँ । मलाई साथ चाहिएको थियो । तेरो सबै समस्याहरु चुट्कीका भरमा ठिक हुन्छन् भनेर आश्वासन दिने मान्छे चाहिएको थियो । मान्छे आत्तिए पछि मान्छेकै साथ चाहिदो रहेछ । अडेस लाग्न सक्ने साथ भए पछि पो चम्किदो रहेछ प्रकृति पनि । आनन्दमा पो रंग्याउँने रहेछ प्रकृतिले संसारमा अनेक रंगहरु ।

बल्ल बल्ल टर्मिनलमा प्लेन ओर्लियो । म ह्यान्डक्यारीको ह्यान्डिल समाएर एकतमासले अर्को प्लेन चढ्ने गेटतिर बढ्दैछु । टर्मिनलमा मान्छेको कल्याङमल्याङ छ । पसलमा मानिसहरुको भिड सँधै जस्तो छ । मान्छेहरु उसै गरि छुत्तिएका छन् । बेला बेला कुनै प्लेन ओर्लिदै गरेको र कुनै प्लेन उड्न लाग्दै गरेको सूचना कानमा ठोक्किन्छन् तर अवचेतन दिमागको पर्दा भन्दा पारी ति पुग्न सक्दैनन् । चेतन दिमाग मेरो अर्कै तिर छ । त्यहाँ ममीले आत्तिदै फोन गरेको आवाज मात्रै छ । त्यहाँ कति खेर नेपाल पुग्छु भन्ने हुटहुटी मात्रै छ । बिरामी भएर आइसियुको कुनै बेडमा सुतिरहनु भएको बाबाको अनुहार मात्रै टाँसिएको छ । बेला बेला गालामा पानी बगेको थाहा पाउँछु । पुस्छु । मेरा आशुहरु हुन्छन् । छेउका मान्छेहरु मेरो रुन्चे अनुहार र खस्दै गरेका आँखामा जीवनको विडम्बना पढ्छन् । म उनीहरुका आँखामा दया पढ्छु ।

म जति हतारिएको थिएँ, मेरो बाबाको लागि समय त्यो भन्दा रफ्तारमा थियो । म बाबाको समयको रफ्तार समात्न चाहन्थेँ तर मेरो मनको समय, बाबाको समय र प्लेनको समयमा सामञ्जस्यता थिएन । ८ घण्टाको ट्रान्जिट जीवनकै लामो ट्रान्जिट जस्तो भयो । म आफ्नो घर र देशबाट कति टाढा रहेछु भन्ने बल्ल थाहा पाउँदैछु । मैले पल पल सबै अनुभव गरेँ ।

रातको 1 बजे प्लेन नेपालमा ओर्लियो । घर पुगियो । घरको माहौल फिक्का थियो तर सबैले त्यो फिक्कापन जित्न कोशिस गरिरहेका थिए । उनीहरु सकेसम्म मेरो स्वागत न्यानो बनाउँन चाहन्छन् तर भावनालाई जित्न सक्ने हामी को थियौँ र ? ममीले अंगालो हालेर रुन थाल्नु भयो । अस्पताल तुरुन्तै जान खोजेँ तर आइ सि युको बिरामीलाई हाम्रो इच्छाले भेट्न नपाइने रहेछ । डाक्टरले भेट्न दिने समय भोली बिहानको मात्रै रहेछ । अनुहारमा भने सबैको तनाव र कुनै नराम्रो घटना भोग्नु पर्ने हो कि भन्ने चिन्ता प्रस्टै देखिन्थ्यो ।

मान्छे कहिलेकाँही मेसिन जस्तो बन्छ । बन्नु पर्दो रहेछ । मेसिन जस्तै आफ्नो नियमित काममा लाग्नु पर्ने रहेछ । सँधै जस्तो घरमा मेरो मन पर्ने खानेकुराहरु तयार भए । टेबुलमा सजिए । अमेरिकाबाट हिडे पछि नै पानी बाहेक केहि मेरो शरिरमा छिरेको थिएन । म एकदमै भोकाएको थिएँ । खान बसेँ । मान्छेहरु भोजन भन्दा भोक मिठो भन्छन् तर सबै भन्दा मनको सन्तुष्टी मिठो रहेछ, आज बल्ल बुझेँ । खाना खानै सकिन ।

म अमेरिकामा मन अशान्त हुँदा आफ्नो घर सम्झिन्छु । आफु नेपालमा हुँदा बस्ने कोठाको कल्पना गर्छु । कल्पना मै त्यहि ओछ्यानमा पल्टिन्छु । मनमा अचम्मको शान्ति आउँछ । आज म त्यहि कल्पना गर्ने घर, त्यहि घरको मेरो कोठा र मेरो ओछ्यानमा छु तर मनमा शान्ति छैन । घरभरिका बत्तिहरु बलेका छन् तर घर उज्यालो छैन । होस पनि किन ? घरको बत्ती र शान्ती नै अस्पतालको आइसियुको बेडमा पछारिएको जो थियो ।

भोलीपल्ट बिहानै अस्पताल पुगेँ । बाबाको स्थिती सजिलो थिएन । त्यसमाथि भेट्न आउँने मानिसहरुका अनेक किसिमका तर्क विर्तकले ममीलाई पनि अत्याउँथ्यो । बल्लतल्ल ममीलाई फकाउँन सकिन्थ्यो । केहि आफन्तहरु मात्रै हौसलाका कुरा गर्थे । त्यसले पोलेको मनमा अपार शान्ती हुन्थ्यो, केहि बेर नै भए पनि ।

१२ दिन अस्पताल र घर गर्दा गर्दै बित्यो । त्यो बिचमा म घरमा भन्दा अस्पतालमा नै बसेँ । एकदिन ममी र म घरमा थियौँ । भोलीपल्ट हजुरबुबाको सराद्ध भएर हामी त्यसको तयारीमा थियौँ । ममीले नुहाइधुहाइ गरेर रातोरंगको कुर्था लगाउँनु भएको थियो । मेरो ममीलाई रातो रंगले साह्रै खुल्छ । त्यो दिन मैले ममीलाई रातो कुर्थामा पहिले भन्दा खुलेको देखेँ । सुत्न हामी ओछ्यानमा पल्टिएका थियौँ तर निदाउँन सकेका थिएनौँ । रातीको १२:०५ तर फोनको घण्टी बज्यो । अस्पतालको आइसियुमा रहेको बिरामीको घरमा बज्ने हरेक फोनको घण्टीले अत्याउँछ । कुनै आपद सुन्न पर्ने हो कि भन्ने मनले संसारभरको बोझ त्यही फोनमा बस्छ । भारी गरेर फोन उठाएँ । बाबाको स्वर्गारोहण भइसकेको रहेछ ।

जिन्दगीमा पाएको अनगिन्ती घाउहरुमा सबै भन्दा गहिरो घाउ यहि थियो । जिन्दगीले सकेसम्म आफ्नो बल लगाएर प्रहार गरेको थियो । मैले आफुलाई सम्हाल्न खोजे तर म चल्न सकिन । मेरा हात खुट्टाहरुले मेरो साथ छोडे । परिवारमा पहिले कहिलै नदेखिएको कोलाहल देखियो । तर वास्तविकता ढिलो होस् या चाँडो, स्विकार्नुको विकल्प हुदैन । १३ दिने काम सकाइयो ।
त्यो सकिने बित्तिकै अहिले विश्वमाथी नै वज्रपात परेको छ – कोरोनाभाइरसको । संसारभर मरेका मानिसहरुको गिन्ती बढ्दैछ । म उनीहरुको घरमा भएको कोलाहलको अनुभव गर्न सक्छु । ति हरेक मृत्युले मलाई बाबाको मृत्युको सम्झना गराउँछन् । लकडाउनले घरबाहिर निस्किन मिल्दैन । हरेक दिन कोरावासमा बसे झै लाग्छ ।

बाबाको मृत्यु पछि मैले केहि कुराहरु अनुभव गरेको छु । जिन्दगीमा जति नै प्यारो र महत्वपुर्ण मान्छे नभए पनि जिन्दगीले आफ्नो यात्रा बन्द गर्दैन रहेछ । ति परिस्थितिहरुले दिने दुख, पिडा र चिन्ता पनि अस्थायी रहेछन् । जीवनले केहि न केहि गरेर आफ्नो बाटो पकड्ने नै रहेछ । मलाई विश्वास छ, अहिलेको समय जतिसुकै खराब होस् वा आउँन लागेको समय जति सुकै डरलाग्दो किन नहोस् तर ति पनि अस्थायी हुन् । त्यसपछि फेरि खुसी आउँनेछ । रात परे पछि उज्यालो हुन्छ हुन्छ । रात कति लामो हुन्छ भन्ने कुरा आफ्नो परिस्थितिले फरक पार्ने हो । सके सम्म रातलाई छोट्याउँन प्रयास गरौँ । दिनलाई पर्खौँ । उज्यालो पर्खौँ ।