रामकुमारी मन्त्री बन्न बार्गेनिङ्ग गर्दैछिन कि भाइरल बनिरहन ?

रामकुमारी पार्टीले गणतन्त्रमा जाने घोषणा नगर्दै सडकमा गणतन्त्रको नारा लगाउने साहसी विद्यार्थी नेता हुन । जतिबेला वर्तमान प्रधानमन्त्री ओली बयल गाडा चढेर अमेरिका पुग्न सकिदैन भनेर गणतन्त्रको हुंकार गर्नेको खिल्ली उडाइरहेका थिए । त्यतिबेला पनि झाँक्री भाइरल थिइन्, राजा फ्याँकेर गणतन्त्र ल्याउछौ भनेर सडकमा बुलन्द बन्दै गरेको पाइन्थ्यो ।  अनेरास्ववियु जस्तो शक्तिशाली र सबैभन्दा ठूलो बिद्यार्थी सङ्गठनमा निर्वाचित बन्दा पनि राम कुमारी भाइरल बनिरहिन् । एउटा इतिहास निर्माण गर्ने पात्रको रुपमा रामकुमारी अखिलको केन्द्रिय अध्यक्ष बन्नु आफैमा चानचुने कुरा होइन ।


रामकुमारी झाँक्री आफैमा आकर्षक नाम । राम कुमारी त्यस्ती झाँक्री हुन जो झारफूक, जोखाना र टुनामुनालाई अन्धविश्वास र कुरीति भनेर विश्वास राख्ने मार्क्सवादी चिन्तनलाई आत्मसाथ गर्छिन । यिनको नाम पुरातनवादी तर सोच प्रगतिशील/ प्रगतिवादी । नामको विशेषता हो सुनेपछि कसैले पनि विस्मृतिको गर्तमा फ्याक्दैनन । स्मृतिमा राखिरहन्छन । उसै पनि झाक्री नामले मात्रै होइनन् काम अर्थात् राजनीतिक कर्मले पनि पपुलर छिन् । पार्टी भित्र मात्रै होइन अन्यपार्टीका नेता नेतृहरुपनि राम कुमारीको राजनीतिक कर्ममा मोहित छन् । लोभिन्छन । यिनको विशेषता नै रह्यो संधै भाइरल भै रहने ।

देशमा कोरोनाको कष्ट छ तर चर्चा र परिचर्चा राजनीतिको ठुलै हिस्सा रामकुमारीलाई बोक्ने पछार्ने दुवै खेमामा देखिन्छ । एउटा शक्ति नै मान्नुपर्छ रामकुमारीको सामाजिक संजालको पोष्टले मन्त्रीमण्डलको बैठकदेखि पार्टी सचिवालयको बैठकसम्म घन्टौ प्रभावित बन्छ । प्रधानमन्त्रीका प्रेस सल्लहाकारले सामान्य ध्यानाकर्षण भएको भनेर जानकारी गराउने पत्र लेख्दा हुनेमा सार्वजनिक संजाल अर्थात डाइरेक्ट डेमोक्रेटिक अभ्यास गर्ने थलोमा कुस्ती नै खेल्न आइपुग्छन । राम कुमारीको आरोपलाई खण्डन गर्न आफ्नो मर्यादा बिर्सेर मैदानमा आए हिलो छ्यापछन् । आवस्यकता भन्दा अधिक खर्च गर्नु पनि अयोग्यता हो अनैतिकता हो, भ्रस्टाचारको रुप हो  । राम कुमारीले सार्वजनिक खर्च कटौतीको प्रस्तावको नीतिगत र सार्वजनिक उदेश्य बुझ्न नसकेर प्रधानमन्त्रीलाई घेरेर बस्नेहरुले आफ्नो जागिर बिरुद्द धावा बोलेको अर्थमा बुझे जसलाई नालायकीको अर्को उदाहरण भन्न सकिन्छ । रामकुमारीले खोतेलेको गुह्य कुरामा ध्यान धेरैको गएन ।

सस्तो लोकप्रियताको लागि तलब दानको घोषणा भन्दा खर्च बचाउने यी माध्यम र बाटोहरु छन् भनेर देखाउन र नीतिगत निर्णय गरेर फजुल खर्च रोक्न आव्हान गरिन । दोहोरो सुबिधा लगायत कुरामा पुनरावलोकन गर्न सकिने कुरा उठाइन् । दुर्भाग्य सत्ताधारीहरुले, सत्ताको नजिक रहेर हालीमुहाली गर्नेहरुले आफ्नो रोजीरोटी खोस्ने अभियान भनेर बुझे । पद सेवा र सुबिधा गुमाउनु पर्ने भयले रामकुमारीको तेजोबोध गर्न जानेजती शव्द खर्च गरे । सैद्दान्तिक बहस र उनले उठाएका कुराको तर्क संगत खण्डन गरेनन् बरु अतिशयोक्ति र गुटगत आक्षेपको रुपमा लिए ।

हाम्रो मनस्थिति र राजनीतिक ट्रेन्ड कस्तो रह्यो भने असहमति राख्ने पार्टी भित्रका हुन या बाहिरका तिनका हर कुरामा बिरोध देख्ने आलोचना लाग्ने तर आफ्नो पक्षको जस्तोसुकै हर्कत पनि ठिक लाग्ने अन्धविश्वास र अन्धसंस्कार छ । जसको कारण असहमत पक्षको सैद्दान्तिक नीतिगत र ब्यबहारिक पक्ष सधै उपेक्षित र अपहेलित रहन्छ । आलोचनात्मक चेत संधै अराजक र बिद्रोही देखिन्छ । आलोचनात्मक चेतलाई प्रतिबन्धित गरिन्छ र सो चेतलाई बिरोधि कित्ताको बनाइन्छ । तथ्यसँग टाढा रहने र प्रशंशा मात्रै सुन्ने बानीको कारण पार्टीमा वितृष्णा र उदासिनता अत्याधिक हुने खतरा सबै पार्टी र तिनका नेतामा छ ।

रामकुमारी पार्टीले गणतन्त्रमा जाने घोषणा नगर्दै सडकमा गणतन्त्रको नारा लगाउने साहसी विद्यार्थी नेता हुन । जतिबेला वर्तमान प्रधानमन्त्री ओली बयल गाडा चढेर अमेरिका पुग्न सकिदैन भनेर गणतन्त्रको हुंकार गर्नेको खिल्ली उडाइरहेका थिए । त्यतिबेला पनि झाँक्री भाइरल थिइन्, राजा फ्याँकेर गणतन्त्र ल्याउछौ भनेर सडकमा बुलन्द बन्दै गरेको पाइन्थ्यो ।  अनेरास्ववियु जस्तो शक्तिसाली र सबैभन्दा ठूलो बिद्यार्थी सङ्गठनमा निर्वाचित बन्दा पनि राम कुमारी भाइरल बनिरहिन् । एउटा इतिहास निर्माण गर्ने पात्रको रुपमा रामकुमारी अखिलको केन्द्रिय अध्यक्ष बन्नु आफैमा चानचुने कुरा होइन । अखिलको स्कुलको प्राक देखि केन्द्रिय अध्यक्ष आफ्नै बुता र नेतृत्व क्षमताको कारण सम्भव भएको हो । जनान्दोलनको क्रममा रक्तमुछेल भएर प्रहरीद्वारा पिटिएको तस्बिर पनि रामकुमारलाई भाइरल बनाउने उनको योगदानको प्रोफाइल हो ।

रामकुमारी नेकपा एमालेको केन्द्रिय सदस्य भएको समयमा पनि पार्टी अध्यक्ष ओलीको एकाधिकारवादी, ब्यक्तिबादी प्रवृतिको बिरुद्द बोलेर विवाद र चर्चामा थिइन् । युवासंघको बिबादमा एउटा खेमालाई बोकेर हिंडेको भनेर कार्यबाहीको धम्की खेपेर पनि चुप नबसेकि जब्बर बिद्रोही हुन् । रामकुमारी त्यतिबेला पनि चर्चामा रहिन जतिबेला यिनको लागि संसद्को टिकेट मिलेन बरु कति कोटा पैसामा धनाढ्यहरुको लागि छुट्याइयो । सामान्य मान्छेहरु पार्टी कार्यकर्ताहरु सबैले रामकुमारी सम्झे संसदमा उनको उपस्थिति चाहे । यिनको सबल पक्ष भनेकै नीति र पद्दतिको पक्षमा रहन्छ भलै यिनी पार्टी भित्र एउटा गुटको पक्षमा छन् । राम कुमारी सकारात्मक कुरा लिएर मात्रै होइन नकरात्मक बोली र फोनबाट एक कांग्रेस कार्यकर्तालाई धम्काएको तुच्छ बोलेको कारण गत चुनाव तिर भाइरल र आलोचित बनेकी छन । आफ्नो मर्यादा र गरिमा भन्दा तल झरेर उनले कांग्रेस कार्यकर्तालाई धम्काएको असामान्य रौद्ररुपको प्रदर्शन थियो ।

राम कुमारीलाई बिपक्षी पार्टीको भन्दा आफ्ना पार्टीको धेरै आरोप र आलोचना छ । अखिल अध्यक्ष हुँदा आफ्ना आन्तरिक प्रतिस्पर्धीलाई पेलेको र स्ववियु टिकट दिंदा पक्षपात गरेको प्रश्न पनि यिनले पाएको आक्षेप हो । आफ्नो घर( पतिको घर ) काठमाडौँ मा भए पनि संसदबाट घर भाडा बुझ्ने योगेश भट्टराई जस्तै यिनलाई पनि आरोप छ । संसद भएर स्वकीय सचिवमा आफ्नै भदैको नाम राखेर सुबिधा लिएको कुराले पनि यिनको नैतिक आचरणमा प्रश्न चिन्ह लागेको छ । नेकपाका सम्भावना भएका नेताहरु अनि तिनले ओलीलाई खेदने र अन्तिममा मन्त्री पदमा आफ्नो स्टन्ट साटने अनुभव देख्दा यिनलाई पनि मन्त्रीको बार्गेनिंग गरेको भनेर विश्लेषण गर्दा आपत्ति मान्नुपर्ने देखिन्न । राष्ट्रघाती हुन ओली । गृहमन्त्री हुँदा २०५१ मै भ्रस्टाचार गरेको भनेर बोल्ने र लेख्ने योगेश भट्टराई र घनश्याम भुषाल आज ओलीको प्रमुख प्रतिरक्षात्मक पात्र छन । एक वर्ष पनि भएको छैन घन श्याम भुषालले ओलीलाई रगत, खकार बिर्य हेरेर डी एन ए टेस्ट पछि मात्र आफ्नो गूटको प्रमाणित भएपछि  जिम्मेवारी दिन्छन अन्यथा ओलीले न्याय गर्दैनन् भन्ने घनश्याम अहिले चुपचाप छन् । त्यसैले रामकुमारीको हकमा पनि यसो भनियो भने अन्याय नै नहोला । पद कि पद्दतिको लडाईं प्रमाणित गर्ने अवसर अझै छ । रामकुमारी शिक्षा र परिपक्वताले अब बौद्दिक पहलमानी गर्न सक्छिन ।

सरकारको काँशी जानु कुतीको बाटो जस्तो हिजोको अध्यादेश प्रकरण र राष्ट्रपतिको बिबादास्पद भूमिकामा रामकुमारीहरुको प्रतिक्रिया हेर्न बाँकी छ । नेकपा कतिधेरै गन्जागोल र भद्रगोल छ । कति सकसमा छ सरकार, पार्टी र नेताहरु ?  पार्टी र प्रधानमन्त्रीको सम्बाद हीनता कस्तो छ भन्ने कुरा पनि अध्यादेश प्रकरणले खोलेको छ । उदांगो पारेको छ । पार्टीले सरकारलाई निर्देशन गर्ने कि सरकारको घोषणा र कार्यक्रम आएपछि पार्टीले जानकारी पाउने ? विरोधाभाषपूर्ण राजनीतिमा पद्दति र प्रणालीको पक्षमा बोल्न-लेख्न अझै रामकुमारीहरुको सक्रियता, भूमिका टड्कारो छ । संबैधानिक परिषदलाई प्रतिपक्ष विहिन तुल्याउने नियन्त्रण र शक्ति सन्तुलनको सिद्दान्त भन्दा बाहिर गएर ल्याएको अध्यादेश मान्य हुन्छ या हुन्न ?

 देशको सरकारको पहिलो प्राथमिकता यतिबेला संकटसँग जुध्ने हो कि आफ्नालाई बाइपास गरेर अध्यादेश मार्फत गलाउने थकाउने र थर्काउने नीति लिनु हो ? यो घटना र परिस्थितको पटाक्षेप कसरी हुन्छ ? राम्रो सँग पढेर हेर्न पनि नभ्याउदै दुई दुइ अध्यादेश जारी गर्नुपर्ने राष्ट्रपतिको हतारोले नेकपा भित्र कस्तो खिचडी पाक्दैछ ? रामकुमारीहरुले पार्टी पद्दति मात्रै होइन देशको राजननीतिक प्रणाली पनि पद्दति सम्मत हुनुपर्छ भनेर बोलेको सुहाउँछ । रामकुमारीले तिनको खुट्टा भाँच्नुपर्छ राजनीतिक रुपमा भौतिक होइन जो सर्वमान्य सिद्दान्तको खिलाफमा गएर पार्टी र देश संचालन गर्छन, रामकुमारीहरुलाई अब कायर भएर हिड्ने छूट छैन । पद्दति र नियम कानुनको लागि नैतिक भएर लडने र भिड्ने समय आएको छ ।

 रामकुमारीको राजनीतिक आकर्षण मन्त्री पदको पाउमा लम्पसार नहोस । भाइरल बनिरहने मान्छेलाई त्यो रहर त नहोला अब पारदर्शिता नैतिकता आदर्श र ब्यबहारको सही संयोजनको लागि भाइरल हुनुपर्छ । मिडिया खपतको लागि बनिने भाइरलको आयु लामो हुन्न । सम्भवत रामकुमारीको स्वभाव जुझारुपन र आज सम्म देखाएको निष्ठाले, इमानको राजनीतिले सत्ताको स्पर्शकै खातिर आफ्नो गर्विलो हाइट होच्याउदैन । कदाचित होच्याउने हो भने खुट्टा भाची माग्ने कांग्रेसी र सत्ता उक्लने भर्यांग सजिलै पाइन्छ ।