राजनीति

एउटा भेडा पानी खाएर फर्किरहेको थियो । अकस्मात् ठीक सामुन्ने बाघसँग जम्काभेट भयो । भाग्ने ठाउँ नै पाएन । भेडाको सातोपुत्लो उड्यो । अब मारिने भो । उसले बाँच्ने आशै लिएन ।
ऊ थरथर कामिरह्यो । तर अचम्म ! बाघले उसलाई खाएन ।
तँ छुसीलाई के खाने ! , बाघले भेडालाई हेर्दै भन्यो ।
अनि हजुर , अब कसलाई भोजन गर्नुहुन्छ त ?, भेडाले डराई डराई सोध्यो ।
म त मान्छे खाने भइसकें । मान्छे खानेले तिमीजस्तो छुसी भेडाको मासु के खाइरहोस् । त्यसैले म यो ठाउँ छोडेर मान्छेहरु बस्ने शहरमा बस्न जाने भएँ ।
बाघले यसो भन्यो र शहरमा गयो ।
००
सुनिन्छ अचेल बाघ शहरमा गएर मज्जासँग राजनीति गरिरहेको छ । बाघ मात्र होइन उसको पछि लागेर चितुवा, स्याल, हुँडार, चील, गिद्ध पनि शहरमा पस्न थालिसके ।