फुटेको नरिवल
उसको हातबाट नरिवल खस्यो र ढुङ्गामा बज्रेर फुट्यो ।
बाटोमा ऊ जथाभावी धूलो उडाउँदै र ढुङ्गालाई उफार्दै र हान्दै खेल्दै आइरहेको थियो ।
यस्तैमा उसको हात परेको थियो त्यो नरिवल । नरिवल मज्जाको र विचित्रको थियो । डल्लो डल्लो अलि ग¥हुँगो त्यो नरिवल हल्लाउँदा भित्रबाट छप्लाङ्गछुप्लुङ्ग आवाज आउने, बाहिर जटा भएको अनौठौ खालको थियो ।
उसलाई अचम्म लाग्यो । उसले त्यसलाई हावामा उफा¥यो र बीचैमा हातले च्याप्प समात्यो । भुइँमा राखेर खुट्टाले हान्यो । त्यो गोलो वस्तु गुडेर पर पुग्यो । यो देखेर उसलाई मज्जा लाग्यो ।
ऊ त्यसलाई कहिले कानमा लगेर हल्लाउँदै सुन्थ्यो कहिले टाउकोमा ट्वाङ्ग हानेर हेथ्र्यो । टाउकोमा हान्दा उसलाई अलि दुख्थ्यो । एवमरितले ऊ नरिवलसित मनलागि चलिरह्यो, खेलिरह्यो ।
००
यस्तैमा हो, उसको हातबाट नरिवल फ्याट्ट खस्यो र ढुङ्गामा बज्रेर टुक्राटुक्रा भई फुट्यो । खेल्ने क्रममा अकस्मात खसेर फुटेको हो वा केही वेर अघि उसले टाउकोमा हान्दा लागेको चोट सम्झेर रिसले भुइँमा बजारेको हो, निश्चित भएन ।
जेहोस् नरिवल ढुङ्गामा बज्रेर फुट्यो । त्यसबाट सेतो तरल पदार्थ बग्यो । एकक्षणपछि त्यो तरल पदार्थ रगतको भलमा परिणत भयो ।
त्यो सेतो नुनिलो पदार्थ उसको आँसु थियो । त्यो रगतको भल पनि उसैको थियो । उसको आँखाबाट बगेको आँसु । उसको जीउबाट बगेको तात्तातो रगत ।
रगतको भल देखेपछि ऊ कहालियो ।
००