प्रेमको बदला मृत्यु उपहार दिने जातीय भाइरस
मानवतावाद भन्दा ठूलो दर्शन धर्म र विज्ञान अर्को छैन । अरु सिद्दान्त, दर्शन र नीति केवल मानवीय धर्मका पुरक र परिपुरक हुन मान्छेको सबैभन्दा ठूलो दर्शन मानवतावाद हो । अनि जात केवल मान्छे हो । मान्छेको दुई जात हुन्छ स्त्रिलिंग र पुलिंग अरु जात केवल पहिचानका लागि हुन विभेद र असमानताको लागि किमार्थ होइन ? दुर्भाग्य हामी मानवतावाद भन्दा पनि ठूलो अमानवीय जातीवादको पर्खाल जहाँ छुवाछुत र विभेद छ, अन्याय र दलन छ त्यही अभ्यासमा आज पनि छौं । फलस्वरूप जातीय भेद, हिँसा हत्या र निक्रिस्ट पाखण्डलाई जीवन शैलीमा उतारेर आफू जस्तै अर्को मानव समुदायप्रति अत्याचारको घन चलाएर हिर्काइ रहेछौ ।
देशको एन कानुन र नियममा समानता र स्वतन्त्रता लेखिएको छ तर हाम्रो ब्यबहारिक कानुन र समाजशास्त्रमा विभेदको रेखा र असमान धारा उपधारा प्रयोग भै राखेको छ । जातीय विभेद जस्तै अरु धेरै अमानवीय रंगहरुमा समाज असभ्य र अशिस्ट छ । जातीभेद, रङ्ग भेद, बोक्सी, छाउ, जस्ता अन्धविश्वास र कुरीतिले समाजमा बर्बर अमानवीयताको अग्लो पर्खाल लगाएको छ । मानवीयपन भन्दा धेरै अजंगको पर्खाल र बार निर्माण भएर आज पर्यन्त ब्याप्त छ । यो बर्बर असभ्य निर्मम कुरीतिको संरक्षक नेपालको सरकार हो । सरकारहरुको निकम्मापन अंहकारवादी जातीय दम्भ र कानुन परिपालन गराउन देखाएको उदाशिनता नै आज गम्भीर अमानवीय अपराध र ज्यादती जिउदै रहनुको प्रमाण र कारण हो ।
समाजमा घटने हर जातीय छुवाछुत, बोक्सी, छाउ, जस्ता घटनाको प्रमुख कर्ता निसन्देह सरकार हो अरु प्रत्यक्ष संलग्नहुनेहरु निमित्त कारक र कारण हुन यसर्थ यसको मुख्य दोषभागी सरकार हो । देशमा क्रियाशील राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ता हुन । समाजको एक सचेत नागरिक भएको कारण म पनि मेरो जात र बर्ग सामुदायबाट घटित घटना जातीय भेद, हिंसा हत्या, अपमान र हुलहुज्जतको हिस्सेदार र भागीदार छु यसै गरि आम नागरिक जो उत्पीडनमा प्रत्यक्ष संलग्न नभए पनि पिडक बर्गको नाताले उसको पनि दोष काँही न कहिँ रहेको हुन्छ भने सरकार अछुतो होला र ?
जातीय कारण देखाएर हत्या हुनुको प्रमुख कारणहरुको कारण सरकार हो । जात ब्यबस्था आज पर्यन्त कायम राख्न सरकारहरुको असलियत देखिन्छ । जातीय मनोविज्ञानले ग्रस्त हत्याराहरु निमित्त कारकमात्रै हुन। मूल कारक र प्रेरक सरकार हो । उक्त हत्या राज्य संरक्षित हत्या हो । हत्याको क्षणिक कारण र परिणाम जे पनि हुन सक्छ । तर यसको अन्तर्य समाजमा ब्याप्त कुरिति, कुसंस्कार र कुप्रथा हो, गलत मनोवृत्ति हो । जसलाई जिवन्त राख्न नेपालका सरकार र पार्टीहरुको हात छ । निरंकुश भनिएका राजा महेन्द्रको गिदीले समेत अस्विकार गरेर २०२० सालमा नै जातीय भेद अन्त्यको कानुन लेखेका थिए । आज सम्म उक्त कानुन कार्यन्वयनमा यो देशका सरकारहरुको उदासिनताको परिणाम अजित मिजार र नवराज विकहरु मारिरह्न्छ्न । अरु पनि थुप्रै मारिने लाइनमा छ्न / हुन्छन् ।
तसर्थ हत्याको प्रमुख कारण सरकार नै हो सरकार संरक्षित विभेदजन्य कूथितिहरु हुन् । बेहुली लिन जाँदा नवराज बिक र टिकराम मारिएको घटनाले कलंकको टीका सरकारको निधारमा लागेको मेरो विश्लेषण छ ।
जातीय भेदको भाइरस यति डरलाग्दो र घीनलाग्दो छ जसले प्रेमको बदला मृत्यु उपहार दिन्छ ।
प्रिय नवराज तिमी जस्तै जातीय पर्खाल भत्काएर चोखो प्रीति लाउँदा यो दशक मात्रै अजित मिजार, शिवशंकर दास, अस्मिता तोलांगी, संगिता परियार लगायत १ दर्जन भन्दा बढी मान्छे राज्य द्वारा मारिए । अरु लक्ष्मी परियारहरु मनिता आलेहरु जात र बोक्सीको आरोपमा मारिए । मारिदैछ्न । कति छाउको कारण मारीएका छन्।
अजित मिजारको शव अहिले पनि न्यायको पर्खाईमा त्रिविवि शिक्षण अस्पतालको चिसो बाकसमा सुतेको छ । के अजितले मरे पछि पनि न्याय नपाउने स्थितिको जिम्मेवार सरकारको होइन ? लाज सरकारलाई लाग्नु पर्दैन ?
दैलेखका सेतु परियारले न्याय नपाएको कुरा सरकारलाई थाहा छैन र ?
प्रिय नवराज तिम्रो हत्याको कारण र कलंक मेरो निधारमा पनि छिटाकाे रूपमा आएको छ । म आधुनिक सभ्य समाज र कम्युनिस्ट साशित राज्यमा छु भन्दा लज्जाबोध गर्द्छु । मेरो समुदाय र वर्गको ज्यादतीको हिस्सेदार म पनि हुँ । म भुइँ मान्छे के नै गर्न सक्छु र ? तर मेरो देशका पार्टीहरु र सत्ताले जातीय पर्खाल भत्काउन सकेनन बरु अप्रत्यक्ष मल जल गरेर नै राखे अत तिनको मुहारमा पनि जात ब्यबस्था कायम राखेको पापको कालोमोसो पोतिएको छ ।
प्रिय नवराज तिम्रो सहादत प्रेमको मुल्य र मानवीय मान्यता स्थापित गर्न भएको हो । हार्दिक श्रद्धाञ्जली नवराज !
नवराज तिम्रो मृत्यु यस्तो ठाउँ र यस्ता मान्छेहरुको राजनीति भएको ठाउँमा भयो त्यहाँ आज पनि यस्तो विकृत मनोविज्ञान छ भन्दा देस त के विश्व पनि लजाउछ र अचम्म मान्छ । कारण रुकुम माओवादी जनयुद्दको केन्द्र भाग जहाँ जनार्दन शर्मा जस्ता माओवादी हस्ती छन् । शक्ति बस्नेत जस्ता बहालवाला मन्त्रीलाई संघीय संसद निर्वाचित गर्ने क्षेत्र । जातीय भेद खत्तम गर्ने नारा लागेर जनता लामवद्द भएको स्थान । जँहा अन्धविश्वास र कुरीति चिहानमा खोज्दा पनि नभेटिनु पर्ने राजनीतिको उर्वर भुमि ।
आज त्यहाँ अन्तरजातीय प्रेमलाई विबहामा परिणत गर्ने तयारी गर्दा मान्छे मारिनु पर्ने ? जुन जिल्ला छुवाछुत मुक्त जिल्ला घोषणा गरिएको जनयुद्दको उदगम स्थल मध्य एक हो । जहाँ पूर्व खेलकुद मन्त्री दलजित सेर्पाली, राष्ट्रिय दलित आयोगका पूर्व अध्यक्ष मान बहादुर नेपाली, उपेक्षित, उत्पीडित दलित वर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक चन्द्र विश्वकर्मा र वादी विकास बोर्डका पूर्व उपाध्यक्षले आफ्नो कर्मभूमि बनाउनु भएको छ । त्यतिमात्रै काँहा हो र ? प्रदेश सभामा आर टि सेरपालको जीत देखि धेरै स्थानीय निकायमा प्रमुख र उपप्रमुख देखि वार्ड अध्यक्ष सम्म दलित प्रतिनिधिको वर्चस्व छ । त्यंहाबाट निर्वाचित हुनुको नाताले स्थानीय सरकारको नेतृत्व गर्नुको अर्थमा तपाईहरुको भूमिका र जिम्मेवारी पनि जातको कारण मान्छे मर्नुमा हुन्छ कि हुन्न?
कृपया दलित प्रतिनिधि र अभियन्ताहरु यो तीतो जात व्यबस्थाको सत्य तपाईहरुको सामु पनि राख्न चाहन्छु । शुरुवात आफैबाट पनि हो भन्ने तथ्य नभुल्नु होला । डाक्टर कमला हेम्चुरिले जात व्यवस्था ’bout दिएको यो सानो उदाहरण स्मरण गराउनु सान्दर्भिक लाग्यो । ‘एउटा कामीले दमाईको छोरी बिहे गरेर भित्र्याउन सक्दैन भने अरुलाई सम्विधान मानेनन् भन्ने अधिकार होला र ? जात व्यवस्था भनेको यही हो ।’ त्यस्तै अर्को ठाउँमा हेमचुरी लेख्नु हुन्छ । ‘बाहुन क्षेत्रीले विभेद गर्नु उनीहरुको धर्म हो जनजातिले जातीय विभेद गर्नु ब्राम्हणवादको गुलामी हो ।’ यसको मतलव र अर्थ हो जो कसैले पनि जातीय भेद गर्नु बेठिक छ चाहे ती दलित भनेर दलितले दलितलाई गरोस या बाहुन क्षेत्री र अरु जनजातिले आफू भन्दा तलको भनेर अरुलाई गरेको विभेद होस् त्यो निन्दनीय अपराध हो पाप हो । कानुनको उलंघन हो । मानवीय सभ्यताको उपहास र परिहास हो । जुन छूट कसैले कसैलाई दिएको छैन कानुनले । अत कानुन सबैको लागि बराबर हो । चाहे त्यो क्षत्री ब्राम्हण होस्, या जनजाती या होस दलित ? हामी उन्नत र समतामूलक समाजस्थापना गर्न गणतान्त्रिक ब्यबस्थामा गयौ तर २०६४ मा गणतन्त्र स्थापना भएर २०६८ मा नयाँ कानुन बनेपछिको जातीय भेदका ज्यादती पनि हेरौ । जसलाई बिबिध समयका पत्रपत्रिकाबाट साभार गरिएको छ ।
अजित मिजार (काभ्रे), मनवीरे सुनार (कालिकोट), सेते दमाई (दैलेख), मना सार्की (कालिकोट), शिवशंकर दास (सप्तरी), लक्ष्मी परियार (काभ्रे), राजेश नेपाली (पर्वत), श्रेया सुनार (कास्की), रूपमतीकुमारी दास (मोरङ), दितिया रेश्मा रसाइली (धनुषा), माया विक(कैलाली), अस्मिता तोलामी सार्की (झापा), संगीता परियार (तनहुँ), झुमा विक(ताप्लेजुङ) र नवराज वि क (रुकुम) आदि अन्तर्जातीय विवाह गरेको, पानी, चुलो छोएको तथा बोक्सी भएको आरोपमा मारिएका दलित हुन ।
मानवीय भन्दा अग्लो जातीय पर्खाल कहिले सम्म कायम गर्ने ? कहिले च्यात्त्ने यो समाजको जात व्यबस्थाको थाङ्ने कानुन ? कहिले पुर्ने असमानता र विभेदको खाल्डो ? कहिले निर्माण गर्ने समता र मर्यादाको मानक मानवतावादी संस्कार र संस्कृति ? सत्यबोध र यथार्थबोध कहिले गर्छ समाजले ? कहिले बन्छ हाम्रो जनैको धागो सद्भाव र एकताको डोरी ? विष्णु विश्वकर्माको घन र बैकुण्ठ बाजेको गीताको सामाजिक मुल्य कहिले समान बन्छ ? भानुभक्तको कलम र भक्तिबिर दर्जीको सियोको अर्थ र मर्म अनि महत्व कहिले समाजमा बराबरीमा लेनदेन गरिन्छ ? समाजमा जातीय भेद निर्मुल गर्न अब कुन ब्यबस्था र संयन्त्रको खाँचो छ ? समान नियम कानुन, नैतिकता, अनुशासन कर्तव्य र ब्यबहार लागु गर्न सरकारको हात कसले बाँधी दिएको छ ? सरकार रैतीलाई जबाफ देऊ, रैतिलई न्याय देऊ, अन्याय गर्नेलाई पाता फर्काउ । समाजमा हुने यस्ता जघन्य अपराधको मतियार बन्न छोड सरकार ! असभ्य बर्बर, आततायी यूगको अन्त्य गरेर समाजमा नयाँ समता मर्यादा र न्यायको यूगको शुरुवात गर्न जति ढिलो गर्यो उती हाम्रो अनुहारमा कालो पोतिने र समाज हिंस्रक बन्ने खतरा बढेको बढेकै रहन्छ ।
समुदाय समुदाय बीच घृणा प्रतिसोध र बदला फैलन नदिन सरकारी तदारुकता र क्रियाशीलता जरुरी छ । अन्यथा समाज अर्को चर्को समुदाय जात र धर्मको द्वन्दको चक्रब्युहमा जाकिने निश्चित छ । मान्छे माथि मान्छेले जात विशेषको कुरा लिएर गर्ने जघन्य अपराधको साक्षी लाचार भएर राज्य प्रणाली बसेको छ । उचित सामाधान र निष्कर्ष निस्कदैन ।
यदि दलित कुलमा जन्मनु अपराध नै हो भने देशको संबिधान, नियम र कानुनबाट समानताको हक निलम्बन गरेर राज्यले दोहोरो मापदण्ड खडा गरोस र विभेदलाई कानुनीरुपमा नै अंगिकार गरोस, स्वीकार गरोस । यदि हैन भने कानुन कागजको खोस्टो मात्रै हैन त्यसको ब्यबहारिक कार्यन्वयनको लागि निरन्तर पहल र लगानी गरोस ताकि देसका कुनैपनि नागरिक असमान छैनन् र देशमा जातीय छुवाछुत हुदैन गरिन्न ।
संजिव कार्की जातीय विभेद, छाउ, बोक्सी जस्ता कु प्रथाको विरुद्द कलम चलाई राख्ने गर्छन । – सम्पादक