विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा उद्धार गर्ने सरकारको निर्णय

काठमाडौं, जेठ १६ : सरकारले विदेशमा रहेका नेपाली नागरिकहरुलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने भएको छ।

शुक्रबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले विदेशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।

उनका अनुसार आममाफी पाएर नेपाल आउन नपाएका, विभिन्न भिसामा गएका तर आफन्तको मृत्यु भएका कारण काजक्रिया गर्न आउनुपर्ने अवस्थामा रहेका नेपालीलाई प्राथमिकतामा राखेर स्वदेश फर्काइने छ।

यस्तै, श्रम करार अवधि सकिएर रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य स्वास्थ्यको दृष्टिकोणले अस्वस्थ्य रहेका, सुत्केरी तथा गर्भवती महिला, बालबालिका, जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई पनि स्वदेश फर्काइने उनले बताए।

सबै देशबाट विवरण प्राप्त भएपछि नेपाल वायु सेवा निगम वा नेपालका अन्य वायु सेवा निगमबाट उनीहरुको उद्धार गरिने उनले बताए।

उनका अनुसार सबै विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले त्यसको सूची संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय उपलब्ध गराउने र त्यसपछि हवाइ उडानको व्यवस्था गरेर अलपत्र नेपालीलाई स्वदेश ल्याइनेछ।