बझाङ पहिरोमा बेपत्तामध्ये तीन जनाको शव भेटियो

बझाङ, असार २० : बझाङको केदारस्युँ गाउँपालिका–८ मल्लेसीमा पहिरोमा परी बेपत्ता भएकामध्ये तीन जनाको शव फेला परेको छ।
पहिरोमा परीमा पुरिँएर बेपत्ता भएकामध्ये ५० वर्षीया राममती जेठारा, उनका छोरा १३ वर्षीय प्रयाग जेठारा र छोरी ७ वर्षीया अस्मिता जेठाराको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले जानकारी दिए। पहिरोमा अझै चार जना बेपत्ता रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
गएराति अविरल वर्षासँगै आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र विकले बताए। केदारस्युँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले सिङ्गो बस्ती नै पहिरोको चपेटामा परेको बताए।
उनका अनुसार त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ। घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ। त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो। सो सडक पनि पहिरोले बगाएको छ।
